कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिवरामको पुनरागमन

काठमाडौँ — गोकर्ण गल्फ क्लबमा मंगलबार सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले गतिलो ‘कमब्याक’ गरेका छन् । पहिलो दिन इभन पार ७२ जोड्दै ११ औं स्थानमा रहेका उनले दोस्रो दिन ७ अन्डर ६५ को अंक जोडे ।

शिवरामको पुनरागमन

समग्रमा ७ अन्डर १ सय ३७ अंकसहित शिवराम अघिल्लो दिनका शीर्ष खेलाडी सञ्जय लामाभन्दा २ अंकले अगाडि छन् । सञ्जयले दोस्रो दिन १ अन्डर ७१ सहित समग्रमा ५ अन्डर १ सय ३९ अंक जोडे ।


संयुक्त तेस्रो स्थानमा ३ अन्डर १ सय ४१ अंकसहित तोरणविक्रम शाही र भुवन नगरकोटी छन् । तोरणले सोमबार ३ अन्डर ६९ स्कोर जोड्दा भुवनले भने १ ओभर ७३ को स्कोर लेखाए । एमेच्योर टंकबहादुर कार्की ३ अन्डर ६९ को स्कोर जोडेर समग्रमा ३ अन्डर १ सय ४१ सहित एमेच्योरतर्फ शीर्षमा छन् ।


डिफेन्डिङ च्याम्पियन शिवरामले दोस्रो दिन उत्कृष्ट सुरुआत गरे । सुरुआती ६ मध्ये ५ होलमा बर्डी खेलेका शिवरामले फ्रन्ट नाइनमा ५ अन्डर ३१ को स्कोर बनाए । उनले तेस्रो होलमा निकै सहज देखिएको बर्डी पट भने चुकाएका थिए । शिवरामले ब्याक नाइनको १०, ११ र १५ औं होलमा पनि बर्डी लेखाए । १६ औं होलमा बोगी खेपेका शिवरामले ब्याक नाइनमा २ अन्डर ३६ को स्कोर जोडेर शीर्षस्थानमा बलियो पकड बनाउन सके ।


अघिल्लो दिन शीर्षस्थानमा रहेका सञ्जयले फ्रन्ट नाइनको पहिलो र छैटौंमा बर्डी तथा आठौं र नवौंमा बोगी खेप्दै फ्रन्ट नाइनमा इभन पार ३६ खेले । ब्याक नाइनमा उनले १ अन्डर ३५ खेले । उपाधि दाबेदारमा हेरिएका भुवनका लागि भने दोस्रो दिन सफल रहेन । फ्रन्ट नाइनमा इभन पार ३६ र ब्याक नाइनमा १ ओभर ३७ खेलेका उनी शिवरामभन्दा ४ स्ट्रोक पछाडि छन् ।


दोस्रो दिन सकिँदा ९ एमेच्योर र २४ प्रो गल्फरले अन्तिम दुई दिनलाई कट पार गरेका छन् । १० अन्डर १ सय ५४ भन्दा कम स्कोर ल्याएका ३१ गल्फरले अन्तिम दुई दिन प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको कट पार नगर्नेमा पूर्व भारतीय नम्बर एक खेलाडी फिरोज अली मोल्लाह पनि रहे । उनले १ स्ट्रोकले कट मिस गरेका थिए ।


कुल १२ लाख ६० हजार पुरस्कार राशिको प्रतियोगिता विजेताले २ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सूर्य नेपाल गल्फ टुरको दसौं तथा अन्तिम प्रतियोगितामा ५५ गल्फरको सहभागिता थियो । ७२ होलको प्रतियोगिता बिहीबार सकिनेछ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?