कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खारिएका किरण

‘साफ च्याम्पियनसिप जित्नु मेरो सपना हो । साफमा हाम्रो प्रतिद्वन्द्वी सबै एकै स्तरका छन् । जुनै पनि टोलीले एकअर्कालाई हराउने क्षमता राख्छन् । अन्य टोलीले हाम्रो तुलनामा राम्रो स्तरको प्रशिक्षण र सुविधा पाए पनि हामी खेलमा जो–कोहीलाई हराउन सक्छौं ।’
सुबास हुमागाईं

काठमाडौँ —  नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले मिनर्भा पन्जाब फुटबल क्लबबाट खेल्दै गत महिना भारतको शीर्ष लिग फुटबलको उपाधि जिते । सन् २००५ मा स्थापित मिनर्भालाई पहिलो आई लिग उपाधि दिलाउन किरणले महत्त्वपूर्ण भूमिका खेले । लिगको दोस्रो हाफ सुरु हुँदा टोलीमा सम्मिलित किरणले ८ मध्ये ७ खेल पहिलो रोजाइमा रहेर खेले । उनले त्यसक्रममा ४ खेलमा क्लिन सिट राखे ।

खारिएका किरण

घरेलु फुटबलमा थ्रीस्टार क्लबमा झन्डै एक दशक बिताएका किरणले राष्ट्रिय टोलीबाट ५० क्यापको कोसेढुंगा पनि पार गरिसकेका छन् । उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टीसी) स्पोर्ट्स क्लबबाट एक सिजन खेल्दै अन्तर्राष्ट्रिय नकआउट प्रतियोगिता शेख कमल अन्तर्राष्ट्रिय क्लब कप पनि जिताए । यो सबैका बाबजुद किरणले आई–लिग खेल्नुलाई फरक अनुभव रहेको बताए ।


‘माल्दिभ्समा खेल्दा मैले विदेशी फुटबल क्लब र लिगको अवधारणा नजिकबाट नियाल्ने मौका पाएँ । त्यहाँको वातावरणमा बिझेकै कारण भारतमा मलाई केही सहज भयो । आई–लिग माल्दिभ्सभन्दा पनि माथिल्लो स्तरको लिग रहेको मैले पाएँ,’ किरणले कान्तिपुरसँगको कुराकानी थपे, ‘मिनर्भामा खेल्दा मलाई मैदानभित्र खेल्ने खेलाडीमात्र नभएर मेरो समग्र विकासमा पनि सहयोग पुगेको छ । यहाँको व्यवस्थापन र सहकर्मीहरूको साथले मैले धेरै नयाँ कुरा सिक्ने मौका पाएँ । यसले मेरो खेल स्तर त उकासेकै छ, सँगसँगै मलाई अझै माथि पुग्न पनि राम्रो प्लेटफर्म दिएको महसुस गरेको छु ।’

अन्तर्राष्ट्रियजगतमा नेपालको लागि हालै एसियन कप छनोटमा फिलिपिन्स, ताजिकिस्तान र यमनजस्ता बलियो टोलीसँग खेलेका किरणले आई–लिगको अनुभवलाई फरक रूपमा हेरेका छन् । ‘आई–लिग र एसियन कप छनोटको खेल स्तर उस्तै रहेको पाएँ । तर आई–लिगमा भने टोलीमा स्थान बनाउन निकै मिहिनेत गर्नुपर्ने हुन्छ । भारतीय खेलाडीको चुनौती परास्त गर्नु त छँदै छ, स्तरीय विदेशी खेलाडीको बाहुल्यताले गर्दा झनै कठिन हुने पाएँ,’ लामो समयदेखि नेपालको पहिलो रोजाइका गोलरक्षक किरणले सुनाए, ‘क्लबमा विदेशी खेलाडी निरन्तर ट्रायलका लागि आइरहने हुँदा आफूले गरेको सानो गल्ती महँगो हुन्थ्यो । खेलमा मात्र नभएर प्रशिक्षणमा पनि उत्तिकै गम्भीर हुनुपर्छ भन्ने बुझें । प्रशिक्षण टोलीले सानोभन्दा सानो कुरामा ध्यान दिएर गल्ती औंल्याउने गर्थे जसले खेल सुधार्न मदत पुग्यो ।’


