कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नेपालको खराब सुरुआत

रविनलाई स्वर्ण, फुपु र मनीता चुके
सुबास हुमागाईं

काठमाडौँ — आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन शनिबार नेपालले एक स्वर्णमै चित्त बुझाउनुपरेको छ । नेपालका लागि रविन श्रेष्ठले १ सय केजीमुनि तौल समूहमा एकमात्र स्वर्ण जिते ।

नेपालको खराब सुरुआत

घरेलु स्पर्धामा पुलिसबाट खेल्ने २५ वर्षीय रविनको अन्तर्राष्ट्रियस्तरमा यो पहिलो स्वर्ण हो ।

स्वर्ण आशा गरिएका फुपुल्हामु खत्री र मनीता श्रेष्ठ प्रधानले अपेक्षाकृत सफलता हात पार्न सकेनन् । फुपु फाइनलमा भारतीय सुनिवाला देवी हुइद्रोमसँग पराजित भइन् भने मनीता पनि भारतीय प्रतिद्वन्द्वी अंगोम अनिता चानुसँग सेमिफाइनलमै रोकिइन् ।

शनिबार सात स्पर्धामा भारतले ४, पाकिस्तानले २ तथा नेपालले १ स्वर्ण जितेका थिए । नेपालका तीन खेलाडी रजत तथा ७ खेलाडी कांस्य पदकमा सीमित भए । फुपुसँगै लीला अधिकारी र श्रीराम माकाजु फाइनलमा पराजित भएका थिए ।लगनखेलस्थित सैनिक शारीरिक खेलकुद तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपालले पहिलो इभेन्टमै स्वर्ण जितेर उत्कृष्ट सुरुआत गरेको थियो । राउन्ड रोबिन लिगका आधारमा खेलिएको पुरुष १ सय केजीमुनि रविनले आफ्नै देशका सूर्यमान लामालाई पराजित गरे । दोस्रो खेलमा बन्दुला बज्जालालाई हराएका रविनले अन्तिम खेलमा बंगलादेशका मोहमद अब्दुल कलाम आजादलाई पन्छाउँदै स्वर्ण पक्का गरे । आजादले तीन सिदो प्राप्त गरेपछि रविनले खेल जितेका थिए । सूर्यमानले अन्तिम लिग खेलमा श्रीलंकाली बन्दुलालाई हराउँदै कांस्य पक्का गरे । आजादले रजत जितेका थिए ।

महिला ५७ केजीमा मनीताले श्रीलंकाली मधुसानी लियांगेलाई पहिलो चरणमा हराए पनि सेमिफाइनलमा भने भारतीय चानुसँग पराजित भइन् । लीलाले क्रमश: पाकिस्तानकी सुमाइला गुल र नेपालकी पूर्णा राईलाई हराउँदै फाइनल यात्रा तय गरिन् । फाइनलको अन्तिम ३० सेकेन्ड बाँकी छँदा चानुले लीलालाई लक होल्डमा इप्पोनबाट पराजित गरिन् । स्पर्धामा मनीता र मधुसानीले कांस्य पाए ।महिला ६३ केजीतर्फ साफकी स्वर्णधारी फुपु भारतीय चिरप्रतिद्वन्द्वीसँग ओसाकेमीमार्फत इप्पोनले पराजित भइन् । पहिलो चरणमा बंगलादेशकी ह्याप्पी सुल्ताना र सेमिफाइनलमा पाकिस्तानकी आश्मा रानीलाई हराएकी फुपुले फाइनलमा वाजारी अंक गुमाए पनि खेलमा फर्कने संकेत देखाएकी थिइन् । तर भारतीय सुनिवालाले १२ औं दक्षिण एसियाली खेलकुदमा बेहोरेको पराजय बदला लिँदै स्वर्ण पक्का
गरिन् । स्पर्धामा सुल्ताना र श्रीलंकाकी वासाना करुनारत्नाले कांस्य पदक जिते ।

पुरुष ९० केजी तौल समूहमा पाकिस्तानका केसर खानसँग फाइनलमा पराजित हुँदै नेपालका श्रीराम माकाजु रजत पदकमा सीमित भए । पहिलो खेलमा श्रीलंकन गयन अबेसिंघेलाई हराएका श्रीरामले सेमिफाइनलमा बंगलादेशका जहांगिर आलमलाई पराजित गरे । फाइनलमा केसरसँग भने उनले बलियो चुनौती पेस गर्न सकेनन् । स्पर्धामा नेपालका रमेशबहादुर चन्द र भारतका जोवनदीप सिंहले कांस्य पदक हात पारे ।

नेपालकी सुमित्रा राई र भुटानकी फुबडेम मोंगरले महिला ४८ केजी तौलको कांस्य पदकमा चित्त बुझाउँदा भारतकी सुशीलादेवी लिक्माबमले स्वर्ण तथा पाकिस्तानी हुमलरा आशिकले रजत जिते । महिलाकै ५२ केजीमा भारतकी कल्पनादेवी थौदमले स्वर्ण तथा पाकिस्तानकी मरयमले रजत जितेका थिए । कांस्य पदक नेपाली खेलाडी देविका खड्का र अञ्जु पाण्डेले हात पारे ।पुरुष १ सय केजीमाथि पाकिस्तानका हुसेन साहले स्वर्ण, श्रीलंकाका यासिथ रत्नानायकेले रजत तथा नेपालका राजन जोशी र भारतीय उदयवीर सिंहले कांस्य पदक जिते । पहिलो चरणमै हुसेनसँग पराजित राजनले बंगालदेशका हसनुर रहमानलाई हराउँदै कांस्य जितेका हुन् ।

दोस्रो दिन व्यक्तिगततर्फ सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्यसमा नेपालका १८ खेलाडी खेल्नेछन् । तीनदिने प्रतियोगिताको अन्तिम दिन सोमबार टिम इभेन्टका खेल हुनेछ ।

शनिबार पदक जितेका नेपाली खेलाडी ।

प्रकाशित : वैशाख ९, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?