थ्रीस्टारलाई विराट गोल्डकप

विराटनगर — विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती ३–० गोलले पन्छाउँदै रुस्लान थ्रीस्टार क्लबले सोमवार पाँचौं विराट गोल्डकपको उपाधि जितेको छ । यो जितसँगै थ्रीस्टारले यसवर्ष घरेलु फुटबल शृंखलामा सुखद अन्त्य गरेको छ ।

थ्रीस्टारलाई विराट गोल्डकप

झन्डै १२ हजार दर्शकले भरिएको सहिद रंगशालामा थ्रीस्टारले खेलको सुरुआती समयदेखि नै आर्मीलाई दबाबमा राखेर उत्कृष्ट खेल पस्केको थियो । तर गोलको खाता खोल्न भने दोस्रो हाफ कुर्नुपर्‍यो । यो सिजन थ्रीस्टारको विराट गोल्डकप पाँचौं उपाधि हो । टोलीले १२ लाख ७१ हजार रुपैयाँसहित दुई तोला सुनले जलप लगाइएको गोल्डकप हात पार्दा आर्मीले ५ लाख ५१ हजारमा चित्त बुझायो । यसअघि थ्रीस्टारले इटहरीको मदन भण्डारी, धरानको बुढासुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकप जितेको थियो ।

खेलको ५६ औं मिनेटमा थ्रीस्टारका अनन्त तामाङले हेडबाट गोल गर्दै खाता खोले । विमल घर्तीमगरको कर्नर भलीमा अनन्तले दोस्रो बार च्याप्दै टाउकाले गरेको गोल दर्शनीय थियो । थ्रीस्टारका लागि दोस्रो र तेस्रो गोल विमलको नाममा रह्यो । उनले ७६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।

आर्मीका जितेन्द्र कार्कीले थ्रीस्टारका अफ्रिकी मूलका खेलाडी अजायी मार्टिनलाई पेनाल्टी क्षेत्रमा लडाउँदा रेफ्री श्रवण लामाले थ्रीस्टारलाई पेनाल्टी अवसर दिँदा विमल गोल गर्न चुकेनन् । उनले नै खेलको ८८ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई ३–० को अग्रता दिलाए । उनको उक्त गोल नै यस वर्षको घरेलु फुटबलको अन्तिम गोल बन्यो । विमलले ३० यार्डबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुँदा प्रतियोगितामा उनको गोलसंख्या ४ पुगेको थियो ।

उपविजेता त्रिभुवन आर्मी क्लबका खेलाडी तथा प्रशिक्षक ।तस्बिर : बेदराज पौडेल

जितसँगै थ्रीस्टारले यसपालि आर्मीसँगको तीन भेटमध्ये दुईमा बेहोरेको हारको बदला पनि लियो । थ्रीस्टारले आर्मीसँग खप्तड गोल्डकप क्वाटरफाइनलमा २–१ ले र सिमरा गोल्डकप फाइनलमा २–० को हार बेहोर्दा इटहरी गोल्डकप सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ५–४ ले निराश बनाएको थियो ।

सिजनको आठौं जितको खोजीमा मैदानमा उत्रिएको आर्मीले सोमबार अपेक्षाकृत खेल पस्कन सकेन । उसले पहिलो हाफमा बुनेका केही अवसर सदुपयोग गर्न नसक्दा खेलमा अग्रता लिनबाट चुकेको थियो । २४ औं मिनेटमा टंक बस्नेतको प्रहार बाहिरिँदा आर्मीले गोल अवसरबाट चुकेको थियो ।

३७ औं मिनेटमा भरत खवास र ४२ आंै मिनेटमा नवयुग श्रेष्ठको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । ७५ औं मिनेटमा थ्रीस्टारका गोलकिपर एलन बिट भएको अवस्थामा आर्मीका सुमन अर्यालको प्रहारलाई डिफेन्डर विजय धिमालले गोललाइनबाट फर्काएका थिए । काउन्टर एट्याकमा थ्रीस्टारले पेनाल्टीको अवसर पाएको हो ।

घरेलु मैदान आर्मीका कप्तान भरत खवासका लागि अफापसिद्ध भयो । स्टार खेलाडी नवयुगको प्रदर्शन पनि सन्तोषजनक रहेन ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले विपक्षी खेलाडीलाई ‘मार्किङ’ गर्न नसक्दा निराशाजनक नतिजा हात पारेको बताए । ‘सुरुदेखि नै थ्रीस्टारले दबाब दिएर खेल्यो,’ उनले भने, ‘हाम्रा मिडफिल्डरले स्ट्राइकरलाई राम्रोसँग बल सप्लाई गर्न सकेनन् ।’ न्यौपानेले पाएका मौकालाई सदुपयोग गर्न नसक्नु पनि दुर्भाग्यपूर्ण भएको सुनाए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले टिमवर्कबाट विपक्षीलाई दबाबमा राखेर खेल्दा आफ्नो पक्षमा सहज जित निस्केको बताए ।

फाइनलमा थ्रीस्टारका अजायी मार्टिन म्यान अफ द म्याच भए । उनले १० हजार पुरस्कार पाए । म्यान अफ द टुर्नामेन्ट भएका थ्रीस्टारकै अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए । उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनील बल, उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, डिफेन्समा आर्मीका विमल पाण्डे र ४ गोल गरेका थ्रीस्टारकै विमल घर्तीमगर सर्वाधिक गोलकर्ता घोषित भए । सबैले २५ हजार रुपैयाँ पाए ।

यसअघि विराट गोल्डकपको पहिलो संस्करण हिमालयन शेर्पा, दोस्रो संकटा, तेस्रो झापा–११ र चौथो नेपाल पुलिस क्लबले जितेका थिए ।

प्रकाशित : चैत्र २७, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?