१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बिदा लिँदै वेंगर

वेंगरले आर्सनललाई तीनपल्ट प्रिमियर लिग अनि सातपल्ट एफए कप जिताए । उनी आएयता आर्सनलमा एकखाले विशिष्ट शैली भित्रियो, जसलाई सुन्दर फुटबल पनि भनिन्छ ।

लन्डन — सन् १९९६ मा आर्सनलमा आएयता आर्सेन वेंगरले क्लबलाई नयाँ दिशा दिए । टिममा ताजापन ल्याए । पछिल्लो समय भने उनी दबाबमा थिए । टिममा उनले आफैं स्थापना गरेको स्तर भने कायम राख्न सकेका थिएनन् । यसैक्रममा उनले शुक्रबार घोषणा गरे, ‘यस सिजनको अन्त्यसँगै आर्सनलसँग छुट्टिँदै छु ।’

बिदा लिँदै वेंगर

उनले भनेका छन्, ‘लामो समयको सोचपछि अनि क्लबसँगको सल्लाहपछि व्यवस्थापनबाट पछाडि हट्ने ठीक समय आएको छ ।’

क्लबको वेबसाइटमा उनको भनाइ छ, ‘आर्सनलका लागि यति धेरै वर्ष सम्झनलायक समय बिताउन पाएँ, त्यसका लागि म गर्व महसुस गर्छु ।’ अहिले उनी ६८ वर्षका भए । जति बेला उनले साँच्चै आर्सनल छाड्ने छन्, उनलाई इंग्लिस प्रिमियर लिग इतिहासमै सफल र प्रभावशाली व्यवस्थापकका रूपमा सम्झिने छ । यति बेला आर्सनल लिग अंकतालिकाको छैटौं स्थानमा छ । डर छ, लगातार दोस्रो वर्ष आर्सनलले युरोपेली च्याम्पियन्स लिग खेल्ने छैन ।

यसअघि लगातार दुई दशक आर्सनलले युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता खेलेको थियो । उनले आर्सनलका लागि तीनपल्ट प्रिमियर लिग जिते अनि सातपल्ट एफए कप । उनी आएयता आर्सनलमा एकखाले विशिष्ट शैली भित्रिएको थियो, जसलाई सुन्दर फुटबल पनि भनिन्छ । पछिल्लो समय भने टिमको प्रदर्शन राम्रो हुन सकेको छैन । टिमको प्रदर्शन संघर्षपूर्ण रहँदै आएको छ । यसै कारण उनी क्लब समर्थकमाझ अलोकप्रिय पनि भएका छन् ।


प्रत्येक सिजन अन्त्यमा अब वेंगरको भविष्य के हुने हो त्यसमा विवाद र आशंका हुने गर्छ । क्लबमा सर्वाधिक बढी लगानी गरेका मालिक स्टान क्रान्केले टिम छाड्न वेंगरले गरेको निर्णयलाई इतिहासमै कठिन मानेका छन् । उनले क्लबको वेबसाइटमा भनेका छन्, ‘आर्सनलका लागि उनले मैदानमा जे जति खुसी ल्याए, त्यसका लागि उनलाई सम्झिने छ । उनले लामो समय क्लबमा बिताए र यति समयमा राम्रो गर्नु कम ठूलो उपलब्धि होइन ।’

केही समय फ्रान्समा बिताएयता उनी आर्सनल आएका थिए । यसभन्दा अगाडि उनी जापानमा रहे । उनले आर्सनलमा फ्रान्सेली फुटबल स्वाद पस्केको पनि भनियो । एक प्रकारले उनले आर्सनलमा ठूलै परिवर्तन ल्याए । उत्तरी लन्डन क्लबमा उनले जे जति भित्र्याएका थिए, ती क्लबमा यसअघि थिएन । त्यसैले ती सबै सनसनीपूर्ण रहे । त्यसैले फिल नेभिलको भनाइ ठीक सुनिन्छ । उनले भनेका छन्, ‘मैले जति पनि टिमविरुद्ध खेलें, त्यसमध्ये वेंगरले निर्माण गरेको टिम उत्कृष्ट रह्यो ।’


इंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका लागि खेलेका नेभिलले थपे, ‘सन् १९९८ को टिम त वास्तवमै गज्जब थियो । आर्सनलले यसरी टिम बनाएको थियो कि हामी पनि उनीहरूविरुद्ध खेल्न परिवर्तनबाट गुज्रिन बाध्य रह्यौं । अब केही सातामात्र उनी आर्सनलमा रहने छन् । उनलाई अब सुखद बिदाइ दिन आवश्यक छ ।’ सन् २००३–०४ मा उनको नेतृत्वमा
रहेको आर्सनलले साँच्चै हार्न बिर्सेको थियो, त्यसैले त्यो टिमलाई ‘इनभिजिबल’ भनिन्छ ।

