१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सन्दीपको अष्ट्रेलियाको ‘बिग बास’ मा खेल्ने सम्भावना

नारायण खड्का

अष्ट्रेलिया — इन्डियन प्रिमियर लिग (आईपीएल) लगत्तै क्यारेबियन लिगमा अनुबन्ध भएका सन्दीप लामिछानेले अष्ट्रेलियाको सबैभन्दा ठुलो क्रिकेट लिग ‘बिग बास’ मा आउने सम्भावना बढेको छ ।

सन्दीपको अष्ट्रेलियाको ‘बिग बास’ मा खेल्ने सम्भावना

आईपीएलमा देखाएको प्रदर्शनले सन्दीपलाई ठुलो फ्रेन्चाइज प्रतियोगिताहरुमा खेल्नलाई ढोका खोलिदिएको हो । आईपीएलमा सन्दीपले दिल्ली डेयरडेभिल्सबाट पछिल्लो तीन खेल खेल्दै बलियो प्रभाव देखाएका थिए ।

उनले ३ खेलमा ५ विकेट लिए । उनले आइतबार ३ विकेट लिएपछि दिल्लीले मुम्बईलाई पराजित गर्दै सिजन टुंगाएको थियो । सन्दीपले खेलेको ३ मध्येको दुई खेलमा विजय हात पारे पनि दिल्ली अंक तालिकाको पुछारमा रह्यो । सन्दीपको आईपीएल यात्राको सुरुआत अस्ट्रेलियाबाटै भएको थियो ।

सन्दीप लामिछाने करिब एक वर्ष पहिले माइकल क्लार्कको निम्तोमा आउँदा यहाँको वेष्टर्न सबर्ब क्रिकेट टिमबाट खेल्ने अवसर पाएका थिए । सोही क्रममा सन्दीपलाई लिन विश्वकप विजयी कप्तान क्लार्क सिड्नी विमानस्थल नै पुगेका थिए ।

सोही बेला क्लार्कसहितका अष्ट्रेलियाली खेलाडीहरुले उनलाई भविश्यको राम्रो खेलाडी भन्दै प्रशंसा गरेका थिए । त्यसबेला कान्पिुरसँगको कुराकानीमा उनले अवसर आएमा अष्ट्रेलियाली लिग प्रतियोगिता खेल्न पनि तयार भएको प्रतिक्रिया दिएका थिए ।

आईपीएलमा देखाएको उत्कृष्ट प्रदर्शनले उनको अष्ट्रेलियाली लिगमा आउने सम्भावना प्रसस्त भएको यहाँको नेपालीहरुको विश्वास छ । बिग बास लिग अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका क्रिकेटका आठ टोलीहरुबिच हुने लाखौं डलरको वार्षिक प्रतियोगिता हो । बिग बास लिगमा विदेशी खेलाडीहरु खेलिरहेका छन् ।

अष्ट्रेलियामा रहेको नेपाली क्रिकेटरहरुको संस्था नेप्लिज क्रिकेट एसोसिएसनका पूर्व अध्यक्ष तथा सल्लाहकार अजय क्षेत्री सन्दीपले बिग बासमा सहज स्थान पाउने धेरै कारणहरु भएको सुनाउँछन् । एकातिर अष्ट्रेलियामा रहेका केही नेपाली खेलाडीहरु पहिल्यैदेखि यहाँका क्लबहरुमा अनुबन्धित छन् भने अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्क, रिक्की पोन्टिङ लगायतको साथ उनलाई छ । क्लार्क आफैं सिड्नी थण्डरका पूर्व खेलाडी हुन् ।

‘सन्दीप अष्ट्रेलियाको बिग बास लिगमा आउनेमा कुनै शंका छैन् । तर कति ढिलोचाँडो भन्ने मात्र हो,’ क्षेत्री सुनाउँछन् । उनी सन्दीपको लागि यहाँको लिग प्रतियोगिताको लागि क्लार्कले नै सहयोग गर्नसक्ने सम्भावना रहेको समेत बताउँछन् ।

नेप्लिज क्रिकेट एसोसिएसन अष्ट्रेलियाका अध्यक्ष रुपक चुडालका अनुसार यस वर्ष सिड्नी थण्डरको अलस्टार टीममा नेपाली युवा गोविन्द कार्की र मेलबर्न रेनिगेड्सको च्याम्पियन टीमबाट सुनाम गौतम खेलिरहेका छन् । प्रतिभा भएका नेपाली युवाहरुलाई केही वर्षदेखि नै स्थान दिन थालिएकाले समेत सन्दीपले यहाँको लिग प्रतियोगितामा यसै वर्ष अवसर पाउनसक्ने उनी सम्भावना देख्छन् ।

एक वर्षअघि सन्दीप अष्ट्रेलिया आएको समयमा क्लार्कको आग्रहमा एसोसिएसनले सहयोग पुर्‍याएको थियो । एसोसिएसनका सदस्यहरु सन्दीपको अष्ट्रेलियाली क्रिकेटमा सोही समयदेखि नै राम्रो छाप रहेको सुनाउँछन् । ‘सन्दीपलाई सबैभन्दा धेरै माया र प्रोत्साहन दिने खेलाडी नै क्लार्क हो, त्यसैले पनि उनको बिग बास लिग खेल्ने सम्भावना प्रबल छ,’ चुडाल भन्छन् ।


प्रकाशित : जेष्ठ ७, २०७५ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?