कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मनाङको कठिन जित

माईभ्याली गोल्डकप
विप्लव भट्टराई

इलाम — आयोजक माईभ्याली फुटबल क्लबविरुद्ध कठिन जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब सोमबार चौथो आमन्त्रण माईभ्याली फुटबलको सेमिफाइनल पुगेको छ । पहिलो सेमिफाइनलमा मनाङले १–० को जित निकाल्यो ।

मनाङको कठिन जित

मनाङबाट ३७ औं मिनेटमा अफ्रिकन मूलका खेलाडी काचीले गोल गरे । उनले हेमन गुरुङको फ्रिकिकलाई हेडमार्फत सदुपयोग गर्दै गरेको गोल निर्णायक बन्यो । राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व रहेको मनाङविरुद्ध घरेलु मैदान र दर्शकको साथ पाएको इलामका खेलाडीले अन्त्यसम्म कडा चुनौती पेस गरेका थिए ।

दुवै तर्फबाट पेनाल्टी क्षेत्रमा पाएका केही अवसर गोलमा परिणत हुन सकेन । पहिलो हाफको २२ औं मनाङका सुवास गुरुङको प्रहार बारमा ठोक्किएर बाहिरियो । १९ औं मिनेटमा इलामका मनीष थापा विपक्षी रक्षापंक्ति चिर्न सफल भए पनि वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके ।

खेलको ८८ औं मिनेटमा काचीको सशक्त प्रहार गोलरक्षक सोजित गुरुङले मुस्किलले बचाए । इलामका तीर्थ बस्नेत म्यान अफ द म्याच घोषित भए ।

मनाङका कप्तान विराज महर्जनले आयोजकले कडा चुनौती दिएकाले मुस्किलले जित निकालेको बताए । ‘हामीले प्रतिद्वन्दी टिमलाई कमजोर आँकेका थिएनौं,’ उनले भने, ‘विपक्षीलाई कमजोर आँक्दा यसअघि केही स्थानमा हार बेहोरेकाले यसपालि सबै शक्ति लगाएर खेलेका थियौं ।’

इलामका कप्तान सुवास राईले राष्ट्रिय टोलीसँग भिडेजस्तो अनुभव गरेको प्रतिस्पर्धामा आफूहरूले दर्शकको अपेक्षाअनुसार खेल पस्किएको बताए ।

अघिल्लो वर्ष मनाङले सहभागिता जनाएको १२ प्रतियोगितामध्ये ७ फाइनल खेल्दै ३ वटामा जित निकालेको थियो । माईभ्यालीमा गत सिजन नेपाल पुलिससँग क्वाटरफाइनलमा १–० ले पराजित हुँदै मनाङ घर फर्किएको थियो ।

मंगलबार डिफेन्डिङ च्याम्पियन झापा ११ ले एपीएफ क्लबको सामना गर्नेछ । एपीएफ र झापा माईभ्याली गोल्डकपमा तेस्रोपल्ट भिड्न लागेका हुन् । दोस्रो संस्करणको फाइनलमा झापाले २–० ले पछि पार्दै उपाधि खोसेको थियो । तेस्रोको सेमिफाइनलमा झापाले एपीएफको यात्रा टुंग्याएको थियो ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?