कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भलिबल एकेडेमी स्थापना

काठमाडौँ — भक्तपुरको जनप्रेमी स्कुलले ग्रासरुट भलिबल एकेडेमी स्थापना गरेको छ । राष्ट्रिय भलिबल दिवसको अवसर पारेर मंगलबार बिहान उक्त एकेडेमीको उद्घाटन गरिएको हो ।

भलिबल एकेडेमी स्थापना

जनप्रेमी र अन्य स्कुलमा पढ्ने विद्यार्थीलाई भलिबलमा प्रशिक्षण दिएर भविष्यमा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उक्त एकेडेमी खोलिएको हो । एकेडेमी कौशलटारस्थित आफ्नै स्कुलमा स्थापना गरिएको प्रिन्सिपल निलेश आचार्यले बताए ।


भक्तपुरका सांसद महेश बस्नेत र राष्ट्रिय भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माले एकेडेमीको संयुक्त उद्घाटन गरेका थिए । उद्घाटनपछि सांसद बस्नेतले भलिबल खेल राष्ट्रिय खेल भइसकेको अवस्थामा यस्ता एकेडेमीले राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।


उद्घाटनको अवसरमा स्कुल प्रांगणमा अभिभावक र शिक्षकहरुबीच भलिबल प्रतियोगिता भएको थियो । प्रतियोगिता शिक्षक समूहले ५-० को सोझो सेटले जिते । एकेडेमीमा ४ कक्षादेखि १० कक्षासम्म पढ्ने विद्यार्थीले ट्रेनिङ लिने छन् ।


अहिले ६० जना विद्यार्थीले ट्रेनिङमा भाग लिएको प्रिन्सिपल आचार्यले बताए । उनले भने, 'भलिबल खेल राष्ट्रिय खेल भइसकेको छ । नेपालको ७७ जिल्लामा नै खेलिने खेल पनि हो यो । त्यसैले हामीले पनि भविष्यमा राम्रा खेलाडी आउन् भनेर नै एकेडेमीको अवधारणा ल्याएका हौं ।'


कार्यक्रममा प्रशिक्षण लिने विद्यार्थीलाई जर्सी र प्रशिक्षकलाई बल प्रदान गरिएको थियो ।


त्यसैगरी विद्यालयले घोषणा गरेको वर्षका उत्कृष्ट भलिबल खेलाडी अशोका देवकोटा सहित भलिबल खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त नेपाल प्रहरीकी खेलाडी कामना विष्ट, भलिबलका अन्तर्राष्ट्रिय खेलाडी सरस्वती चौधरी, पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल प्रहरीका भलिबल प्रशिक्षक सरोज श्रेष्ठ, जनप्रेमीका भलिबल प्रशिक्षक एवं नेपाल प्रहरीका खेलाडी रुपेश बिष्टलाई नगद पुरस्कार सहित ताम्रपत्र प्रदान गरेर सम्मान गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?