मानबहादुरको उडान

सुबास हुमागाईं

काठमाडौँ — नतिजा आफ्नै ठाउँमा छ । आफ्नो खेलमा दर्शकको मन जित्न सके खेलाडीको मनले सन्तोष पाउँछ । विपक्षी टोलीका दर्शकले नै ताली बजाए उत्कृष्ट प्रदर्शनको भान हुन्छ ।

मानबहादुरको उडान

तर विपक्षी खेलाडीले नै आएर खेलको तारिफ गरे ? नेपाली राष्ट्रिय भलिबल टोलीका ओपन स्पाइकर मानबहादुर श्रेष्ठलाई गत साता यस्तै भयो । उनका अनुसार यस्तो अवस्थामा पाइने खुसी शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।

नेपाली भलिबल टोली एसियन भलिबल कन्फेडेरेसनको आयोजनामा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन बंगलादेश पुगेको थियो । समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । उक्त खेलमा माल्दिभ्सका हजम अली मोस्ट भ्यालुएबल प्लेयर चुनिए । तर, आयोजकले तीनपल्टसम्म अलीको नाम लिँदा पनि उनी उक्त अवार्ड थाप्न अगाडि गएनन् । चौथोपल्ट नाम लिँदा उनी पुरस्कार ग्रहण गर्न त पुगे तर उनले सिधंै उक्त पुरस्कार लगेर लामबद्ध नेपालका मानबहादुरलाई दिए ।

‘खेलपछि हामी पुरस्कार वितरण कार्यक्रमलाई लामबद्ध थियौं । धेरै समय बोलाएपछि स्टेज पुगेका उनले सिधैं आएर उक्त पुरस्कार मेरो हातमा थमाइदिए । म त अक्क न बक्क परें,’ हँसिला मानबहादुरले मधुर मुस्कानमा सुनाए । ‘उनले यो उपाधिको हकदार म होइन तिमी हो, तिम्रो खेल निकै राम्रो थियो भन्दै पुरस्कार लिन ढिपी कसे । मैले धन्यवाद भन्दै पुरस्कार नलिने भन्दा पनि उनले जिद्दी छाडेनन्,’ खेलमा नेपाललाई जित दिलाउन सर्वाधिक अंक जोडेका मानबहादुरले भने ।

माल्दिभ्सविरुद्धको जितले नेपाललाई च्याम्पियनसिपको सेमिफाइनल पुर्‍यायो । पछिल्लो संस्करण ऐतिहासिक तेस्रो स्थान हासिल गरेको नेपाल यसपालि चौथो स्थान प्राप्त गर्दै घर फर्कियो । तर स्पाइकर मानबहादुरको प्रदर्शनले यसपालि पनि दर्शकको मन लुट्यो । गत वर्ष सेन्ट्रल जोनमा गरेको प्रभावशाली प्रदर्शनकै कारण मानबहादुरले माल्दिभ्समा व्यावसायिक प्रतियोगिता खेल्न पाएका थिए । गत सिजन १ हजार अमेरिकी डलर बुझेका उनलाई अहिले नै त्यसको दोब्बर रकम प्रस्ताव आइसकेको छ । तर उनी हतार नगरी अझै केही समय कुर्ने पक्षमा छन् ।

नेपाली भलिबलका उदाउँदा खेलाडी मानबहादुर २४ वर्षका भए । झन्डै एक दशकअघि नवलपरासीको पुरानो कावासोती गाउँमा स्कुल पढ्दा उनको दिनचर्या क्रिकेटमा मैदानमा बित्थ्यो । तर क्रिकेट प्रतियोगिता बिरलै हुने र गाउँघरमा भलिबल नियमित हुनाले त्यसतर्फ आकर्षित भए । अग्लो कदका कारण उनलाई खेलमा प्रभाव जमाउन समय लागेन । विस्तारै गाउँबाहिरे प्रतियोगितामा पनि उनको माग बढ्न थाल्यो । ‘आफ्नो गाउँबाहिर खेल्न बोलाउँदा खुसी लाग्थ्यो । आफ्नो ठाउँको प्रतिनिधित्व गरिरहेका कारण पनि राम्रो खेल्नुपर्छ भन्ने हुन्थ्यो,’ उनले सुनाए ।

स्कुलबाट जुनियर लेभलमा उनको टोली पराजित भए पनि आफ्नो प्रदर्शनका कारण मानबहादुरले क्षेत्रीय छनोटमा स्थान बनाए । उनले पोखरामा भएको क्षेत्रीय प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पनि जिते । राष्ट्रियस्तरमा पनि उनी सर्वोत्कृष्ट घोषित भए । स्कुलछँदै अन्य टोलीबाट खेल्न थालेका मानबहादुरलाई एसएलसी सकेपछि पैसा लिएरै खेल्ने प्रस्ताव आउन थाल्यो । पश्चिमाञ्चलको क्षेत्रीय टोलीबाट काठमाडौं आएसँगै उनको कौशल राजधानीका ठूला टोलीको आँखामा पनि पर्‍यो ।

