१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

धनगढी प्रिमियर लिग क्रिकेट– काठमाडौं फाइनलमा

धनगढी — विदेशी खेलाडी सन्नी पटेल र सुबोथ भाटीले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स बिहीबार रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । काठमाडौंले बिहीबार महेन्द्रनगर युनाइटेडमाथि ५ विकेटको सानदार जित पायो ।

धनगढी प्रिमियर लिग क्रिकेट– काठमाडौं फाइनलमा

पटेलले ४ ओभरमा १० रन खर्चेर ६ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । उनको प्रदर्शनमा महेन्द्रनगरले १० रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । पुनीत मेहेराले अर्धशतक बनाउँदै आरिफ शेखसँग ८५ रन जोडेपछि महेन्द्रनगरले ९ विकेट गुमाई १ सय ४२ रन बनायो । भाटीले १८ बलमै ५२ रन बनाएपछि काठमाडौंले १० बलअगाडि लक्ष्य पार गर्‍यो ।

‘हामीले पहिलो ६–७ ओभरमा उत्कृष्ट बलिङ गर्‍यौं । त्यसपछि त्यसलाई निरन्तरता दिन सकेनौं, त्यसका साथै उनीहरूले राम्रो ब्याटिङ गरे । ब्याटिङ लाइनअप पनि बलियो थियो, त्यसको सदुपयोग गर्दै योगफल बनायो,’ काठमाडौंका प्रशिक्षक राजु बस्न्यातले भने, ‘भाटीलाई हामीले एउटा ओपनरका रूपमा पठाउनुको कारण पनि त्यही थियो । उसले आफ्नो भूमिकाअनुसार खेलेका हुन् । उनको इनिङ्सपछि हामीलाई कुनै दबाब नै भएन । सिंगल, डबल्स लिएरै खेल जित्ने स्थितिमा पुग्यौं ।

संघीय प्रहरी कार्यालय इकाई मैदानमा भाटीले पहिलो ओभरमै अविनाश कर्णलाई ३ छक्का र १ चौका प्रहार गरी आक्रामक सुरुआत गरे । उनले आफ्नो इनिङ्समा कुल ४ चौका र ५ छक्का प्रहार गरे । छैटौं ओभरको तेस्रो बलमा भुवन कार्कीको बलमा स्टम्पआउट हुनुअघि भाटीले अमित श्रेष्ठसँग पहिलो विकेटमा ७६ रन जोडे । १६ रनमा जीवनदान पाएका अमितले १९ बल खेल्दै ५ चौकासहित २६ रन बनाए ।

भूपेन्द्र थापा १५, कप्तान ज्ञानेन्द्र मल्ल २५ र पुष्प थापा ९ रनमा आउट भए । विजयी चौका प्रहार गरेका पटेल ३ बलमा ५ र नरेश बुढाऐर ७ रन बनाई नटआउट रहे । ज्ञानेन्द्रले भाटीको सामान्य ब्याटिङअनुरुप खेल्दा जित्न सजिलो भएको बताए ।

यसअघि पटेलले खेलेको दोस्रो बलमै कप्तान विनोद भण्डारीलाई एलबीडब्लू आउट गरेर महेन्द्रनगरलाई झट्का दिए । पटेलले अर्का ओपनर आशिफ शेखलाई पनि खाता खोल्न दिएनन् । पटेलले त्यसपछि लगातार ४ ओभरको स्पेलमा हरिशंकर शाह, पुनीत विष्ट, रोहित पौडेल र भुवनलाई आउट गरे । हरिशंकर, रोहित र भुवन शून्यमा आउट भए ।

पहिलो ओभरमा पटेललाई छक्का प्रहार गरेका पुनीत ७ रनमा आउट भए । त्यसपछि महेन्द्रनगरले अर्को बाउन्ड्री प्रहार गर्न १० ओभर कुर्नुपरेको थियो । आरिफ र मेहेराले ७१ बलको साझेदारीमा महेन्द्रनगरलाई नयाँ आस देखाए । ३९ बल खेलेका आरिफ ६ चौका र १ छक्का प्रहार गरी ४३ रनमा पुष्प थापाको बलमा आउट भए ।