त्यो पूरा सिजन आर्सनलले कुनै पनि खेल गुमाएन । सन् २००० को सुरुआत र मध्यमा वेंगरले आर्सनलमा निकै सफल समय बिताए । त्यति बेला टिमले निकै आक्रामक खेल खेल्थ्यो, त्यो पनि अविश्वसनीय तीव्र गतिमा । सन् २००२ देखि २००५ बीच आर्सनलले तीनपल्ट एफए कप जिते । भनिरहनुपर्दैन, यो इंग्लिस फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि हो अनि यसैबीच दुईपल्ट लिग पनि जिते । सन् २००६ मा आर्सनल च्याम्पिन्स लिगको फाइनल पनि पुग्यो, त्यसमा टिम बार्सिलोनाको हातबाट पराजित रह्यो ।


पछिल्ला केही वर्षमा इंग्लिस फुटबलमा जहाँ म्यानचेस्टर सिटी, चेल्सी र प्रमुख शत्रु उत्तरी लन्डन क्लब टोटेनहमले उचाइ लियो, त्यहीं आर्सनलको प्रदर्शन भने ओरालो लाग्यो । तर वेंगर प्रिमियर लिगमा लामो समय एउटै क्लबमा लगातार सेवा गर्ने व्यवस्थापकमा पर्छन् । टिमका लागि सुरुआती वर्षमा जस्तो सफलता चुमेको थियो, त्यसैमा टिकेर उनी मजबुत रहे । यसबीच आर्सनलले च्याम्पियन्स लिग भने जित्न सकेन, न त पछिल्लो समय प्रिमियर लिग उपाधिका लागि ऊ बलियो दाबेदार रहन सक्यो ।

निकै खर्चालु क्लबअगाडि आर्सनल कमजोर देखिन सुरु भयो । यसै कारण उनी क्लबका समर्थकबीच साँच्चै अलोकप्रिय थिए । त्यसैले टिम छाड्ने घोषणाका बेला वेंगरले भनेका छन्, ‘समर्थकहरू क्लबको पछाडि मजबुत भएर रहनुपर्छ । सबै आर्सनल समर्थकलाई आग्रह गर्छु, क्लबको आदर्श र भावनालाई सम्मान गर्नु ।’ अब क्लबले लिगमा चार खेल खेल्नु छ र यसमा व्यवस्थापक उनै कायम रहने छन् । क्लब युरोपा लिगको सेमिफाइनल पुगेको छ, त्यहाँ पनि वेंगर नै हुनेछन् ।

प्रिमियर लिगमा पछिल्ला वर्ष धेरै विदेशी लगानी भित्रिएको छ । र, यसै क्रममा लिग व्यावसायिक रूपमा पनि निकै सफल सावित भएको छ । रुस, थाइल्यान्ड, यूएईका धनाढयहरूको स्वामित्वमा क्लबहरू रहन थालेका छन् । त्यसो त आर्सनलका मालिक पनि विदेशी हुन् अमेरिकी । सायद यो परिवर्तनसँग उनले ठीक समीकरण राख्न सकेनन् कि ? हुनसक्छ, अब उनले अर्को कुनै प्रिमियर लिग क्लब पनि सम्हाल्ने छैनन् । किनकि वेंगर अहिले साँच्चै आराम चाहन्छन् ।

– न्युयोर्क टाइम्स

नजिकबाट आर्सेन वेंगर
जन्म : अक्टोबर २२, १९४९
जन्मस्थान : ट्रासबर्ग, फ्रान्स
उमेर : ६८

प्रशिक्षण करियर
क्लब : न्यान्सी (१९८४–८७/फ्रान्स), मोनाको (१९८७–९४/फ्रान्स), नागोया ग्राम्पस (१९९५–९६/जापान), आर्सनल (१९९६–२०१८/इंग्ल्यान्ड)
उपाधि
लिग १ : १९८७–८८
फ्रेन्च कप : १९९०–९१
एम्पेरर्स कप : १९९५
जे–लिग सुपर कप : १९९६
प्रिमियर लिग (३) : १९९७–९८, २००१–०२,
२००३–०४
एफए कप (७) : १९९७–९८, २००१–०२, २००२–०३, २००४–०५, २०१३–१४, २०१४–१५, २०१६–१७
कम्युनिटी सिल्ड (७) : १९९८, १९९८, २००२, २००४, २०१४, २०१५, २०१७
व्यक्तिगत उपाधि
जे–लिग वर्ष उत्कृष्ट प्रशिक्षक : १९९६
प्रिमियर लिग वर्ष उत्कृष्ट प्रशिक्षक (३) : १९९८, २००२, २००४
एलएमए वर्ष उत्कृष्ट प्रशिक्षक (२) : २००२, २००४
बीबीसी वर्षका उत्कृष्ट प्रशिक्षक (२) : २००२, २००४
फ्रान्स फुटबल वर्ष उत्कृष्ट प्रशिक्षक : २००८

प्रकाशित : वैशाख ८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?