शेर्पाको नेतृत्वमा एन्फा

राजु घिसिङ

काठमाडौँ — नेपाली फुटबलमा शुद्धीकरण अभियानको नेतृत्व गर्दा ५ वर्षयता विद्रोहीको पहिचान बनाएका कर्माछिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् ।

शेर्पाको नेतृत्वमा एन्फा

उनी शनिबार सम्पन्न १६ औं साधारणसभामा एकलौटी रूपमा मणि कुँवरलाई ६३–१२ मतले पन्छाउँदै एन्फा अध्यक्ष चुनिएका हुन् । शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले १७ सदस्यीय कार्यसमितिमा ‘क्लिन स्वीप’ नै गर्‍यो ।

पछिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष कुँवरले निर्वाचनको एक दिनअघि चुनावमा सहभागी नहुने घोषणा गरे पनि उम्मेदवारको अन्तिम नामावली प्रकासित भइसकेकाले त्यो अर्थहीन रह्यो । पूर्व उपाध्यक्षसमेत रहेका शेर्पाले ६३ मत पाए भने संस्थापन पक्षका उम्मेदवार कुँवरको पक्षमा १२ मत रह्यो । कुँवरसँगै उनको प्यानलबाट उपाध्यक्षको उम्मेदवार रहेका गणेश चन्द पनि चुनावमा सहभागी भएनन् । तर चन्दले पनि ५ मत पाए । कञ्चनपुरका मतदाता चन्द
अनुपस्थित रहेपछि खसेको ७६ मतमध्ये अध्यक्षमा १ मत बदर भयो ।

शेर्पा पछिल्लो समय एन्फाका पूर्व अध्यक्ष गणेश थापाको कडा विरोधीका रूपमा उभिए । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको अभियोगमा थापामाथि १० वर्षको प्रतिबन्ध लगाएपछि कात्तिक २०७३ मा भएको एन्फा अध्यक्षको चुनावमा थापानिकट नरेन्द्रलाल श्रेष्ठसँग उनी ५ मतले पराजित भएका थिए । उनै थापासँग श्रेष्ठको सम्बन्ध चिसिएपछि मात्र १६ औं साधारणसभा सम्भव भएको थियो । यसमा शेर्पाले बाजी मारेपछि नेपाली फुटबलमा गणेश थापाको २३ वर्षे युग पनि समाप्त भयो ।

कुँवर र चन्द साधारणसभामा अनुपस्थित रहे पनि कार्यक्रमअघि भने हल परिसरमै थिए । गणेश थापाका सालो रहेका कुँवरले मञ्चबाट आफ्नो नाम लेखिएको कागज पनि हटाउन लगाएका थिए । कुँवर प्यानलका कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् । शुद्धीकरण अभियानमा सुरुबाटै शेर्पालाई साथ दिएका पंकजविक्रम नेम्वाङसहित पूर्वप्रशिक्षक कृष्ण थापा, राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमान सिंह र वीरबहादुर खड्का उपाध्यक्ष निर्वाचत भए । त्यसमध्ये नेम्वाङले सर्वाधिक ६१ प्राप्त गरे ।

महिला सदस्यमा पेमा डोमा लामा यसअघि नै निर्विरोध भइन् भने निर्वाचित ११ सदस्यमध्ये प्लानिङ ब्वाइज क्लबका अध्यक्ष दावा लामाले ५६ मत प्राप्त गरे । उनीसहित दीर्घबहादुर (कुमार) केसी (रूपन्देही), दिनेश व्यन्जनकार (च्यासल), पूर्णमान चित्रकार (नुवाकोट), विजय घले (मनाङ मस्र्याङ्दी), निरोज खड्गी (इलाम), किरण राई (उदयपुर), मधुसुदन उपाध्याय (बाँसबारी), प्रदेशसिंह राठौर (बाँके), रत्नकुमार श्रेष्ठ (तनहुँ) र रवीन्द्रनाथ श्रेष्ठ (काभ्रे) सदस्यमा चुनिए ।