इनिङ्सको अन्तिम ओभरमा रनआउट भएका मेहेराले ४२ बल खेलेर ४ चौका र ४ छक्का प्रहार गरी ५८ रन बनाए । त्यसअघि करण केसीले १२ बलमा २ छक्कासहित २१ रन बनाए । उनलाई भाटीले आउट गरे । बनाएको योजनाअनुसार बलिङ गर्न नसक्दा पराजय भोग्नुपरेको महेन्द्रनगरका प्रशिक्षक विनोद दासले बताए ।

‘सुरुको ६ ओभरमा पटेलको बलिङमा लाइनक्रस गरेर ब्याटिङ गर्ने, स्विप शट खेल्ने योजनामा थिएनौं । ब्याट्सम्यानले फरक शट खेले र त्यसमा असफल भए । यसको दोष हामी आफैले लिनुपर्छ,’ महेन्द्रनगरका प्रशिक्षक दासले भने, ‘योजनाअनुसार नखेल्दा नै ६ विकेट गुमाउन पुग्यौं । यस्तो स्थितिमा १ सय ४२ रनमा पुग्नु असम्भवजस्तै थियो । मैले आफ्नो टिम मिटिङमा सुरुको ५–६ ओभरमा ५–६ विकेट गुमाए पनि टिमलाई राम्रो स्कोर बनाउने क्षमता राख्छ भनेको थिएँ । भयो पनि त्यही नै ।’ उनले त्यो स्थितिमा १ सय देखि १ सय २० रन बनाउने आस गरिए पनि आफ्नो टोलीले जुन स्कोर बनायो त्यो बोनस भएको जनाए ।

‘बल होइन ब्याट स्वीङ’

सन्नी पटेल र सुबोथ भाटीले डीपीएल क्रिकेटमा नयाँ इतिहास रचे । पटेलले उत्कृष्ट बलिङ र भाटीले छिटो अर्धशतकको कीर्तिमान बनाए । पटेलको ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिएको प्रदर्शन डीपीएल इतिहासकै उत्कृष्ट बलिङ हो । डीपीएल इतिहासमा उनी ६ विकेट लिने पहिलो खेलाडी पनि हुन् ।

गत वर्ष कञ्चनपुर आइकोनिकका सागर पुनले रूपन्देही च्यालेन्जर्ससँग ३.१ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । डीपीएलको दोस्रो संस्करणमा कुनै खेलाडीले ५ विकेट लिन सकेका छैनन् । काठमाडौंका रशिद खानले रूपन्देहीसँग ६ रन खर्चेर ४ विकेट लिनु जारी प्रतियोगितामा उत्कृष्ट बलिङ थियो ।

भाटीले डीपीएल इतिहासकै छिटो अर्धशतक बनाउँदा १७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पार गरे । ‘हामीले बलिङ फरक गर्न खोजेका थियौं, बल स्वीङ गर्न खोजेका थियौं । तर हामीले शर्ट बलिङ गर्‍यो, स्वीङ भाटीको ब्याटमा मात्र थियो,’ महेन्द्रनगरका प्रशिक्षक विनोद दासले भने, ‘त्यस्तो उत्कृष्ट ब्याटिङअगाडि विपक्षीले केही गर्न सक्दैन ।’

यसअघि विराटनगर किंग्सका बाबर हायतले २८ बलमा अर्धशतक बनाउनु यसअघिको छिटो अर्धशतक थियो । गत वर्ष फाइनलमा धनगढीका आरिफ शेखले विराटनगरविरुद्ध २८ बलमै अर्धशतक बनाएका थिए ।

प्रकाशित : चैत्र ३०, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?