२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

धनगढी र काठमाडौं विश्वस्त

धनगढी — सानो मैदान र विदेशी खेलाडीका कारण रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धेरै चर्चा र परिचर्चा भइसकेको छ । सानो मैदानकै कारण ठूलो स्कोर बनेका छन् । ठूलो लक्ष्य पछयाइएको छ । विदेशी खेलाडीको प्रभाव प्रत्येक खेलमा उस्तै छ ।

धनगढी र काठमाडौं विश्वस्त

यसले डीपीएलका खेलहरूमा पूर्वानुमान गर्न झनै कठिन बनाइदिएको छ । राउन्ड रोबिनको अन्तिम खेलमा सीवाईसी अत्तरियाको विजय अप्रत्यासित नतिजाको त्यही परिणाम थियो, जसले उपाधि दाबेदार मानिएको विराटनगर किंग्सलाई प्रतियोगिताबाट बाहिर पठाइदियो ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ५ मध्ये २ खेलमा जित हात पार्न सक्यो । प्रत्येक नतिजासँगै डीपीएलका खेल अनिश्चित बन्दा काठमाडौं गोल्डेन्स र टिम चौराह धनगढीका प्रशिक्षक एकअर्कालाई पराजित गर्नेमा विश्वस्तजस्तै देखिन्छन् । यी दुई टोली मंगलबार प्ले–अफको क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछन् । जित्ने टोली फाइनल पुग्नेछ । इलिमिनेटरमा सीवाईसी र महेन्द्रनगर युनाइटेड आमने–सामने गर्दा उनीहरूको पनि लक्ष्य फाइनल नै हुनेछ ।

राउन्ड रोबिनमा काठमाडौंले धनगढीमाथि ७ विकेटको सानदार जित पाएको थियो । यूएईका कप्तान रोहन मुस्ताफा उक्त खेलका लागि धनगढी आइसकेका थिएनन् । धनगढीबाट विदेशी खेलाडीका रूपमा भारतका पुनीत मिश्राले खेलेका थिए । मिश्रा घाइते भएपछि टोलीले यूएईका अर्का ब्याट्सम्यान अस्फाक अहमदलाई टोलीमा समावेश गर्‍यो । सोही खेलपछि बुवाको निधनका कारण विकेटकिपर/ब्याट्सम्यान जयकिशन कोल्शाबाला टोली छाडेर भारत फर्किएका थिए । ‘पहिला पराजित गरिसकेकाले उनीहरूले हामीलाई सजिलै लिइरहेका छन् होला, तर हामी अहिले राम्रो टोली भइसकेका छौं, त्यतिखेर हाम्रा यी दुवै खेलाडी थिएनन् । विशेष गरी मुस्ताफाको उपस्थितिले हाम्रो टोलीमा धेरै परिवर्तन ल्याएको छ,’ धनगढीका प्रशिक्षक शेरबहादुर (सुनील) लामाले भने, ‘जबकि उनीहरूका प्रमुख खेलाडी कोल्शाबाला गइसकेका छन् । उनको स्थानमा आएका सुबोथ भाटी ठीकै छन्, तर कोल्शाबालाको स्तरका होइनन् । त्यसैले मलाई लाग्छ हामी उनीहरूलाई सजिलै पराजित गर्न सक्छौं ।’

काठमाडौंले सुरुको चार खेल जितेर क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो । महेन्द्रनगरसँग आइतबार टोलीको राउन्ड रोबिनको अन्तिम खेल वर्षाका कारण रद्द भयो । जुन प्रदर्शन टोलीले पहिलो चरणमा दिएको थियो, त्यसैलाई निरन्तरता दिनेमा काठमाडौंका प्रशिक्षक राजु बस्न्यात विश्वस्त देखिन्छन् ।

