३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सलाहले तोडेको सांस्कृतिक अवरोध

‘सलाहको उदय समाजका लागि विशेष छ । अचेल सबै प्रिमियर लिग हेर्छन् । सामाजिक सञ्जालमा उनका तस्बिर खुबै छाउने गरेको छ ।’
रोरी स्मिथ

लिभरपुल — मोहम्मद सलाहले जे गर्छन्, त्यो अपेक्षितजस्तै हुन थालेको छ । इजिप्टका यी खेलाडीको गोलपछि लिभरपुल फुटबल क्लबको स्टेडियम खुसीले जुरुक्क उठ्ने गर्छ । जुन दर्शकदीर्घा नजिक छन्, त्यसैतिर जान्छन् । हात फैलाउँछन् । उभिएर दर्शकको अभिवादन स्विर्काछन् ।

सलाहले तोडेको सांस्कृतिक अवरोध

एकपल्ट साथी खेलाडीले उनलाई के बढाइदिन सकिन्छ, उनी विस्तारै मैदानको बीच भागतिर जान्छन् । ‘त्यसपछि एकक्षणका लागि सबै चुपचाप हुन्छन्,’ लिभरपुल समर्थकका लागि ‘एनफिल्ड र्‍याप पोडकास्ट’ चलाइरहेका निल एटकिन्सन भन्छन् ।

सलाहले आकाशतर्फ हात फैलाउँछन् र घुँडा टेकेर प्रार्थना गर्छन् । इस्लामप्रति गहिरो आस्थाको प्रतीक हो यो । यति समयका लागि दर्शक केही शान्त हुन्छन् । जति बेला सलाह उठ्छन्, फेरि उही खुसीयालीको आवाज सुनिन्छ । सलाह यस सिजनको युरोपेली फुटबलका नायक हुन् । उनले लिभरपुलमा पहिलो सिजनमात्र बिताइरहेका छन्, तर यिनै खेलाडीले ४९ खेलमा ४३ गोल गरिसकेका छन् । उनकै खेल मदतले लिभरपुल दशकयता च्याम्पियन्स लिग फाइनलमा पुगेको हो ।

उनी अरु खेलाडी र फुटबल लेखक दुवैको रोजाइमा ‘वर्ष खेलाडी’ पनि घोषित भइसकेका छन् । उनको धार्मिक आस्था र यसको सावर्जनिक प्रदर्शनले खासमा सामाजिक र सांस्कृतिक दुवै अर्थमा विशेष महत्त्व राख्छ । अहिले बेलायतमा इस्लामविरुद्ध बितृष्णा छ । गैरकानुनी रूपमा प्रवेश गरेका आप्रवासीका लागि सरकारले कडाभन्दा कडा नियम बनाइरहेको छ । तर यिनै उत्तर अफ्रिका र मुस्लिमलाई बेलायतमा स्विकार मात्र गरिएको छैन, आदर पनि गरिएको छ ।


‘सलाह त्यस्ता व्यक्ति हुन्, जसलाई इस्लामप्रति गहिरो आस्था छ । त्यसैअनुसार सद्भावको व्यवहार पनि गर्छ,’ मकदाद भेर्सी भन्छन्, ‘उनी लोकप्रिय छन्, लिभरपुल टिमका नायक नै हुन् । विशेषत: लिभरपुलमा उनले सकारात्मक सन्देश दिएका छन् सबैका लागि । इस्लामविरुद्धको बितृष्णाविरुद्ध उनी समाधान त होइनन्, तर उनले यसका लागि विशेष भूमिका भने खेल्न सक्छन् ।’ भेर्सी बेलायतको मुस्लिम काउन्सिलका सहायक महासचिव हुन् ।


इजिप्टमा पनि यी २५ वर्षीय सलाहलाई उत्तिकै ठूलो नायक मानिएको छ । पछिल्लो अक्टोबरमा उनले गरेको अन्तिम मिनेटको पेनाल्टी गोलले नै इजिप्ट विश्वकपमा छानिएको थियो, सन् १९९० यता पहिलोपल्ट । खेलपछि उनलाई इजिप्टको अलेक्जान्डर सहरमा रहेको रंगशालामा दर्शकले काँधमा बोकेर चारैतर्फ घुमाए । कायरोका धेरै भित्तामा उनका चित्रहरू छन् । यसमध्ये केही त कायरो आउने पयर्टकका लागि आकर्षणको केन्द्र पनि भएको छ ।