नेपालमा शीर्ष श्रेणीको औपचारिक लिग फुटबल नभएको तीन वर्ष पुग्न लागिसक्यो । नेपालमा आयोजित पछिल्लो लिग खेलेका किरणले त्यसपछि माल्दिभ्स र भारतमा खेलिसके । नेपालका खेलाडी लिग फुटबलको प्रतीक्षामा बस्दा उनी भने अब अर्को सिजन सुरु हुने प्रतीक्षामा छन् । किरण नेपाली फुटबल र खेलाडीको यस्तो अवस्थाले खेल विकासमा असर पर्ने बताउँछन् । ‘यति लामो समयसम्म लिग फुटबल नहुनु दुर्भाग्यपूर्ण हो । केही हदसम्म मोफसलका प्रतियोगिताहरूले लिग फुटबलको कमी महसुस गर्न दिएका छैनन् । तर यसकै भरमा खेलाडीबाट उच्च प्रदर्शनको अपेक्षा गर्नु उचित हुँदैन,’ समकक्षी खेलाडीको चिन्तन गर्दै किरण भन्छन्, ‘मोफसलका प्रतियोगितामा दिन बिराएर खेल खेल्नुपर्ने हुन्छ । कहिलेकाहीं एकै महिनामा ५ भन्दा बढी प्रतियोगिता हुन्छ । जीविकोपार्जन गर्न खेलमा लागेका खेलाडीसँग खेल्नुको विकल्प छैन । यसले खेलाडीमा चोट लाग्ने सम्भावना बढ्छ र लगातार दबाबले स्तर नै खस्कने डर पनि उत्तिकै रहन्छ ।’


सेप्टेम्बर पहिलो सातादेखि बंगलादेशमा साफ च्याम्पियनसिप हुँदै छ । किरण अहिलेसम्म सेमिफाइनल पार गर्न नसकेको नेपाललाई पहिलो उपाधि दिलाउने अपेक्षा राख्छन् । तर नेपाललगायत दक्षिण एसियाली फुटबलकै महाकुम्भको रूपमा रहेको यस प्रतियोगिताका लागि नेपालले राम्रो तयारी गर्नुको विकल्प नरहेको उनको बुझाइ छ । ‘लिग नभएको अवस्थामा एन्फाले चाँडै राष्ट्रिय टोली गठन गरेर तयारी थाल्नुपर्छ । प्रतियोगिताअघि केही मैत्रीपूर्ण खेल र वैदेशिक प्रशिक्षण लैजानु राम्रो हुन्छ । एन्फाले प्रशिक्षण टोलीसँग समन्वय गर्दै साफलक्षित योजना बनाउनु अपरिहार्य छ । मोफसलमै व्यस्त खेलाडीले लामो समय प्रशिक्षण पाउँदा टोली एकीकृत भएर खेल्न सहज हुन्छ र फिटनेसको समस्या पनि आउँदैन,’ उनले भने ।


अन्तर्राष्ट्रिय फुटबलमा किरणले डेब्यू गरेको एक दशक पुग्न लागिसकेको छ । सन् २००८ मेमा उनले मकाउविरुद्ध एएफसी च्यालेन्ज कप छनोटमा राष्ट्रिय टोलीका लागि पहिलोपल्ट गोलपोस्ट सम्हालेका थिए । त्यसको ८ वर्षपछि मकाउलाई नै फाइनलमा हराउँदै किरणले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिलो औपचारिक उपाधि दिलायो । मलेसियामा नोभेम्बर २०१६ मा आयोजित एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले पराजित गरेको थियो । त्यसै सफलताको नतिजाका कारण नेपालले एसियन कपको छनोट खेल्न पाएको थियो ।


किरण आफ्नो अन्तर्राष्ट्रिय करिअरमा आएको उतारचढावलाई सकारात्मक रुपमा लिन्छन् । ‘हामीले पुराना गल्तीबाट धेरै कुरा सिक्न सकेका छौं । गत संस्करण भारतमा भएको साफमा हाम्रो प्रदर्शन राम्रो हुनसकेन । त्यो टोली नयाँ भएकाले पनि हामीले केही समय लिने अपेक्षा गरेका थियौं । समयसँगै हामीले सुधार्दै गयौं र केही महिनापछि सोलिडारिटी कप जित्न सक्यौं,’ उनले सुनाए ।


सन् २०१३ मा नेपालमा आयोजित साफको सेमिफाइनलमा बेहोरेको हारलाई यसपल्ट बिर्साउने लक्ष्य किरणले बनाएका छन् । ‘हामी यसपालि फाइनल खेल्ने लक्ष्य लिएर बंगलादेश जाँदै छौं । एसियन कप छनोटमा हामीले माथिल्लो स्तरका टोलीसँग खेल्ने मौका पायौं । नतिजा आफ्नो पक्षमा नआए पनि प्रदर्शन राम्रो रह्यो । अब राम्रो तयारी गरेर अगाडि बढेको खण्डमा उपाधिमा हाम्रो बलियो दाबेदारी हुनेछ,’ उनले भने ।


साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा आयोजक बंगालदेशसँग परेको छ । नेपालसँगै भुटान र पाकिस्तान पनि शीर्ष दुई स्थानको प्रतिस्पर्धामा हुनेछन् । नेपालले पछिल्लो संस्करणमा यी चारै टोलीसँग खेलेको थिएन । त्यसअघिको मैत्रीपूर्ण खेलमा भने नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो । किरणले नेपाल अन्य टोलीको तुलनामा बलियो भए पनि खेलमा अपेक्षाकृत प्रदर्शन नगरे नतिजा जे पनि हुने बताए ।


अप्रिलको अन्त्यमा किरणको मिनर्भासँग सम्झौता सकिँदैछ । किरणको अब जुन महिनामा एसियाली ट्रान्सफर विन्डो सुरु भएपछि नयाँ क्लबमा आबद्ध हुने सम्भावना पनि छ । तर उनले मुख्य लक्ष्य भने साफ च्याम्पियनसिप मानेका छन् । ‘साफ च्याम्पियनसिप जित्नु मेरो सपना हो । साफमा हाम्रो प्रतिद्वन्द्वी सबै एकै स्तरका छन् । जुनै पनि टोलीले एकअर्कालाई हराउने क्षमता राख्छन् । अन्य टोलीले हाम्रो तुलनामा राम्रो स्तरको प्रशिक्षण र सुविधा पाए पनि हामी खेलमा जो–कोहीलाई हराउन सक्छौं,’ किरणले भने ।


लगातार विदेशी लिग खेलेका किरण नेपाली टोलीको साफ यात्रामा महत्त्पूर्ण पाटो रहनेछन् । उनले माल्दिभ्स र भारतमा बटुलेको अनुभवले उनको व्यक्तिगत प्रदर्शन र टोलीको रक्षात्मक रणनीतिलाई फलदायी हुनेछ । लगातार सफलता र चर्चाले किरण एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । विदेशी लिगमा प्राप्त गरेको सफलताले उनको मनोबल पनि उच्च छ । उनको यस सफलताले टोलीका अन्य खेलाडीलाई पनि हौसला मिल्नेछ ।

चेन्चो र भुटान सम्बन्ध
किरणले मिनर्भा पन्जाबबाट खेल्दा टोलीका भुटानी फरवार्ड चेन्चो ग्याल्त्सेनसँग नजिकको सम्बन्ध बनाएका छन् । चेन्चोको आगमनसँगै भुटानले अन्तर्राष्ट्रिय फुटबलमा कोल्टे फेर्‍यो । लामो समयसम्म फिफा वरीयतामा २ सयवरपर रहेको भुटानलाई चेन्चोले विश्वकप छनोटको दोस्रो चरणमा पुर्‍याए । उनकै प्रदर्शनमा भुटानले जुन २०१५ मा फिफा वरीयतामा ऐतिहासिक १ सय ५९ औं स्थान पनि प्राप्त गर्‍यो । त्यसपछि केही समय भुटानले नेपाललाई पनि उछिनेको थियो । हाल नेपाल १ सय ६२ औं स्थानमा छ भने भुटान त्यसको २२ स्थान पछाडि छ ।


यसका बावजुद भुटान पहिलाभन्दा निकै राम्रो टोली रहेको किरण बताउँछन् । ‘चेन्चोको आगमनले भुटानको फुटबल अर्को स्तरमा पुगेको छ । उनको प्रदर्शनकै कारण मिनर्भालाई लिग जित्न सहज भएको हो । उनले दक्षिण एसियाली फुटबलमा निकै राम्रो छाप छाडिसकेका छन् । भारतमै पनि अन्य क्लबले उनलाई मोटो रकममा अनुबन्धन गर्ने चाह देखाएका छन्,’ किरणले भने ।


चेन्चोको स्तर भुटानका अन्य खेलाडीभन्दा माथि भएकाले उनी एक्लैले टोलीको भाग्य बदल्न सक्छन् भन्नेमा किरण शंका गर्छन् । ‘फुटबल टिम गेम हो । चेन्चो एक्लैले भुटानलाई जिताउन कठिन हुन्छ । अन्य खेलाडीले उनलाई राम्रो साथ दिनुपर्छ अनि मात्र चेन्चोले प्रदर्शन गर्न सक्ने हो । चेन्चोलाई रोक्न सके भुटानलाई हराउन सहज हुन्छ । यसै पनि मैले हामी सँगै बस्दा चेन्चोलाई साफमा जसरी पनि तिम्रो टोलीलाई पराजित गर्नेछौं भनेको छु,’ किरणले सुनाए ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?