भारतीय खेलाडीको वर्चस्व

सुबास हुमागाईं

काठमाडौँ — पहिलो दुई दिनको उत्कृष्ट लय जारी राख्दै भारतले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको अन्तिम दिन टिम इभेन्टतर्फ दुवै स्वर्ण जितेको छ । पुरुषतर्फ पाकिस्तानलाई हराएको भारतले महिलातर्फ घरेलु टोली नेपालमाथि वर्चस्व राख्दै स्वर्ण जित्यो । भारतले व्यक्तिगत स्पर्धाको महिलातर्फ सबै ७ स्वर्ण र पुरुषमा ३ स्वर्ण जितेको थियो ।

भारतीय खेलाडीको वर्चस्व

लगनखेलस्थित सेनाको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा सोमबार महिलातर्फ भारतले नेपाललाई ५–० गेमले पराजित गर्दै स्वर्ण पक्का पारेको थियो । नेपालकी देविका खड्का ५२ केजी तौल समूहमा सुशीलदेवी लिकम्बमसँग १६ सेकेन्डमै इप्पोन खाँदै हारिन् । लगत्तै मनीता प्रधान श्रेष्ठ पनि ३३ सेकेन्ड बाँकी रहँदा १–० ले अगाडि हुनुका बावजुद अनिता अंगोम चानुले २० सेकेन्ड पिन गरेपछि इप्पोनका आधारमा पराजित भइन् । ६३ केजीमा फुपुल्हामु खत्री सुनिवाला देवी हुइड्रोमसँग १–० ले हारेपछि भारतको पदक पक्का भयो ।

त्यसपछि भाततीय गरिमा चौधरीले भावना घर्तीमगरलाई २९ सेकेन्डमा हराउँदा पुनम श्रेष्ठ टुलिका मानसँग पराजित भइन् । नेपाली टोली श्रीलंका र बंगलादेशलाई हराउँदै फाइनल पुगेको थियो । पाकिस्तान भने भारतसँग सेमिफाइनलमा पराजित भयो । तेस्रो स्थानको खेलमा पाकिस्तानले बंगलादेशलाई ४–१ गेमले हराउँदै कांस्य जित्यो ।

पुरुषतर्फ टिम इभेन्टको सेमिफाइनलमा नेपाल पाकिस्तानसँग ५–० ले पराजित भयो । नेपालबाट इन्द्रबहादुर श्रेष्ठ, संजित डंगोल, मनीष महतो, रमेशबहादुर चन्द र रविन श्रेष्ठले खेलेका थिए । तेस्रो स्थानको खेलमा इन्द्र र संजितले पहिलो दुई खेल जित्दै २–० को अग्रता दिलाए । श्रीलंकाली खेलाडीले त्यसपछिका तीन खेल जित्दै कांस्य पदक आफ्नो पोल्टामा पारे । पुरुष स्पर्धाको फाइनलमा भारतले पाकिस्तानलाई ३–२ ले पराजित गर्दै स्वर्ण जित्यो । भारतका विजयकुमार यादव, दिवेश र जोवनदीप सिंहले जित हात पार्दा पाकिस्तानका शाह हुसेन र नदिम अक्रमले मात्र विजय हासिल गरे ।

महिला टिममा रजत पदक जितेको नेपाली टोली ।तस्बिर : हेमन्त श्रेष्ठ

प्रदर्शनप्रति प्रशिक्षक असन्तुष्ट
नेपाली टोलीका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जितले प्रतियोगिता सुरु हुनुअघि नेपालले कम्तीमा ५ स्वर्ण जित्ने दाबी गरेका थिए । निकै अपेक्षा गरिएका खेलाडी फुपुल्हामु र मनीताले भारतीय खेलाडीसँग जित्न नसक्दा नेपाल पुरुषतर्फ जितेका दुई स्वर्णमै सीमित भयो । व्यक्तिगततर्फ नेपालका ६ खेलाडीले रजत पदक जिते । नेपालका लागि सबै फाइनलमा भारतीय खेलाडी बाधक बने ।

नेपाली खेलाडी भारतका प्रतिद्वन्द्वीसँग पराजित हुनु टेक्निकको नभई मानसिक कारण मुख्य भएको प्रशिक्षक रञ्जितको बुझाइ छ । ‘हाम्रा धेरै खेलाडी भारतीय प्रतिद्वन्द्वीसँगै पराजित भए । उनीहरू र हाम्रो टेक्निकमा हामी अझै माथि छौं होला । तर मनोवैज्ञानिक रूपमा हाम्रा खेलाडी कमजोर देखिए । खेलाडीको शक्तिसञ्चयमा पनि हामी केही पछाडि परेका छौं,’ उनले भने । प्रतियोगितामा नेपालले दुई स्वर्ण जित्दा एक स्पर्धामा मात्र भारतीय खेलाडी पराजित भए । इन्द्रले ६६ केजीको सेमिफाइनलमा अंकित विष्टलाई हराएका हुन् ।

प्रशिक्षक रञ्जितले नेपालको प्रदर्शनमा धेरै सुधार गर्ने ठाउँ रहेको बताए । ‘ हामीले यस च्याम्पियनसिपमा अझै सुधार गर्ने स्थान थियो । अब आउने प्रतियोगितामा हामीले के–कस्तो कदम चाल्नुपर्छ भन्ने पनि यसले प्रस्ट पारेको छ । सम्बन्धित निकायले उचित सुविधा र प्रशिक्षण कार्यक्रम दिएको अवस्थामा हामीले एसियाली खेलकुद र सागमा राम्रो नतिजा ल्याउन सक्छौं भन्ने देखिएको छ,’ उनले टुंग्याए ।

आठौं दक्षिण एसियाली जुडो पदक तालिका
देश स्वर्ण रजत कांस्य
भारत १० ० ३
नेपाल २ ६ १३
पाकिस्तान २ ३ ३
श्रीलंका ० ३ ५
बंगलादेश ० २ २
भुटान ० ० १
कुल १४ १४ २७

प्रकाशित : वैशाख ११, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?