२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रशिक्षक लामाको विजयी सुरुवात

विनोद पाण्डे

काठमाडौँ — जुन खेलाडी र प्रशिक्षणको टोली थियो, त्यस अर्थमा टिम चौराह धनगढी एकदमै नयाँ र नौलो थियो । गत वर्ष र यस पटकको धनगढीको टोलीमा धेरै फरक थियो । त्यही पनि दोस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) जितेर टोलीले उपाधि रक्षा गर्‍यो । डीपीएलको उपाधि फेरि सुदूरपश्चिममै रह्यो ।

प्रशिक्षक लामाको विजयी सुरुवात

राजु रिजालबाहेक गत वर्ष विराटनगर किंग्सलाई पराजित गरेको धनगढी टोलीका सबै खेलाडी नयाँ थिए । अक्सनमा नबिकेका राजुलाई धनगढीले अन्तिममा लिएको थियो । चैत १७ बाट धनगढीमा सुरु डीपीएलको दोस्रो संस्करणमा राजुको प्रदर्शन पनि उपस्थिति मात्रको थियो । उनै राजु डीपीएल लगातार दुईपटक जित्ने पहिलो खेलाडी बनेका थिए ।


धनगढीलाई च्याम्पियन बनाउने क्रममा रोहन मुस्ताफा, सुनील धमला, ललितसिंह भण्डारी, सोमपाल कामी, सोनु तामाङ, सम्साद शेखलगायत खेलाडी चर्चामा रहे । टिमले जित्दा प्रशिक्षकको भूमिका खासै देखिँदैन । हार्दा पहिलो खोट प्रशिक्षकमै देखिन्छ । धनगढीको जितमा प्रशिक्षक शेरबहादुर (सुनील) लामा पर्दा पछाडि मात्र देखिए ।


स्थानीय प्रतियोगितामा उनी बालुवाटार क्रिकेट ट्रेनिङ सेन्टरको प्रशिक्षक हुन् । धनगढी जानुअघि उनले बालुवाटारलाई खुकुरी कप ट्वान्टी–२० प्रतियोगिता दिलाएका थिए । हङकङको युवा टोलीका प्रशिक्षक रहिसकेका लामाले नेपालको ठूलो प्रतियोगितामा पहिलो पटक जिम्मेवारी पाएका थिए र त्यसमा उनले आफूलाई सफल साबित गरेका छन् । तर जितमा आफू नफुर्किएको बताउँछन् ।


‘आफूले प्रशिक्षण गरेको टोलीले जितेपछि खुसी हुनु स्वाभाविक नै हो । खुसीको मतलब जितमै उन्माक्त भाको छुइनँ । खेलाडीहरूले प्रतियोगिताभरि राम्रो खेले, केवल दुई खेल मात्र हार्‍यौं । फाइनलमा जुन खेल उनीहरूले खेल्नुपर्ने थियो त्यही खेले । खेलाडीले त्यो अनुरूपको प्रदर्शन गर्दाचाहिँ म निकै खुसी छु,’ उनले भने ।


घरेलु मैदानमा टोली पहिलो खेलमै काठमाडौं गोल्डेन्ससँग पराजित भएको थियो । विराटनगर किंग्ससँग पराजित भएपछि टोली बाहिरिने स्थितिमा पुगेको थियो । राउन्ड रोबिनको अन्तिम खेलमा धनगढीले रूपन्देही च्यालेन्जर्सको चुनौती जसोतसो पन्छाउन सकेपछि प्ले–अफमा पुगेको थियो । सीवाईसी अत्तरियाले विराटनगरलाई पराजित गर्नु र त्यसअघि महेन्द्रनगर युनाइटेडको काठमाडौं गोल्डेन्ससँगको खेल वर्षाले हुन नसक्दा धनगढी सीधै क्वालिफायरमा पुगेको पृष्ठभूमिमा लामा आफ्नो टोलीलाई भाग्यको साथ रहेको स्वीकार्छन् ।


लामाले भने, ‘अत्तरियाले विराटनगरलाई जुन खेलमा हरायो, त्यसले गर्दा हामी दोस्रो हुन पुग्यौं र क्वालिफायरमा पुग्यौं । सायद त्यो एउटा भाग्य थियो, त्यसपछि हामीले राम्रो खेल्न लाग्यौं । भाग्यका साथ मिहिनेत पनि चाहिन्छ । विशेष खेलाडीले नै खेलेका हुन् म त्यसमा आभारी छु ।’ क्वालिफायर र फाइनलमा काठमाडौंलाई पराजित गरी धनगढीले पहिलो खेलेको बदला मात्र लिएन अपत्यारिलो हिसाबमा विजेता नै बन्यो ।


‘हाम्रो टिमको प्रदर्शन कुनै एक खेलाडीमा भर परेको थिएन । एउटा खेलाडीले मात्र प्रतियोगिता जिताएको होइन । हरेक खेलमा एउटा खेलाडीले प्रदर्शन दिन्थे र जिताउँथे । कहिले सोमपाल कामी, कहिले सोनु तामाङ, रोहन मुस्ताफाले एउटा खेल, सुनील धमलाले कहिले र अर्को खेल ललितसिंह भण्डारीले जिताएका थिए । त्यसबाहेक अरू खेलाडीको पनि योगदान थियो,’ लामाले भने, ‘यसको मुख्य कारण हाम्रो टिम युनिट र सन्तुलित थियो । सन्तुलित भएका कारण कुनै एक खेलाडीमाथि भर पर्नुपरेन । सबैले आ–आफ्नो जिम्मेवारीसाथ खेले ।’


लामाले छोटो समयमा धनगढीको टिमलाई एकजुट बनाएका थिए । रणनीतिक हिसाबमा उनी पोख्त थिए । उपाधिको कारण त्यही थियो । लामाको अबको बाटो स्पष्ट छैन । उनी कहिले हङकङ त कहिले नेपालमा हुन्छन् । तर उनी सधैं नयाँ चुनौतीका लागि तयार छन् ।

प्रकाशित : वैशाख ३, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?