रमादानमा दिइने उपहारमा पनि उनको तस्बिर हुन थालेको छ । मार्चमा भएको देशको राष्ट्रपतीय चुनावमा उनी सिधा सहभागी त भएनन्, तर आफ्नो बलियो छाप र प्रभाव छाडे । इजिप्टतिर प्रिमियर लिग र अरु युरोपेली लिग फुटबल खासै लोकप्रिय छ । अचेल यो उत्कर्षमा छ । लिभरपुलका खेल हुनुपर्छ, कायरोका कफीसप र शिशाबारमा हजारौं फुटबल प्रशंसकको घुइँचो लाग्छ । ‘सलाहले त्यो काम गरेका छन्, जुन यसअघि कसैले गर्न सकेका थिएनन्,’ अहमद अट्टा भन्छन् । उनी फुटबल विश्लेषक हुन् । ‘सलाहको उदय समाजका लागि विशेष छ । अचेल सबै प्रिमियर लिग हेर्छन् । सामाजिक सञ्जालमा उनका तस्बिर खुबै छाउने गरेको छ,’ उनी थप्छन् ।


सलाहको लोकप्रियता उनले मैदानमा गरेको प्रदर्शनले मात्र सम्भव भएको होइन । ‘उनले इजिप्टका सामाजिक संस्थाहरूलाई लगातार आर्थिक सहयोग गरिरहेका छन् । उनको गाउँका लागि त उनले खुलेरै सहयोग गरेका छन् । त्यसैले पनि उनलाई सम्मान गर्ने धेरै भए,’ सइद इलसिन्सी भन्छन् ।

इलसिन्सीले त हो सानोमा सलाहको प्रतिभालाई पहिलोपल्ट चिनेको । जति बेला उनी नाग्रीमा खेल्ने गर्थे । सलाहले नाग्रीका अस्पतालका लागि चिकित्सकीय उपकरण सहयोग गरेका छन् । उनले सार्वजनिक खेलकुद केन्द्र, विद्यालयको पुनर्निर्माणमा पनि सहयोग गरेका छन् । पछिल्लोपल्ट सरकारले लागूपदार्थ सेवनविरुद्ध चलाएको अभियानमा पनि उनी सहभागी भए । नतिजा, धेरैभन्दा धेरै कुलतमा लागेकाहरू उपचारका लागि अगाडि आए ।


सलाहले प्रमाणित गरेका छन्, आफ्नो घार्मिक आस्था लुकाउनुपर्दैन । ‘यो इस्लाममा आस्था राख्नेका लागि एकप्रकारले जित हो,’ अट्टा थप्छन् । पछिल्ला केही तथ्यांकले देखाएको छ, बेलायतमा इस्लामविरुद्ध घृणाका हिंसा बढेको छ । विशेषत: पेरिस, लन्डन र म्यानचेस्टरमा भएका आतंककारी आक्रमणपछि । लिभरपुलभित्र पनि इस्लामप्रति घृणाको समस्या नै नभएको भने होइन । तर एकप्रकारले लिभरपुल अरु धर्म र आप्रवासीप्रति उदार सहर हो ।

खासमा लिभरपुल सहर नै विशेष छ । सहरका धेरैले अझै पनि ‘द सन’ पढ्दैनन् । बहिष्कार जस्तै गर्छन्, किनभने यसले सन् १९८९ को हिल्सबर्ग दुर्घटनाका बेला गलत समाचार छापेको थियो । त्यसै दुर्घटनामा लिभरपुलले ९६ समर्थक गुमाएको थियो । सलाहले लिभरपुलको यस विशेषतालाई अझ सहज बनाएका छन् । अचेल उनको तस्बिर अंकित झण्डा बोलेका लिभरपुल समर्थक जताततै देखिन्छन् । लिभरपुल सहरमा दुई क्लब छन्, लिभरपुलसँगै एभरटन ।

एभरटनका समर्थक पनि सलाहको प्रशंसा गर्न कन्ज्युस्याईं गर्दैनन् । फेरि लिभरपुलको सांगीतिक विरासत पनि उच्च छ । किनभने यो बिल्टलको सहर पनि त हो । ‘सलाहले यसै सहरको प्रख्यात फुटबल क्लबको जर्सी लगाएर सबैको मन जितेका छन् र नायक भएका छन् । उनी प्रत्येक लिभरपुल समर्थकको मनमा छन्,’ लिभरपुल समर्थक क्लबका जेम्स म्याककेन भन्छन् । त्यसमाथि लिभरपुलको सडक व्यापारी अली अदेन भन्छन्, ‘सबै मुस्लिम पनि उनीप्रति गर्वित छन् ।’

– न्युयोर्क टाइम्स

प्रकाशित : वैशाख २२, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?