कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

डीपीएलमा ‘होम एन्ड अवे’ प्रयास

चित्रांग थापा

धनगढी — रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सफलताका साथ सम्पन्न गरेको धनगढी क्रिकेट एकेडेमीले आगामी वर्ष आयोजना हुने उक्त प्रतियोगिताको तेस्रो संस्करण ‘होम एन्ड अवे’ र ‘डे नाइट’ खेलिनेतर्फ प्रयास गरिने जनाएको छ ।

डीपीएलमा ‘होम एन्ड अवे’ प्रयास

आगामी प्रतियोगिता दोस्रो संस्करणभन्दा अझ बढी भव्य र थप प्रविधिहरूको प्रयोगमा जोड दिइने आयोजकहरूले दाबी गरेका छन ।


‘डीपीएल दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ, अब हाम्रो ध्यान आगामी वर्ष आयोजना हुने तेस्रो संस्करणमा केन्द्रित भएको छ,’ मंगलबार धनगढीमा डीपीएल–२ सम्पन्न भएको झन्डै महिना दिनपछि आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमी (डीसीएल) का अध्यक्ष एवम् डीपीएलका प्रमुख योजनाकार सुवास शाहीले भने, ‘दोस्रो संस्करणमा हामीले इ–टिकेटिङ, डिजिटल स्कोरबोर्ड, एएलडी टीभी, रिप्ले र थर्ड अम्पायर सिस्टम प्रयोग गरेका थियौं जुन अत्यन्त सफल रह्यो ।’ उनले प्रायोजक सन्तुष्ट हुनु, ठूलो लगानी संकलनका साथै १ करोड हाराहारीमा खेलाडीहरूले आम्दानी गर्न सक्नु डीपीएल २ सफलताका उदाहरण भएको बताए ।


आयोजकहरूका अनुसार डीपीएल–२ पहिलोको तुलनामा ३ गुणाले बृहत् हुन पुगेको छ । ‘डीपीएल–२ को सफलताले ड्रिम फाप्लाअन्तर्गत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि स्थानीयवासी र खेलकुदप्रेमीबाट प्रशस्त दबाब सिर्जना भएको छ,’ शाहीले भने, ‘हामीले अन्तर्राष्ट्रिय रंगशालाको मोडेल पेस गरिसकेका छौं, सन् २०२० भित्र रंगशाला निर्माण गर्ने हाम्रो लक्ष्य हो सरकारले यसतर्फ ध्यान दिनेछ ।’ उनले क्रिकेटको अपार क्रेज उत्पन्न भइरहेको अहिलेको अवस्थामा ‘ड्रिम फाप्ला’ पूरा गर्न सरकारले ढिलासुस्ती गरेमा आन्दोलन पनि सुरु हुन सक्ने चेतावनी दिए ।


रुस्लान डीपीएल–२ ले आईसीसीबाट मान्यता पाउनु धनगढीवासीका लागि अभूतपूर्व ऐतिहासिक घटना भएको उल्लेख गर्दै शाहीले रुस्लान डीपीएल–२ नेपालमा सर्वाधिक हेरिएको खेल भएको दाबी गरे । ‘हामीले डीपीएलमा पूर्वदेखि पश्चिमसम्मका सहर आधारित टिम बनाएर देशमा क्रिकेटको माहोल बनाउन खोजेका हौं । क्रिकेटमा बढीभन्दा बढी क्षेत्रका जनताको सहभागिता खोजेका हौं । क्रिकेटमा देशलाई जोड्न खोजेका थियौं, क्रिकेटको माहोल बन्यो । यसरी क्रिकेट देशभर तातेको देख्दा हाम्रो प्रयास सफल भएको महसुस भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।


डीपीएलले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भएको आयोजकहरूको ठहर छ । ‘प्रतियोगिता अवधिभर धनगढीमा ठूलो संख्यामा आन्तरिक पर्यटकहरूको आगमन भइरह्यो, डीपीएल हेर्न नेपालका विभिन्न सहर र सीमावर्ती भारतीय सहरबाट समेत खेलकुदप्रेमी धनगढी भित्रिएको प्रसंग पनि विज्ञप्तिमा उल्लेख छ । ‘चैत १७ गते सुरु भई ३० गते सम्पन्न भएको खेलअवधिभर धनगढीमा करिब १० करोडको आर्थिक कारोबार भएको अध्यक्ष शाहीले दाबी गरे ।


‘प्रतियोगिता सञ्चालन र व्यवस्थापनमा ३ करोड १२ लाखभन्दा बढी खर्च भएको छ,’ डीपीएल–२ को आम्दानी र खर्चबारे जानकारी दिंदै अध्यक्ष शाहीले भने, ‘यो सबै मुख्य प्रायोजक, सहप्रायोजक, टिकट बिक्री, टिम प्रवेश शुल्कलगायतबाट प्राप्त भएको हो ।’ उनले प्रतियोगितामा डीसीएलको योगदान करिब ७ लाख रहेको जानकारी दिए । मुख्य प्रायोजकबाट नगद र वस्तुमा गरी ७० लाख प्राप्त भएको पनि उनले बताए । सहप्रायोजकहरूबाट नगद ४४ लाख ३५ हजार २५० र वस्तुमा गरी २९ लाख ७८ हजार ६५ प्राप्त भएको शाहीले बताए ।


खर्चतर्फ सबैभन्दा बढी खेलमैदान तयार गर्न र दर्शक बस्ने प्याराफिट निर्माण भएको देखिन्छ । खेलमैदानमा १९ लाख ७१ हजार ३९५ तथा प्याराफिटमा १० लाख ५० हजार खर्च भएको प्रेस विज्ञप्तिमा संलग्न आयव्ययमा उल्लेख छ । ‘प्रतियोगिता आयोजनामा घाटा र नोक्सानभन्दा पनि भव्यताका सञ्चालन हुनु नै मुख्य उपलब्धिका रूपमा लिएका छौं,’ सञ्चारकर्मीहरूको जिज्ञासामा शाहीले भने, ‘प्रतियोगिताले धनगढी संसारभरि चिनिन पुग्यो, हामीलाई योभन्दा पनि ठूला प्रतियोगिता आयोजना गर्ने आँट र अनुभव प्राप्त भयो ।’

प्रकाशित : वैशाख २६, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?