कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईएम हर्षको अग्रता

काठमाडौँ — काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिताको आठौं चरण सकिँदा भारतीय इन्टरनेसनल मास्टर हर्ष भाराथाकोटी (२४२४) ले ७ अंकसहित एकल अग्रता लिएका छन् । उनले सोमबार आफ्नै देशका ग्रान्ड मास्टर (२५७९) दीपसेन गुप्तालाई हराए ।

आईएम हर्षको अग्रता

युक्रेनका २५४९ रेटेड ग्रान्ड मास्टर तर्लेभ कन्स्टेन्टिन र अजरबैजानका २५०४ रेटेड ग्रान्ड मास्टर मिर्जोभ अजरबीचको खेल ड्र भयो । दुवै ६.५ अंकसहित दोस्रो स्थानमा छन् । सातौं चरणमा तेर्लेभले भारतका आईएम प्रिन्स बजाजसँग बराबरी खेले भने मिर्जोभले भारतकै निरन्जन नभलगुन्डलाई हराएका थिए ।

इजरायली ग्रान्ड मास्टर (२४९०) ग्रिनफिल्ड अलोनले भारतीय खेलाडी श्रीजित पाटिल र भारतीय आईएम हिमाल गोसाईंले आफ्नै देशका सप्तर्षि गुप्तालाई हराए । दुवै विजेता ६.५ अंक पाएका छन् । त्यस्तै भारतीय ग्रान्ड मास्टर सन्दीपन चन्दाले आईएम पी श्यामनिखिलसँग बराबरी खेले ।

नेपाली उच्च वरीयता (२२६३) का विवेक थिङ ६ अंकसहित संयुक्त तेस्रो स्थानमा छन् । आठौं चरणमा उनले भारतीय शुभम शुक्ला र सातौंमा नेपालकै पुरुषोत्तम चौलागाईंलाई हराएका थिए ।

आठौं चरणमा इन्टरनेशनल मास्टर पद्मिनी राउतलाई हराएका भारतका ग्रान्ड मास्टर श्रीराम झा सातौंमा ग्रान्ड मास्टर दीपसेन गुप्तासँग पराजित भए । श्रीरामको पनि ६ अंक छ ।

रुसका ग्रान्ड मास्टरद्वय फोमिनी अलेक्जेन्डर (२३९१) र भोल्कोभ सर्गेइ (२५९८) ले आठौं चरणमा बराबरी खेले । दुवैसँग समान ६ अंक छ । बेलारुसका ग्रान्ड मास्टर कास्पारोभ सर्गेइ आठौं चरणमा भारतीय जीबी हर्षबर्धनसँग पराजित भए ।

भारतीय कस्तुभ कुण्डुले नेपाली क्यान्डिडेड मास्टर नवीन तण्डुकारलाई हराए । नेपाली फिडे मास्टर रुपेश जैसवालले भने भारतीयका प्रतीक पाटिलसँग बराबरी खेले । रुपेशले सातौंमा भारतीय स्यानतान चन्द्रालाई हराएका थिए । रुपेशसँग साढे ५ अंक छ ।

आठौं चरणमा नेपालीका सुश्रुत दाहाल (१७९२) ले भारतीय आईएम अनुप देशमुख (२२८२) र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले भारतका भाग्यश्री पाटिललाई हराए । दुवैको ५.५ अंक छ ।

क्यान्डिडेड मास्टर केशव श्रेष्ठ भारतका शुभ्रदिप्ता दास र बद्रीलाल नेपाली भारतीय फिडे मास्टर सी लक्ष्मीसँग पराजित भए । बंगलादेशी फिडे मास्टर अब्दुल मोहम्मदले भारतका स्यानतानलाई पराजित गरे । रोमानियाकी इन्टरनेसनल मास्टर लामी एलिनाले नेपालका पुण्यमान कर्माचार्यलाई हराइन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?