दोस्रो प्रधानमन्त्री कप जेठमा

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री कप क्रिकेटको दोस्रो संस्करण जेठ १३ देखि २९ सम्म आयोजना गर्ने भएको छ । 

दोस्रो प्रधानमन्त्री कप जेठमा

तीन विभागीय टोली र सात प्रदेश टोलीको सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ । नेपालय इन्टरनेसनलको व्यवस्थापनमा हुने प्रतियोगिताको कुल बजेट १ करोड ८० लाख रुपैयाँ रहेको छ । गत संस्करणको फाइनल खेल रद्द हुँदा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्त उपाधि उचालेका थिए ।


प्रादेशिक संरचनामा हुने यो राष्ट्रिय स्तरको पहिलो क्रिकेट प्रतियोगिता हो । राखेपले मुलुक प्रादेशिक संरचनामा प्रवेश गरेसँगै प्रदेशमा रहेका क्षेत्रीय खेलकुद विकास समितिलाई जिम्मेवारी दिएको छ । प्रदेश ३ र ६ मा भने राखेपले बोर्ड सदस्यको संयोजकत्वमा समिति गठन गरेर सम्पूर्ण कार्य संचालन गर्दै आएको छ । प्रतियोगितामा सहभागिता जनाउने प्रादेशिक टोलीको छनोट पनि सोहीअनुसार हुनेछ ।


प्रतियोगिता सञ्चालनमा निजी संस्थालाई समेटा खेल विकासमा सहयोग पुग्ने राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बताए । ‘हामीले गत संस्करणमा काठमाडौं क्रिकेट प्रशिक्षण केन्द्र (केसीटीसी) लाई व्यवस्थापन जिम्मेवारी दिएका थियौं । यसपालि केसीटीसीले चासो नदिएको र नेपालयले राम्रो प्रस्ताव लिएर आएपछि हामीले अगाडि बढ्ने निर्णय लियौं । सरकारी तहभन्दा निजी क्षेत्रबाट प्रायोजकको पहल गर्न सहज हुने कारण पनि हामीले साथ खोजेका हौं,’ उनले भने । सदस्यसचिवले प्रतियोगिता अब वार्षिक रूपमा राजधानी बाहिर हुने र यसले नेपाली क्रिकेट विकासमा ठूलो भूमिका खेल्ने विश्वास लिएको बताए ।


नेपालयका निर्देशक सुवास प्रधानले वान–डे अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएसँगै नेपालले अब घरेलु क्रिकेटमा पनि ५० ओभरको खेललाई प्राथमिकता दिनुपर्ने बताए । ‘नेपालले ओडीआई मान्यता प्राप्त गरेपछि अब कम्तीमा चारवर्ष नेपालले ५० ओभरको क्रिकेटमा ध्यान दिनु जरुरी छ । हाम्रो संस्थाले ५ वर्षदेखि उमेर समूहको क्रिकेटमा विभिन्न प्रतियोगिता गर्दै आएको छ । विद्यालय र कलेज हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा हामीले काम गर्ने मौका पाएका छौं,’ उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका प्रधानले थपे, ‘नेपाली क्रिकेट भविष्य अब घरेलु क्रिकेटमा धेरै निर्भर हुन्छ । खेलाडीले लगातार ५० ओभरको क्रिकेट खेल्न पाए अन्तर्राष्ट्रिय स्तरमा पनि खेल्न सजिलो हुन्छ । प्रदेश स्तरमा पनि यस्तो प्रतियोगितालाई अगाडि बढाउनुपर्छ ।’


सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, नेपाल एपीएफ क्लब, प्रदेश १, प्रदेश २ र प्रदेश ४ छन् । समूह ‘बी’ मा पुलिस, प्रदेश ३, प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् ।


विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले १ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार रुपैयाँ बुझ्नेछन् । यसबाहेक प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित : वैशाख २७, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?