एन्फा चुनावको बाटो खुल्यो

काठमाडौँ — उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश खारेज गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनको बाटो खुलेको छ ।

एन्फा चुनावको बाटो खुल्यो

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुरका तत्कालीन ‘वरिष्ठ उपाध्यक्ष’ मनीष श्रेष्ठले दायर गरेको रिटमाथि उच्च अदालतले चुनावको ५ दिनअघि अन्तरिम आदेश जारी गरेसँगै १४ चैतमा तोकिएको एन्फा निर्वाचन स्थागित भएको थियो । उक्त अन्तरिम आदेशलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजलासले बुधबार खारेज गर्ने निर्णय गरेको हो ।

एक नम्बर इजलासमा भएको निर्णयपछि एन्फाका कानुनी सल्लाहकार सुजित केसीले भने, ‘अब एन्फा चुनावको बाटो खुल्यो । निर्वाचन समितिको निर्णयअनुसार नै वैशाख २२ मा निर्वाचन हुने भयो ।’ मुद्दाको अन्तिम सुनुवाइ भने बाँकी रहेको अवस्थामा उनले थपे, ‘अन्तरिम आदेशले चुनाव रोकिएको थियो । त्यो आदेश खारेज गरिसकेपछि कुनै बाधा छैन । अब साधारणसभा र निर्वाचन हुन्छ ।’

राष्ट्रिय खेलकुद परिषद (राखेप), एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) पनि कार्यसमितिको निर्वाचन चाँडै सम्पन्न गर्न एन्फालाई दबाब दिइरहेका छन् । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले तुरुन्तै निर्वाचन नगरे एन्फालाई निलम्बनसम्मको कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसैले चैतमा निर्वाचन स्थगित भएलगत्तै एन्फाका ७७ मतदातामध्ये ४७ जनाले नेपालमाथि कारबाही नगर्न फिफा र एएफसी समक्ष आग्रह गरेका थिए ।

यसअघि आइतबार नै निर्वाचन समितिले चुनाव रोक्ने उच्च अदालतको अन्तरिम आदेश खारेज भएमा वैशाख २२ मा निर्वाचन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र अन्तिम नामावलीसमेत प्रकासित भइसकेको अवस्थामा निर्वाचन स्थगित भएको हो । एन्फा अध्यक्षका लागि उम्मवारी दिएका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलसहित चुनावी दौडमा छन् । निर्वाचनमा एन्फाका ४५ जिल्ला शाखासहित ७७ मतदाता छन् ।

सुजखु र श्रेष्ठले आ–आफ्नो जिल्लामा अधिवेसन नभएकाले आफ्नो प्रतिनिधित्वबिना निर्वाचन हँुदा हक–अधिकार हनन हुने भन्दै चुनाव रोक्न चैत ७ मा उच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमाथि उच्च अदालतले ८ चैतमा अन्तरिम आदेश जारी गरेपछि १४ चैतलाई तोकिएको एन्फा निर्वाचन अदालतको अन्तरिम आदेशसँगै स्थगित भएको थियो ।

त्यसयता भक्तपुर र मकवानपुर जिल्ला संघको अधिवेसन पनि भयो । सुजखु पाँचौं कार्यकालका लागि भक्तपुरको अध्यक्ष निर्वाचित भए भने मनीष मकवानपुरमा सदस्य चुनिए । ‘आ–आफ्नो जिल्लाको अधिवेसन र निर्वाचनसमेत सम्पन्न गरी मताधिकार प्रतिनिधि र प्रतिनिधिको नामावली पठाइसकेकाले रिट निवेदकको विषयवस्तु र अन्तरिम आदशेको भावना समावेश भइसकेको अवस्थामा निर्वाचन गर्न मिल्ने भएकाले वैशाख २२ मै निर्वाचन गर्न सकिने निर्णय गरियो,’ निर्वाचन समितिको निर्णयमा लेखिएको थियो ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?