उपाध्यक्षद्वय कृष्ण थापा र उपेन्द्रमान, सदस्यहरू दावा, निरोज, कुमार, विजय, किरण, मधुसुदन, रवीन्द्र र पेमा पहिलोपल्ट कार्यसमितिमा प्रवेश गरेका हुन् । उनीहरूको कार्यकाल चारवर्षको हुनेछ । तीनपल्ट स्थगित र अदालती प्रक्रिया पार गर्दै यसपालिको निर्वाचन सम्पन्न भएको हो ।

अखिल नेपाल फुटबल संघको शनिबार सम्पन्न साधारणसभाबाट निर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पासहित पदाधिकारी ।

लिग र नीतिमा जोड
‘नेपाली फुटबलमा जुन कुरा उठाएका थियौं, त्यसको पक्षमा साथीहरूले मतदान गर्नुभएको छ,’ नेपाली फुटबलको सर्वोच्च पदमा निर्वाचित भएपछि कर्माछिरिङ शेर्पाले भने, ‘नेपाली फुटबल के हुन्छ भन्ने सबैमा कौतुहल थियो । निर्वाचन हुन्छ कि हुन्न भन्ने वातावरण थियो । यसलाई चिर्न फिफा र एएफसीले धेरै सहयोग गरे । विशिष्ट परिस्थितिका बाबजुद पनि निवर्तमान अध्यक्ष नरेन्द्र दाइ र महासचिव धिरेन्द्र प्रधानले सुझबुझसाथ ढिलै भए पनि एन्फालाई निकास दिनुभएको छ । राखेप, मन्त्रालयदेखि राष्ट्रिय पार्टीका नेताहरूले गरेको सहयोगलाई पनि नयाँ कार्यसमितिको तर्फबाट धन्यवाद ।’

नेपाली फुटबलमा धेरै काम गर्नुपर्ने अवस्था भएको उल्लेख गर्दै उनले भने, ‘प्रजातान्त्रिक प्रतिस्पर्धाका रूपमा चुनाव लडेका हौं, यसलाई ९० मिनेटको गेमजस्तै सामान्य रूपमा लिनुपर्छ । निर्वाचनमा पराजित साथीहरूलाई पनि समेटेर काम गर्नुपर्ने नितान्त आवश्यक छ । अब सबैलाई समेटेर एन्फालाई अगाडि बढाउने काम गर्छौं ।’

शेर्पाले नेपाली फुटबललाई लिएर शिर झुकाउने कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘खेलाडीको शिर झुक्ने काम गर्दिनँ ।

फ्यानको पनि शिर झुक्ने काम गर्दिनँ । फुटबलको विकासका लागि दिनरात खट्ने प्रतिबद्धता जाहेर गर्दछु । यसमा सिंगो टिम प्रतिबद्ध छ ।’ वचन दिनेभन्दा कामप्रति जोड दिने उल्लेख गर्दै उनले थपे, ‘सोमबार हुने कार्यसमिति बैठकले लिग सञ्चालनलगायत केही महत्त्वपूर्ण घोषणा गर्नेछ । हामी तीन महिना घरको काम नभनी सक्रिय भएर नीतिगत रूपमा एन्फालाई प्रस्ट पार्नेछौं । किनभने एन्फालाई अगाडि बढाउन धेरै कानुन जरुरी छ । आर्थिक नियमावली छैन, हामी बनाउँछौं । कर्मचारी र खेलाडी दर्ता नियमावली पनि बनाउने छौं । अन्य कार्यविधि पनि तयार गर्नेछौं ।’

