ठूलो अवसर पाएँ : सन्दीप

सुरेशराज न्यौपाने

नयाँदिल्ली — ‘मेरा लागि यो भन्दा ठूलो अवसर अरू हुनै सक्दैन,’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो ‘डेब्यु’ खेलपछि दिएको प्रतिक्रिया हो यो ।

ठूलो अवसर पाएँ : सन्दीप

सन्दीपलाई उनको टिम दिल्ली डेयरडेभिल्सले रोयल च्यालेन्जर बैंग्लोर (आरसीबी) विरुद्ध मैदानमा उतारेको थियो । करिब डेढ महिनाको प्रतीक्षापछि आईपीएलको ४५ औं खेलमा सन्दीपले उक्त अवसर पाएका हुन् ।

यसले उनलाई विश्वकै सबैभन्दा चर्चित र महँगो क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपालीसमेत बनायो । साथै आईपीएलमा खेल्न पाउने सबैभन्दा कम उमेरका विदेशी खेलाडीको सूचीमा उनी दोस्रो नम्बरमा परेका छन् । शनिबारको म्याचका लागि ‘प्लेइङ इलेभन’ को सूचीमा सन्दीपको नाम परेको सार्वजनिक हुनासाथ उनले म्याचमा कतिबेला बलिङ गर्न पाउने हो भन्ने जिज्ञासा र चासो नेपाल र भारत दुवै मुलुकका क्रिकेटप्रेमीमाझ भएको थियो ।

सन्दीपले कति ओभर पाउलान् ? उनले कस्तो बलिङ गर्लान् ? भन्ने कुरालाई चासोका साथ हेरिएको थियो । सबैलाई आश्चर्यमा पार्दै दिल्लीका कप्तान श्रेयस ऐय्यरले बलिङ आक्रमणको सुरुआत गर्ने अवसर पनि सन्दीपलाई नै दिए । यस अर्थमा पनि सन्दीपको पहिलो आईपीएल म्याच उनका लागि त झनै महत्त्वपूर्ण बन्न पुग्यो । कप्तान तथा पूरै टिमले उनीमाथि देखाएको भरोसा र विश्वास कम्ती चुनौतीपूर्ण थिएन । विपक्षी टिमको ब्याटिङ लाइनअप हेर्दा नै नाम चालेका बलरका कारण आङै सिरिङग पार्ने खालको थियो । त्यसमाथि सन्दीप उमेर र अनुभवका हिसाबले पनि काँचै थिए । उनकै टिममा पनि ट्रेन्ट बोल्ट, अमित मिश्राजस्ता विश्वकै धारिला बलर थिए । त्यसैले होला उनलाई कप्तान ऐय्यरले बलिङको सुरुवात गर्न हातमा बल दिएको दृश्य देखेर रंगशालामा भारतीय खेल पत्रकारहरू आफैंमा मुखामुख गर्दै थिए । सँगै उनीहरूको मुहारमा एउटा बेग्लै किसिमको कौतुहलता र आश्चर्यको भाव देखिन्थ्यो ।


सन्दीपका लागि पनि यो जिम्मेवारी कम्ती चुनौतीपूर्ण थिएन । किनकि सन्दीपले बलिङ आक्रमणको सुरुवात गर्न पाएको यो नै पहिलो अवसर थियो । आफूले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङको आक्रमणको नेतृत्व गर्न नपाएको खुलासा गर्दै उनले भने, ‘कुनै पनि अन्तर्राष्ट्रिय म्याचमा अहिलेसम्म बलिङ सुरुआत गर्ने मौका पाएको थिइनँ । यस हिसाबले पनि मेरा लागि झनै ठूलो अवसर थियो । त्यो पनि विश्वका उत्कृष्ट ब्याट्सम्यान भएको आरसीबीजस्तो टिमविरुद्ध । त्यसैले म सुरुदेखि नै निकै उत्साहित थिएँ ।’

सन्दीपको प्रदर्शनलाई लिएर व्यक्त गरिएको आशंका र आश्चर्यलाई उनले उत्कृष्ट बलिङमार्फत नै जवाफ फर्काए । आफूले पाएको अवसरलाई उनले खेर फालेनन् । पहिलो ओभरमा दुई रन खर्चेका सन्दीप दोस्रो स्पेलमा टिमका लागि विकेट लिन सफल भए । त्यो पनि विपक्षी टिमका ओपनिङ ब्याट्सम्यानको विकेट । आफ्नो दोस्रो ओभरको चौथो बलमा उनले आईपीएलको चालु सिजनमा आक्रामक ब्याटिङ गर्दै आएका पार्थिव पटेललाई एलबीडब्लू आउट गरे । जबकि अघिल्लो बलमा पटेलले लामिछानेको बलमा चौका प्रहार गरेका थिए । दिल्लीका लागि सन्दीपको विकेटसँगै कोटला रंगशालामा उपस्थित करिब तीस हजार हजार दर्शक खुसीले झुमेका थिए । ट्रेन्ट बोल्ट, अमित मिश्रा, पृथ्वी शअका साथै कप्तान श्रेयस ऐय्यरले उनलाई बधाई दिएको दृश्य साँच्चिकै हेर्न लायक थियो ।

