एनपीजीए उपाधि होड रोचक बन्दै

काठमाडौँ — नेपाल नम्बर एक शिवराम श्रेष्ठ सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन उत्कृष्ट प्रदर्शन गरेर अन्य तीन खेलाडीसँगै शीर्षस्थानमा आएका छन् ।

एनपीजीए उपाधि होड रोचक बन्दै

बुधबार गोकर्ण गल्फ क्लबमा ६ अन्डर ६६ जोड्दै शिवराम समग्रमा २ अन्डर २ सय १४ अंकसहित शीर्षमा आएका हुन् । उनीसँगै अघिल्लो दिन एकल अग्रता जमाएका भुवन नगरकोटी, धनबहादुर थापा र एमेच्योर टंकबहादुर कार्की अगाडि छन् ।

पहिलो दिन २ अन्डर ७० का साथ शीर्षमा रहेका शिवराम दोस्रो दिन ६ ओभर ७८ खेलेपछि ११ औं स्थान पुगेका थिए । तेस्रो दिन पहिलो तीनै होलमा बर्डीसहित उत्कृष्ट सुरुआत गरेका शिवरामले फ्रन्ट र ब्याक नाइन दुवैमा ३ अन्डर ३३ को उत्कृष्ट स्कोर बनाए । अघिल्लो दिन २ स्ट्रोकको अग्रता लिएका भुवनका लागि भने तेस्रो दिन बिर्सनलायक रह्यो । २ ओभर ७४ को स्कोर बनाएका उनले पहिलो होलमै बोगी खेपे ।

बुधबार अग्रस्थानभन्दा ४ स्ट्रोक पछाडि रहेर सुरु गरेका धन र टंकले समान २ अन्डर ७० को स्कोर बनाउँदै उपाधि होडमा स्थान बनाए । दोस्रो स्थानमा रहेर खेल सुरु गरेका पूर्ण शर्मा १ ओभर २ सय १५ अंक जोडेर पाँचांै र एमेच्योर टासी छिरिङ छैटौं स्थानमा छन् । प्रतियोगिताको अन्तिम दिन शीर्ष २१ व्यावसायिक खेलाडीले ६ लाख ३० हजार रुपैयाँ पुरस्कारको लागि खेल्नेछन् ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?