२०७१–७२ को राष्ट्रिय लिगयता एन्फाले माथिल्लो श्रेणीको प्रतियोगिता सञ्चालन नगर्दा सयौं खेलाडी बेरोजगमार भएको अवस्थामा शेर्पाले भने, ‘लिग सञ्चालन गरेर खेलाडीलाई बाँच्ने आधार तयार गर्नेछौं । उपचार गर्न नसकेर खेलाडी पलायन हुने अवस्थाबाट मुक्त गर्न राष्ट्रिय खेलाडीलाई बिमा व्यवस्था गर्नेछौं । प्रशिक्षकलाई पनि फुटबल सिकाएर अनि रेफ्रीलाई खेल खेलाएर बाँच्नसक्ने वातावरण तयार गर्नेछौं ।’

गणेश थापाको एकाधिकार तोड्न संघर्ष गरेका शेर्पा भने, ‘अब हामी पछाडि हेर्दैनौं, अगाडि बढ्ने बाहेक गर्दैनौं । हामीसँग पछाडि फर्केर बिताउने समय छैन । एक भएर अघि बढ्नेछौं । फुटबलमा परिवर्तन मात्र होइन, विकास हुनुपर्छ । लिग सञ्चालनसँगै यसै वर्ष ४५ जिल्लामै ग्रासरुटका कार्यक्रम गर्नेछौं । बोलेको कुरा व्यवस्थित ढंगले सञ्चालन गर्नेछौं ।’

थापाको बधाई
भ्रष्टाचारको अभियोगमा फुटबल गतिविधिमा प्रतिबन्ध लगाइएका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले फेसबुकमार्फत् एन्फाको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । उनले कार्यकाल सफलताको शुभकामना दिँदै फुटबल विकासको आशा पनि गरेका छन् ।

फुटबलमा कर्माछिरिङ शेर्पा
२०५७ असोज २७
राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा एन्फा अध्यक्ष गणेश थापालाई बर्खास्त गरी गीता राणाको नेतृत्वमा तदर्थ कमिटी गठन । त्यसमा कर्माछिरिङ शेर्पा उपाध्यक्ष ।
२०५८ कात्तिक २९
राखेप उपाध्यक्ष, राष्ट्रिय संघ निर्वाचन समितिको संयोजक, ओलम्पिक कमिटीका अध्यक्षको उपस्थितिमा गीता राणा एन्फा अध्यक्ष निर्वाचित । कर्माछिरिङ शेर्पा वरिष्ठ उपाध्यक्ष । दुई एन्फा अस्तित्वमा ।
२०५९ साउन २३
कार्यसमितिको बहुमत सदस्यको अविश्वास प्रस्तावमार्फत् गीता राणालाई हटाएर राखेप समर्थित एन्फाको कार्यवाहक अध्यक्षमा कर्माछिरिङ शेर्पा । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट गीता राणा पदमा कायमै । दुई एन्फा यथावत् ।
२०५९ मंसिर २
फिफाबाट मान्यता पाएको गणेश थापालाई कर्माछिरिङ नेतृत्वको एन्फाको साथ । हातेमाले गर्दै गणेश थापा ताला फोडेर एन्फा कम्प्लेक्स फर्किए ।
२०५९ मंसिर ४
शिक्षा तथा खेलकुद सहायकमन्त्री रवीन्द्र खनालको उपस्थितिमा एन्फा एकीकरण भएको भन्दै पत्रकार सम्मेलन । गणेश थापाको नेतृत्वमा कर्माछिरिङ वरिष्ठ उपाध्यक्ष । दुई एन्फा कायमै ।
२०६० असोज ६
राखेप र फिफाको मान्यता नपाएपछि गीता राणाद्वारा सर्वोच्च अदालतमा दायर मुद्दा तामेलीमा । थापाको नेतृत्वको एन्फामात्र अस्तित्वमा ।
२०६२
याक एन्ड यति होटलमा भएको साधारणसभामार्फत् गणेश थापा चौथोपल्ट एन्फा अध्यक्षमा निर्वाचित । चार उपाध्यक्षमध्ये एकमा कर्माछिरिङ निर्विरोध ।
२०६२ फागुन
कर्माछिरिङको नेतृत्वमा हिमालयन शेर्पा क्लब स्थापना ।
२०६६ पुस
एन्फा उपाध्यक्षमा कर्माछिरिङ निर्विरोध निर्वाचित ।
२०७० कात्तिक ७
उपाध्यक्षमा कर्माछिरिङ फेरि निर्विरोध ।
२०७० चैत २६
सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिए पनि त्यसको तयारी खर्च र पुरस्कार नदिएपछि कर्माछिरिङको नेतृत्वमा हिमालयन शेर्पा, सरस्वती, फ्रेन्ड्स र मछिन्द्र क्लबद्वारा एन्फाको विरोध ।
२०७१ जेठ २६
एन्फा उपाध्यक्ष कर्माछिरिङ, विजयनारायण श्रेष्ठ र सदस्य पंकजविक्रम नेम्वाङद्वारा थापाले अनियमितता गरेको र एकलौटी ढंगले एन्फा चलाएको भन्दै संसदको सार्वजनिक लेखा समिति, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी ।
२०७२ असोज ११
एन्फाबाट शेर्पासहित चारै उजुरीकर्तालाई कार्यसमिति बैठकले लगातार तीन बैठकमा अनुपस्थित भएको भन्दै साधारणसभासम्म निलम्बन । तर बैठकको एजेण्डा नदिएकाले अनुपस्थित भएको उजुरीकर्ताको दाबी ।
२०७३ वैशाख २७
कर्माछिरिङसहित चारै पदाधिकारीलाई बिनाकारण बैठकमा अनुपस्थित नभएको भन्दै फिफाद्वारा १५ दिनभित्र पुनर्बहली गर्न एन्फालाई निर्देशन ।
२०७३ कात्तिक ८
गणेश थापामाथि फिफाको प्रतिबन्धपछि रिक्त रहेको अध्यक्षको निर्वाचनमा कर्माछिरिङ ५ मतले नरेन्द्र श्रेष्ठसँग पराजित । उपाध्यक्ष पदबाट पनि मुक्त ।
२०७५ वैशाख २२
कर्माछिरिङ ६३–१२ मतले मणि कुँवरलाई हराएर एन्फा अध्यक्षमा निर्वाचित ।

