कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

इनिस्टाको बार्सिलोना बिदाइले उब्जाएका प्रश्न

एएफपी

बार्सिलोना — सिजन अन्त्यसँगै आन्द्रेस इनिस्टाले बार्सिलोना छाड्ने शुक्रबार बताएका छन् । २२ वर्षपछि उनले बार्सिलोना छाड्दै छन् । सन् २००२ मा १८ वर्षकै उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गरेका इनिस्टा १२ वर्षमै बार्साको एकेडेमी ला मासिया आइपुगेका थिए ।

इनिस्टाको बार्सिलोना बिदाइले उब्जाएका प्रश्न

३३ वर्षीय स्पेनिस मिडफिल्डरले अबको गन्तव्य चिनिया सुपर लिग रहेको जनाए पनि क्लब भने तय नभएको बताए । उनले करिअरको बाँकी समय बार्सिलोनाविरुद्ध कुनै खेल नखेल्ने उद्घोष गरे । उनले बार्सिलोनाबाट बिदा हुँदा आफू उपयोगी, आवश्यक र उपाधि जिताउने खेलाडीको रूपमा छाड्न चाहेको बताए । इनिस्टाले बार्सिलोना छाड्ने निर्णयसँगै उब्जिएका केही प्रश्न :

इनिस्टा किन अहिले बिदा हुँदै छन् ?
इनिस्टालाई अक्टोबरमा बार्सिलोनाले ‘आजीवन सम्झौता’ दिएको थियो । यसले इनिस्टासामु आफूले चाहेको समयमा क्लब छाड्न सक्ने स्वतन्त्रता दियो । यो स्वतन्त्रताले इनिस्टालाई मनोवैज्ञानिक रूपमा दबाब दिएका कारण उनले क्लबसँग बिदा माग्नु उचित सम्झिए । उनी आफैंले पनि आफ्नो भूमिका अहम् छँदा क्लब छाडेर जाँदा राम्रो हुने बताए । आफू खेल्न नसकने अवस्थासम्म क्लबमा रहनु भनेको क्लबलाई धोका दिनु हो भन्ने उनको बुझाइ छ । जारी सिजन बार्सिलोनाका लागि इनिस्टा उत्कृष्ट खेलाडीमध्ये एक हुन्, उनले आफू उत्कृष्ट फर्ममा छँदै बिदा लिन चाहे ।

अब कहाँ जान्छन् ?
इनिस्टाले मार्चमा आफूलाई चीनबाट प्रस्ताव आएको खुलासा गरेका थिए । चोङकिङ दाङदाइ लिफानले इनिस्टालाई क्लबमा आबद्ध गर्ने सम्भावना बढ्दो छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै अझै पनि आफ्नो अर्को गन्तव्य तय नभएको बताए । युरोपेली क्लबहरूले उनलाई अनुबन्धन गर्न चाहे निराश बनेर फर्कनु बाहेक विकल्प रहन्न । उनले बार्सिलोनाविरुद्ध कहिल्यै नउत्रिने बताउँदै युरोपबाहिर सम्पूर्ण सम्भावना खुला रहेको बताएका छन् ।

के इनिस्टाले विश्वकप खेल्छन् ?
यदि विश्वकप टोलीमा छनोट भए उनले रसियामा स्पेनको जर्सी लगाउने छन् । बार्सिलोनामा दोहोरो घरेलु उपाधि जित्ने लगभग पक्का भइसकेको अवस्थामा उनले राष्ट्रिय टोलीबाट दोस्रोपल्ट विश्वकप जितेर बिट मार्ने आशा राख्नेछन् । उनले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने अपेक्षा गरिएको छ । स्पेनलाई सन् २०१० मा विश्वकप तथा २००८ र २०१२ मा युरो कप जिताउँदा इनिस्टा टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

बार्साले उनको विकल्प कसरी खोज्छ ?
सारांशमा भन्दा इनिस्टाको ठाउँ कसैले लिन सक्दैन । मैदानभित्र मात्र नभएर मैदानबाहिर पनि उनको प्रभाव धेरै ठूलो थियो । उनको बिदाइमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित खेलाडी र अफिसियलको भावले पनि यो पुष्टि गरेको छ । जनवरीमा लिभरपुलबाट १ सय ६० मिलियन युरोमा भित्रिएका ब्राजिलियन फिलिप कोउटिन्होलाई उनको उत्तराधिकारीका रूपमा हेर्न सकिन्छ । खेल्ने शैली केही उस्तै भए पनि उनले इनिस्टाको स्थान लिन्छन् भन्ने आस गर्नु उनीमाथि दबाब थप्नु हुनेछ । नतिजा, बार्सिलोनाले नयाँ गति लिनुपर्छ ।

इनिस्टालाई कसरी याद गरिन्छ ?
करिअरको उच्च फर्ममा इनिस्टा स्पेनको पोसेसन फुटबलको प्रतीक मानिन्थे । अहिले पनि सन् २०१० मा उनले बालोन डी’ओर को उपाधि जित्नुपर्ने थियो भन्ने धेरै छन् । त्यति बेला उनी लियोनल मेसी पछाडि दोस्रा भएका थिए । मैदानबाहिर इनिस्टा सधैं शान्त र शालिन व्यवहारका थिए । यसका बाबजुद उनी समर्थकमाझ लोकप्रिय रहे । बार्सिलोनाको चिरपरिचित प्रतिद्वन्द्वी स्पान्योलका समर्थकमाझ पनि उनले छुट्टै स्थान बनाएका छन् । कारण उनले सन् २०१० को विश्वकपमा विजयी गोल गरेपछि एक वर्षअघि ज्यान गुमाएका स्पान्योल कप्तान ड्यानी हार्केको स्मृतिमा लिखित सन्देश देखाउन आफ्नो जर्सी उतारे । त्यो भावुक क्षण नै इनिस्टालाई बुझ्न पर्याप्त छ ।


आन्द्रेस इनिस्टा
उमेर : ३३
सिजन : १६
खेल : ६६९
गोल : ५७
क्लब : बार्सिलोना
च्याम्पियन्स लिग खेल : १३२
च्याम्पियन्स लिग उपाधि : ४
ला लिगा उपाधि : ८
कोपा डेल रे उपाधि : ६
यूईएफए टिम अफ द इयर : ६

प्रकाशित : वैशाख १५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?