सुखद अन्त्यको प्रतीक्षा

उपाधि उचालेर यो वर्षलाई बिदा गर्नेछौं : आर्मी
वर्षको पाँचौं उपाधि जित्न चाहन्छौं : थ्री स्टार

विराटनगर — दुई उत्कृष्ट टिम थ्रीस्टार र विभागीय टोली आर्मी पाँचाैं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार साँझ सहिद मैदानमा आमने–सामने हुँदै छन् ।

सुखद अन्त्यको प्रतीक्षा

यी दुई टिमबीचको प्रतिस्पर्धासँगै यस वर्षको घरेलु फुटबलको सिजन सकिँदै छ ।

काठमाडौंबाहिर पहिलोपटक ‘फ्लडलाइट’ मा खेलाइएको विराट गोल्डकपको पाँचौं संस्करणलाई विशेष प्रतियोगिता मानिएको छ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख ७१ हजारसहित दुई तोला पहेंलो धातुले जलप गरिएको ट्रफी हात पार्नेछ । उपविजेताले ५ लाख ५१ हजारमा चित्त बुझाउनुपर्नेछ ।

फाइनलमा आर्मीले शारीरिक खेल र आक्रामक प्रदर्शन तथा थ्री स्टारले चुस्त टिमवर्कमा खेल पस्कने अपेक्षा गरिएको छ । आर्मीले सेमिफाइनलमा झापालाई १–० र थ्री स्टारले संकटालाई ४–० ले पन्छाउँदै उपाधिको दाबेदारी प्रस्तुत गरेका थिए । आर्मीले क्वाटरफाइनलमा पुलिस र थ्री स्टारले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङदीलाई पाखा लगाएको थिए ।

थ्री स्टार सोमबार यस सिजनमा पाँचौं उपाधिको खोजीमा खेल मैदानमा उत्रिँदा आर्मी आठांै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यस वर्ष यी दुई टिमको तीन पटकको भेटमा आर्मीले दुईपल्ट बाजी मारेको थियो । खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीले थ्री स्टारलाई २–१ र सिमरा गोल्डकपको फाइनलमा २–० ले हराएर उपाधि जितेको थियो । त्यसअघि थ्री स्टारले इटहरी गोल्डकपको सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ५–४ ले निराश बनाएको थियो ।

आर्मीले २०७४ वैशाखमा संकटालाई २–० गोलले पन्छाउँदै विशाल मेमोरियल गोल्डकप उपाधि जितेर यो वर्षको विजययात्रा सुरु गरेको थियो । यही वर्षको अन्त्यमा विराट गोल्डकप जितेर २०७४ साललाई बिदाइ गर्ने आर्मीको योजना छ ।

‘हामीले वर्षको सुरुवातमा उपाधि जितेर जितको सुरुवात गरेका थियौं,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘यो वर्षको अन्तिम महिना विराट गोल्डकप जितेर वर्षलाई सुखद रूपमा बिदाइ गर्ने तयारीमा छौं ।’ आर्मीले यो वर्ष ११ पटक फाइनलमा खेलिसकेको छ । त्यसमा उसले सात उपाधि जित्यो भने चार प्रतियोगितामा उपविजेतामा रोकिएको थियो ।

‘थ्री स्टार उत्कृष्ट टिम हो, उसलाई कमजोर आँक्न मिल्दैन,’ न्यौपानेले । रात्रिकालीन म्याच खेलाइएका कारण दर्शकको उल्लेख्य उपस्थितिले यसपालि विराटनगर फुटबलमय छ । विगतका प्रतियोगितामा यहाँ दर्शकको उपस्थिति न्यून हुन्थ्यो ।

आर्मीका स्टार खेलाडी नवयुग श्रेष्ठ र दिनेश हेमरन चोटग्रस्त हुँदा क्वाटरफाइनल र सेमिफाइनलका उनीहरूले गुमाउनुपरेको न्यौपानेले बताए । उनीहरू फाइनल खेलका लागि फिट भएको उल्लेख गर्दै उनले भने, ‘यसले टिममा उत्साह बढेको छ ।’ उनले थ्रीस्टारका विदेशी खेलाडीलाई निगरानीमा राखेर खेल्ने रणनीति बनाएका छन् ।

आर्मीले यस वर्ष वीरगन्जको विशाल मेमोरियल, झापामा सताक्षी, काँकडभिट्टा गोल्डकप, झापा गोल्डकप तथा धनगढीमा खप्तड, बारामा सिमरा, हेटौंडामा सुमन भोम्जन स्मृतिको उपाधि कब्जा गरिसकेको छ ।

यसपाली १० प्रतियोगिता खेलेको थ्री स्टारले आठ वटामा फाइनल पुगेर चार उपाधि हात पारेको छ । उसले इटहरीको मदन भण्डारी स्मृति, धरानको बुढासुब्बा, बुटवलमा तिलोत्तमा र मदन भण्डारी स्मृति गोल्डकपको उपाधि हात पारेको थियो ।

थ्री स्टार सोमबार आर्मीलाई हराएर वर्षको पाँचौ उपाधि हात पार्दै यस वर्ष भोगेको दुई पराजयको बदला लिने दाउमा छ । थ्री स्टारका प्रशिक्षक मेघराज केसी दुवै टिम घरेलु फुटबलमा उपाधि जित्न सक्षम र अब्बल रहेको बताउँछन् । यस्तोमा दुवै टिमलाई जित निकाल्न सहज नभएको उल्लेख गर्दै आर्मीका पूर्वप्रशिक्षकसमेत रहेका केसीले भने, ‘आर्मीविरुद्ध अवसर सिर्जना गरेर मौका पाउनासाथ गोल गर्ने हाम्रो रणनीति छ ।’ दुवै टिमबीचको खेल उस्तै स्तरको रहेकाले सुरुमा गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने उनको विश्वास छ ।

आर्मीका पूर्वप्रशिक्षक भएका कारण पनि उक्त टिमले प्रदर्शनमा अपनाउने रणनीतिबारे केसी जानकार छन् । निराजन खड्काको कप्तानीमा मैदानमा उत्रिने थ्री स्टारको टिममा जापानी खेलाडी ताकायुसहित विमल घर्तीमगर, बुद्ध चेम्जोङ र अफ्रिकी मूलका अजयी मार्टिन र पिटरले खेलमा प्रभाव जमाउन सक्छन् ।

प्रकाशित : चैत्र २६, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?