एन्फा बैठक: लिग घोषणा १० दिनभित्र

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिको पहिलो बैठकले सोमबार पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्माको संयोजकत्वमा लिग समिति निर्माण गर्दै १० दिनभित्र लिगको मिति र संरचना घोषणा गर्ने निर्णय गरेको छ ।

एन्फा बैठक: लिग घोषणा १० दिनभित्र

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकसमेत रहेका शर्माको कमिटीलाई ‘सम्बन्धित पक्षसँग सुझावको आधारमा १० दिनभित्र लिगको मिति घोषणा गर्ने र लिगको ढाँचा निर्माण गर्ने अधिकार समितिलाई दिने निर्णय’ गरिएको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसले घरेलु फुटबलको सर्वोच्च प्रतियोगितालाई फेरि ब्युँताउने ढोका खोलेको छ । राजधानीको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० यता भएको छैन भने राष्ट्रिय लिग २०७१/७२ मा मात्र आयोजना गरिएको थियो । त्यसैले लिग नहुँदा तीन सय बढी खेलाडी बेरोजगार भएसँगै खेलाडी पलायन भइरहेको छ ।

‘फुटबलको आधार स्तम्भ लिग हो र यसैले देशको फुटबलको स्तर देखाउँछ,’ लिग समितिको संयोजकमा मनोनयन भएपछि शर्माले भने, ‘अब तुरुन्तै सरोकालवालासँग छलफल गरी आयोजनाको तयारी गरेर व्यवस्थित लिग सञ्चालनका लागि अगाडि बढ्नेछौं ।’ ललित स्मृति यू–१८ प्रतियोगिता २९ जेठदेखि सञ्चालन गर्ने निर्णय पनि बैठकले गर्‍यो । कोकाकोला कप प्रतियोगिता सञ्चालनको जिम्मेवारी केन्द्रीय सदस्य दावा लामालाई दिइएको छ । यस प्रतियोगिता सञ्चालनका लागि जिल्लालाई ५०–५० हजार रुपैयाँ दिने निर्णय पनि गरियो ।

महासचिवमा इन्द्रमान
एन्फाको कार्यसमिति बैठकले पूर्वसीईओ इन्द्रमान तुलाधरलाई महासचिव नियुक्त गरेको छ । गणेश थापा र नरेन्द्र श्रेष्ठ नेतृत्वमा छँदा सीईओ रहेका उनी राजीनामा दिएर ‘क्याम्प’ परिवर्तन गर्दै चुनावअघि कर्माछिरिङ शेर्पाको समूहमा पुगेका थिए । उनी निर्वाचनमा परिवर्तन पक्षधरको सचिवालय प्रमुख रहेका थिए । एन्फामा क्लबहरूको अधिकार माग गर्दै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गरिएको नेपाल फुटबल संघमा तुलाधर महासचिव थिए । २०६३–६५ को आन्दोलनबाट उचाइ लिएका उनी दुई संघको सम्झौतापछि एन्फाको सीईओ भएका थिए । उनी ‘ए’ डिभिजन क्लब संकटामा निरन्तर तेस्रो कार्यकाल अध्यक्ष छन् ।

त्यस्तै, बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष र दीपक खातीलाई लेखापरीक्षण र अनुपालन समितिको संयोजक बनाउने निर्णय पनि गर्‍यो । जोशी यसअघि सह–कोषाध्यक्ष रहेका थिए भने धनुषा जिल्ला फुटबल संघका अध्यक्ष खाती पूर्वकेन्द्रीय सदस्य हुन् । केन्द्रीय सदस्य किरण राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । उनलाई एन्फाले वितरण गर्ने पुरस्कारका लागि छनोट समितिको संयोजक पनि बनाएको छ । नवीन पाण्डेलाई एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिको संयोजक मनोनयन गरियो ।

बैठकले तासी घलेलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्षमा मनोनयन गर्‍यो । मनाङ मस्र्याङ्दी क्लबका संस्थापक अध्यक्ष घले अघिल्लो कार्यसमितिमा एन्फाको मानार्थ अध्यक्ष थिए भने राई निवर्तमान उपाध्यक्ष हुन् । सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीलाई मानार्थ उपाध्यक्ष बनाइएको छ ।

प्रवक्ता किरण राईका अनुसार बैठकले एन्फाको विधान मस्यौदा समिति तथा संघअन्तर्गत विभिन्न समिति, उपसमितिको नियमावली तयार गर्न मस्यौदा समिति गठन गर्ने निर्णय पनि गर्‍यो । त्यसमा आर्थिक, कर्मचारी प्रशासन, जिल्ला र प्रदेश नियमावली तथा महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघको विधान मस्यौदाका लागि समिति निर्माण गर्ने निर्णय गरिएको हो । त्यस्तै, अनुशासन समिति, पुनरावेदन समिति, बजार र शिक्षा विभाग पनि निर्माण गर्ने निर्णय पनि भयो । एन्फाका अध्यक्ष र चार उपाध्यक्ष रहने गरी स्टेयरिङ समिति पनि गठन गरिएको छ । त्यसमा महासचिव, कोषाध्यक्ष र प्रवक्ता पदेन सदस्य रहनेछन् ।

‘मोफसलका प्रतियोगिताहरूलाई स्तर निर्धारण गर्न र नियमन गर्न पनि समिति बनाउने निर्णय पनि गरियो,’ प्रवक्ता राईले भने । बैठकले जिल्ला संघहरूमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष उपेन्द्रमान सिंह संयोजक पनि तोक्यो । उपाध्यक्षहरू कृष्णबहादुर थापालाई प्राविधिक समिति र वीरबहादुर खड्कालाई जिल्ला समन्वय समितिको जिम्मेवारी दिइएको छ । एकेडेमी सञ्चालनको जिम्मेवारी किशोर राईले पाएका छन् । ‘निर्णयहरूलाई मंगलबारदेखि नै कार्यान्वयन प्रक्रियामा लानेछौं,’ प्रवक्ता किरण राईले भने ।

प्रकाशित : वैशाख २५, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?