आरसीबीका कप्तान विराट कोहली र एबी डि भिलियर्सले दिल्लीका बलरहरूलाई मैदानको चारैतिर विस्फोटक प्रहार गरिरहेका थिए । दिल्लीका कप्तान श्रेयसले पुन: एक पटक सन्दीपलाई नै बलिङको जिम्मा दिए । उनले कप्तानलाई निराश पारेनन् । अघिल्लो ओभरमा १३ रन हिर्काएका कोहली र डी भिलियर्सको जोडी सन्दीपको व्यक्तिगत तेस्रो ओभरमा आठ रनमात्र बनाउन सफल भयो । चौथो ओभरमा भने सन्दीपले दस रन खर्चेका थिए । यी दुई विस्फोटक ब्याट्सम्यानलाई पनि सन्दीपले नियन्त्रणमा राख्न सफल भए । जबकि म्याचमा कोहली र डी भिलियर्सको स्ट्राइक रेट क्रमश: १७५ र १९४ थियो । तर पनि समग्रमा उनले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर २५ रन मात्र दिए । जुन दिल्लीका लागि म्याचकै उत्कृष्ट प्रदर्शन थियो ।

डेब्यु खेलको प्रदर्शन कस्तो रह्यो त भन्ने प्रश्नमा ‘मेरो ध्यान बलिङ राम्रो गर्नुपर्छ भन्नेमा मात्रै केन्द्रित थियो । त्यसैअनुसारले अभ्यास र तयारी पनि गरेको थिएँ । पहिलो ओभरमा केही राम्रो गुगली फाल्न सफल भएँ । समग्रमा मेरा लागि निकै राम्रो डेब्यु भयो,’ उनले थपे, ‘मेरो मुख्य ध्यान नै लाइन एन्ड लेन्थ ठिक हुनुपर्छ भन्ने थियो त्यसमा म पहिलो ओभरमै सफल भएँ ।’ म्याचमा देखाएको उत्कृष्ट नतिजाका कारण पोस्ट म्याच कन्फ्रेन्समा आफ्नो टिमका तर्फबाट पत्रकारको जवाफ दिने अवसर पनि सन्दीपले नै पाए । जुन आफैंमा ठूलो अवसर थियो । पत्रकार सम्मेलनमा सन्दीपको आत्मविश्वास पनि हेर्न लायककै थियो ।

१७ वर्षीय यी नेपाली किशोरले भारतीय पत्रकारका करिब एक दर्जन तिखा प्रश्नको जवाफ पनि सटीक ढंगले दिए । पत्रकारका अधिकांश प्रश्न डेढ महिना पर्खाइ, निराशा र मुलुकको अपेक्षालगायत विषयमा केन्द्रित थियो । जवाफबाट पनि ती सबै प्रश्नलाई उनले सहज ढंगले लिएको देखिन्थ्यो । डेढ महिनाको पर्खाइले निराश त बनाए भन्ने प्रश्नमा उनको सटीक जवाफ थियो, ‘डेढ महिनाको समयमा पनि मैले धेरै कुरा सिक्ने मौका पाएको छु । कप्तान, प्रशिक्षक र अन्य साथीबाट । यस हिसाबले पनि म निकै भाग्यमानी ठान्छु । यस्तो मौका सजिलै पाइने कुरा होइन । र, यसले मलाई अझै धेरै अगाडि जानु छ र त्यसका लागि अझ धेरै मिहिनेत गर्नुपर्छ भन्ने पनि सिकाएको छ ।’

म्याच सकिनासाथ सन्दीप र उनलाई आईपीएलसम्म डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका पूर्वअस्ट्रेलियन क्रिकेटर माइकल क्लार्कबीच मैदानको एउटा छेउमा चलेको करिब दस मिनेटको भलाकुसारीको दृश्य आफैंमा रोचक थियो । क्लार्कसँग के कुराकानी भयो भन्ने प्रश्नमा, ‘विगत एक डेढ महिनादेखि नै उहाँसँग नियमित सम्पर्क भइरहेको र आजको खेलकै बारेमा उहाँले जिज्ञासा राखेको, राम्रा सुझाव पनि दिएको,’ उनले जवाफ दिए । क्लार्क आईपीएल म्याचको प्रत्यक्ष प्रसारणका बेला कमेन्ट्री गर्दै आएका छन् । त्यसो त सन्दीपलाई डीडीले आरसीबीविरुद्ध मैदानमा उतार्ने खबर सार्वजनिक भएसँगै क्लार्कले टवीटमार्फत नै सन्दीपलाई बधाईं दिँदै आफ्ना लागि गर्व गर्ने क्षण भएको जनाएका थिए ।