विसं २०६९ सालमा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै राजधानीमा एनभीए कप खेल्न आएका उनलाई नेपाल पुलिस क्लबले करारमा आबद्ध गर्‍यो । त्यहाँ रहेर उनले दुई वर्ष करारमै विभिन्न प्रतियोगितामा पुलिसको प्रतिनिधित्व गरे । उनको खेलकौशल र पुलिसमा करारमै खेलेको तथ्य थाहा पाएपछि आर्मीले उनलाई भर्ती गर्ने आश्वासन दिँदै विभाग परिवर्तन गरायो । भलिबल खेलाडी भएरै उनले आर्मीको भर्ना परीक्षा पास गरे र सेनामा सम्मिलित भए ।

आर्मीमा आबद्ध भएको तीन वर्ष बितिसक्दा उनले थुप्रै प्रतियोगिताको उपाधि उचालेका छन् । सँगै व्यक्तिगत विधाको उपाधि पनि । मानबहादुरले विधागत पुरस्कार नजितेको प्रतियोगिता कमै हुन थालेको छ । अहिले आर्मी टोलीका कप्तान रहेका मानबहादुरले आफ्नो नेतृत्वमा खेलेका तीनवटै प्रतियोगितामा उपाधि दिलाएका छन् । राष्ट्रिय टोलीमा पनि उनले छुट्टै प्रभाव जमाइसके ।

मामाघरमा हुर्किएका उनले यहाँसम्मको यात्रा सम्भव हुनुमा मामा–माइजुले बाल्यकालमा दिएको हौसलालाई प्रेरणा मान्छन् । ‘मैले पढ्ने उमेरमा खेल्न जाँदा उहाँहरूले रोकतोक गर्नुभएन । मेरो खेल राम्रो भएकै कारण यसमा लागेको बताएपछि उहाँहरूले मलाई खेल्न जान खर्च पनि दिनुहुन्थ्यो । मैले लगातार खेल सुधार्दै लागेपछि स्थानीय प्रतियोगिता खेलेरै अलि–अलि कमाइ दिन थालें । उहाँहरूले त्यति बेला खेल्न नदिएको भए सायद म यो अवस्थामा पुग्ने थिइनँ,’ उनले बाल्यकाल स्मरण गरे ।

अन्तर्राष्ट्रियस्तरमा आफ्नो छुट्टै परिचय बनाएका मानबहादुर अब नेपाली टोलीसँग एसियाली खेलकुदको तयारीमा जुट्नेक्रममा छन् । भदौमा इन्डोनेसियामा हुने एसियाली खेलकुदमा नेपाललाई शीर्ष १० स्थानभित्र पार्ने लक्ष्य उनले राखेका छन् । विगत वर्षभन्दा स्थानीय स्तरका प्रतियोगिताहरू बढेसँगै राष्ट्रिय टोलीमा पनि सुधार आएको उनको बुझाइ छ । यद्यपि मानबहादुर नेपालले अझै धेरै प्रगति गर्न सक्ने जिकिर गर्छन् ।

‘अहिले हामीले भौतिक पूर्वाधारको कमीका बावजुद पनि सन्तोषजनक नतिजा ल्याइरहेका छौं । सीमित स्रोत र साधनले यो नतिजा आउँछ भने अर्को स्तरमा फड्को मार्न हामीले विकास कार्य अघि सार्नुपर्छ । भलिबल संघले सरकारसँग समन्वय गरेर अगाडि बढे भलिबलले कोल्टे फेर्नेछ,’ उनले भने । राष्ट्रिय खेल घोषित भएपछि नेपाली भलिबलले छुट्टै गति लिएको उनको बुझाइ छ । ‘राष्ट्रिय खेल घोषित भएसँगै हामीलाई हौसला त मिलेको छ नै, सरकार र अन्य क्षेत्रबाट पनि प्राथमिकतामा पर्ने सम्भावना बढेको छ । नेपालको लोकप्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम बढाउने छ । यसका लागि हामी खेलाडी र हाम्रो संघ सधैं लागिपरेका छौं,’ उनले सुनाए ।

राष्ट्रिय टोली र घरेलु भलिबलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका मानबहादुर भलिबलको पर्यायझैं बनिसकेका छन् । यसैले उनी खेलकुदको प्रतिष्ठित एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । पश्चिम नवलपरासीबाट सुरु उनको प्रभाव पोखरा र राजधानी काठमाडौं हुँदै दक्षिण एसियामै छाइसकेको छ । अब अर्को गन्तव्य कहाँ हुन्छ उनी आफैंलाई थाहा छैन । भन्छन्, ‘नेपाली भलिबलका लागि मेरो मिहिनेत अनवरत रहनेछ ।’

प्रकाशित : वैशाख १८, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?