रोमाञ्चक प्रतिस्पर्धा सुरु

एनपीजीए टुर च्याम्पियनसिप

काठमाडौँ — रोमाञ्चक प्रतिस्पर्धासँगै गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन शिवराम श्रेष्ठ, रमेश नगरकोटी र रवि खड्काले पहिलो दिन सोमबार समान दुई अन्डर ७० स्कोर गरे ।

रोमाञ्चक प्रतिस्पर्धा सुरु

सूर्य नेपाल गल्फ टुर २०१७–१८ को नवौं प्रतियोगितामा शिवकुमार माझीसँगै एमेच्योरद्वय टंकबहादुर कार्की र टासी छिरिङले १ अन्डर ७१ को कार्ड बनाए । धनबहादुर थापा, रामे मगर, सूर्यप्रसाद शर्मा, पूर्ण शर्मा र एमेच्योर सुवास तामाङ इभन पार ७२ सहित शीर्ष दसमा रहे ।

शिवरामले सुरुका नौ होलमा ५ अन्डर ३१ स्कोर गर्दै उत्कृष्ट सुरुआत गरे । तर उनले पछिल्ला नौ होलमा उस्तै प्रदर्शन गर्न सकेनन् । तीन ओभर ३९ प्रदर्शन गरेपछि उनी एक अग्रता लिनबाट चुके । उनले होल नम्बर ३, ४, ५, ७ र ९ मा एक–एक शट जोगाउँदै बर्डी गरेका थिए । फेरि ११ औं होलमा बर्डी बनाएपनि उनले पार ५ को १२ र १५ औं होलमा तीन स्ट्रोक बढी खेल्दै ‘ट्रिपल बोगी’ बेहोरेका थिए । उनले अन्तिम होलमा करिब ७० यार्डबाट इगल गर्दै पहिाले दिनको खेल टुंग्याए ।

रमेशले सुरुका नौ होलमा इभन पार ३६ र त्यसपछि सुधारिएको प्रदर्शन गर्दै दुई अन्डर ३४ स्कोर गरे । पाँचौं होलमा बर्डी गरे पनि उनी आठौं होलमा बोगीमा परे । उनले १३ र १५ औं होलमा पनि बर्डी गरेका थिए ।

रविले दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गर्दै सुरुका नौ होल दुई अन्डर ३४ मा पूरा गरेका थिए । तर पछिल्ला नौ होलको स्कोर भने अन्डरमा राख्न सकेनन्, इभन पार ३६ खेले । दसौं र १५ औं होलमा बर्डी गरेपनि ११ र १४ औंह ोलमा बोगीमा परेपछि उनले स्कोर सुधार्ने अवसर गुमाए ।

कुल ६ लाख ३० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा ७२ होलको प्रतियोगितामा ३६ प्रो र २४ एमेच्योर गल्फर सहभागी छन् । ३६ होलको खेलपछि मंगलबार शीर्ष २१ प्रो र ६ एमेच्योर अन्तिम दुई चरणका लागि छनोट हुनेछ ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?