आफूले पाएको अवसरबाट नेपाली खेलाडीलाई पनि मिहिनेत र लगनशील भएर खेल्न प्रेरित गर्ने उनको विश्वास छ । सन्दीपले भने, ‘नेपालमा थुपै प्रतिभाशाली खेलाडी छन् । त्यसैले सकारात्मक सोच र खेलमा ध्यान केन्द्रित गर्दै गए सबैले यस्तो अवसर पाउनेछन् । मुख्य कुरा कति मिहिनेत गर्न सकिन्छ भन्ने हो । आफैंप्रति इमान्दार र खेलमा दत्तचित्त हुने हो भने सबै अवसरको ढोका खुल्नेछन् । मैले पाएको जस्तो अवसर हाम्रा अरू दाजुभाइले पनि अवश्य पाउनेछन् ।’

सन्दीपको टिम पराजित भए पनि शनिबारको खेलमा उनले पाएको अवसर र देखाएको प्रतिभाले नेपाली क्रिकेटलाई एउटा बेग्लै मुकाममा पुर्‍याएको छ । साथै उनले नेपाली क्रिकेटका प्रतिभाका लागि पनि सम्भावनाको ढोकासमेत खोलिदिएका छन् । सन्दीपले पहिल्याएको यो अवसरलाई कसरी सदुपयोग गरिन्छ त्यो त नेपाल सरकार र जिम्मेवार निकायका आगामी कदमबाट प्रस्ट हुने नै छ । यो अवसरलाई नेपाली क्रिकेट र क्रिकेटका लागि निकै महत्त्वपूर्ण र त्यसलाई खेर जान दिन नहुने भारतीय अंग्रेजी दैनिक द टेलिग्राफका वरिष्ठ खेल पत्रकार जयदीप बसुको समेत निष्कर्ष छ । ‘यति कलिलो उमेरमा यस्तो अवसर पाउनु आफंैमा दुर्लभ हो । आजको दिन सन्दीपका लागि मात्र होइन पूरै नेपालको क्रिकेटका लागि ऐतिहासिक दिन हो । यो अवसरलाई कसरी सदुपयोग गरिन्छ त्यसैमा नेपाली क्रिकेटको भविष्य टिक्नेछ,’ करिब तीन दशकदेखि खेल पत्रकारिता गर्दै आएका बसुले भने ।

‘मेरा लागि परीक्षाको घडी थियो’


—सन्दीप लामिछाने

कस्तो रह्यो आईपीएलको पहिलो खेलको अनुभव ?
मेरा लागि निकै राम्रो अवसर थियो, निकै खुसी लागिरहेको छ ।

आफ्नो प्रदर्शनबाट कत्तिको सन्तुष्ट भइयो ?
विराट कोहली र एबी डे भिलियर्सजस्ता ब्याट्सम्यानका सामु बलिङ गर्नु कम चुनौतीपूर्ण थिएन । त्यो आफैंमा एउटा परीक्षा थियो । तर, आफूले उत्कृष्ट दिने प्रयास गरेँ । हुन त अझै सुधार गर्नुपर्नेछ ।

आईपीएलको सहभागिताबाट नेपाली क्रिकेट कसरी लाभान्वित होला ?
मैले राम्रो खेल्न सकेँ भने अरू खेलाडीलाई पनि सहज हुन्छ । लुकेका प्रतिभालाई बाटो खुल्छ । ती प्रतिभा क्रमश: निखारिंदै जानेछन् । यो भन्दा ठूलो उपहार मेरोतर्फबाट के हुन सक्ला ।

अहिलेको अवस्थामा नेपाली क्रिकेटमा के–कस्तो सुधारको खाँचो छ ?
नेपाल क्रिकेटसँग जोडिएका क्यानलगायत सबै निकाय गम्भीर हुनुपर्छ । सबै जिम्मेवार बन्नुपर्छ । अब त नेपालले पनि वान–डे मान्यता पाइसकेको छ ।

म्याचपछि माइकल क्लार्कसँग लामै भलाकुसारी गरेको पाइयो ? के–के कुराकानी भए ?
(हाँस्दै...) पुुराना कुरा सेयर गरियो । उहाँले म्याचको अनुभव कस्तो रह्यो भनेर सोध्नुभयो । मैले आफ्नो अनुभव सुनाएँ ।

आगामी खेलमा पनि मौका पाउने सम्भावना छ कि छैन ?
त्यो त प्रशिक्षक र टिमले निर्णय गर्ने कुरा हो । थाहा भए पनि अहिले नै भन्न मिल्दैन ।

प्रकाशित : वैशाख ३१, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?