‘हामी जुन लयमा छौं र हाम्रो योजना जुन छ, त्यसलाई निरन्तरता दिन चाहन्छौं । उनीहरूको टिम कस्तो छ भन्दा पनि हामी हाम्रो टिममा जे छ त्यसअनुसार खेल्यौं भने सजिलौं फाइनल पुग्छौं,’ प्रशिक्षक बस्न्यातले भने, ‘पहिलो चरणमा खेलाडीले जुन जिम्मेवारी लिएर खेले त्यही अनुसार खेल्यौं भने हामी खेल जित्छौं । विपक्षी टोलीमाथि जुन योजना बनाइरहेका छौं, त्यसमा सफल भएका छौं । धनगढीसँगको खेल पनि यहीअनुसार जितेका हौं ।’

काठमाडौं धेरै राम्रो खेलेर यो स्थितिमा आएको स्विकार्छन् धनगढीका प्रशिक्षक लामा । उनले भने, ‘कुनै पनि टोलीले एकअर्कोलाई पराजित गर्न सक्छ । हामीले काठमाडौंसँगको खेलमा सुरुमा १० ओभरमा ८५ रन बनाइसकेको थियौं, त्यही हिसाबमा अर्को १० ओभरमा थप ८५ रन बनाउनुपर्ने हो । तर हामीले अन्तिम १० ओभरमा ६० रनमात्र जोड्न सक्यौं । त्यसैले हामी आफ्नो गल्ती सच्चाएर अझ मिहिनेत गर्नेछौं ।’

विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोटमा निकै खराब फर्म रहेका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पछिल्ला दुई खेलमा अर्धशतक बनाइसकेका छन् । उनले ४ खेलमा १ सय ५५ रन बनाइसकेका छन् । धनगढीका सुनील धमलाले १ सय ३८ रन बनाइसकेका छन् । सुनीलले काठमाडौंसँग ६८ रन बनाएका थिए ।

धनगढीका प्रशिक्षक लामा काठमाडौंका कप्तान ज्ञानेन्द्रको फर्मलाई खासै ठूलो समस्या मान्दैनन् । ‘ज्ञानुको फर्मबाट मलाई कुनै अप्ठयारो छैन । उनी बिग हिटर होइनन्, उसले सिंगल र डबल्समा बढी ध्यान दिन्छ । उसलाई पिन्च हिटर वा हार्ड हिटरका रूपमा हेर्दिनँ,’ लामाले भने, ‘उसको विकेटभन्दा पनि अरु विकेटको चिन्ता छ, जस्तो अमित श्रेष्ठले पहिलो चरणको खेलमा हामीसँग राम्रो खेलेको थियो । उसको विकेट सुरुमै लिन जरुरी छ ।’

संघीय प्रहरी कार्यालय इकाई मैदानमा दर्शकको बाक्लो उपस्थिति रहँदै आएको छ । स्थानीय टोली भएकाले धेरै समर्थन धनगढीप्रति देखिन्छ । लामाको बुझाइ पनि यही नै छ । उनले भने, ‘उनीहरूले हामीलाई हौस्याउँछन्, त्यसो भन्दैमा आफ्नो लय गुमाउनु हँुदैन । दर्शकको समर्थनलाई सकारात्मक रूपमा लिन्छौं ।’ जुन हिसाबमा दर्शक मैदान आइरहेका छन्, त्यसमा काठमाडौंका प्रशिक्षक बस्न्यात नतमस्तक छन् । तर उनी दर्शकको भूमिकालाई कूटनीतिक रूपमा उत्तर दिन्छन् । ‘दर्शकले स्थानीय टोलीभन्दा राम्रो क्रिकेटलाई समर्थन गरिरहेका छन् । त्यसैले हामीले पनि दर्शकको समर्थन पाइरहेका छौं,’ उनले भने ।

विराटनगर बाहिरिइसकेपछि यो प्रतियोगिता कसले जित्छ त भनेर पारस खड्कालाई सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘मैदान ठूलो भएको भए केही भन्न सकिन्थ्यो । सानो मैदान र नकआउट प्रतियोगिता भएकाले जुनै पनि टोलीले जित्न सक्छन् ।’

प्रकाशित : चैत्र २७, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?