मत परिणाम
अध्यक्ष
-कर्माछिरिङ शेर्पा – ६३
मणि कुँवर – १२

उपाध्यक्ष (४)
-पंकजविक्रम नेम्वाङ – ६१
-उपेन्द्रमान सिंह – ५८
-कृष्ण थापा – ५२
-वीरबहादुर खड्का – ३९
विराटजंग शाही – ३३
सुनील राणा – २४
महमद समिउल्लाह – १५
गणेशबहादुर चन्द – ५
किशोर राई – ०

सदस्य (११)
-दावा लामा – ५६
-पूर्णमान चित्रकार – ५५
-दिनेश व्यन्जनकार – ५५
-दीर्घबहादुर केसी – ५५
-विजय घले – ५३
-निरोज खड्गी – ५२
-किरण राई – ५०
-रत्नकुमार श्रेष्ठ – ४८
-मधुसुदन उपाध्याय – ४८
-प्रदेश सिंह राठौर – ४८
-रवीन्द्रनाथ श्रेष्ठ – ४२
लव खत्री – २६
देवेन्द्रमान सिंह बस्नेत – २५
पुरुषोत्तम थापा – २२
दीपक खतिवडा – २२
रमेश रायमाझी – १९
भीमसेन केसी – १९
अनिल मल्ल – १६
सुरेश शाह – १४
प्रवीणकुमार यादव – १४
मानदेव हजारा – १४
बालकुमार साँवा – १२
प्रल्हादप्रसाद साह – ९
राजेन्द्रकुमार श्रेष्ठ – ३
अशोक विष्ट – १
महेन्द्रप्रकाश गिरी – १
प्रमोद हमाल – १
मोहनकुमार बस्नेत – ०
सन्तोषभक्त राजलवट – ०
महिला सदस्य
-पेमा डोमा लामा (निर्विरोध)

प्रकाशित : वैशाख २३, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?