कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माइभ्याली गोल्डकप: आयोजकको पहिलो जित

विप्लव भट्टराई

इलाम — आयोजक माइभ्याली फुटबल क्लबले सरदमुकामस्थित टुँडिखेलमा बिहीबार सुरु चौथो माइभ्याली गोल्डकप फुटबलमा कास्की ११ लाई ३–२ ले पराजित गरेको छ । माइभ्यालीको चौथो संस्करणसम्म आइपुग्दा यो आयोजकको पहिलो जित हो । 

माइभ्याली गोल्डकप: आयोजकको पहिलो जित

प्रतिस्पर्धात्मक खेलको १९ औं मिनेटमा मनीष थापाको गोलमा माइभ्यालीले अग्रता लियो । कास्कीका रक्षापंक्तिका खेलाडीले पेनाल्टी क्षेत्रमा गरेको कमजोरीको फाइदा उठाउँदै मनीषले गोल गरे ।


घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै कास्कीलाई दबाबमा राख्ने क्रममा ५७ औं मिनेटमा आयोजकका सुवास राईले पेनाल्टी अवसर सदुपयोग गरे । काउन्टर एट्याकमा मनीषले ६४ औं मिनेटमा अर्को गोल थपे ।


कास्कीको तर्फबाट उत्तम गुरुङले ६९ औं मिनेटमा फ्रि–किकमार्फत गोल फर्काए । अजित गुरुङको स्थानमा ६७ औं मिनेटमा मैदान छिरेका निशान लिम्बूको पासमा रन्दीप पौडेलले ९० औं मिनेटमा कास्कीलाई खेलमा फर्काउने प्रयास गरे पनि समयाभावले टोली खेलमा फर्कन सकेन । दुवै टोलीका खेलाडीले केही राम्रा अवसर गोलमा परिणत गर्न सकेनन् ।


पहिलो मिनेटमा कास्कीका निशान लिम्बूले इलामको पेनाल्टी क्षेत्रमा पाएको अवसर गुमाए । पहिलो हाफमा नै विदेशी खेलाडी बोफी डगलाको प्रहार बारमा ठोक्कियो । खेलमा म्यान अफ द म्याच छिरिङ गुरुङ भए ।


कास्कीका प्रशिक्षक किरण श्रेष्ठले छोटो तयारीका कारण तालमेल नमिल्दा हार बेहोर्नुपरेको बताए । ‘पाएका अवसर सुरुमा सदुपयोग गर्न नसक्नु पनि हारको कारण हो,’ पोस्टम्याच कन्फ्रेन्समा उनले भने ।


प्रतियोगितामा पहिलो जित निकाल्न इलामका खेलाडीले ठूलो मिहिनेत गरेको प्रशिक्षक याम राईको भनाई थियो । ‘लामो तयारी र खेलाडीको आत्मविश्वासी प्रर्दशनले जितसम्म पुग्न सकियो,’ उनले भने ।


शुक्रबार बंगलादेशको कामारुजमान प्रगति संघ र नेपाली एपीएफ क्लब भिड्ने छन् । वैशाख १७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टोलीको सहभागिता छ । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।


२०७१ सालमा सुरु माइभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

प्रकाशित : वैशाख ६, २०७५ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?