२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भुवनलाई प्रिमियर गल्फ

नम्बर एक शिवराम प्लेअफमा पराजित
सुबास हुमागाईं

काठमाडौँ — नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठलाई प्लेअफको दोस्रो होलमा पराजित गर्दै भुवन नगरकोटीले सूर्य नेपाल प्रिमियर गल्फको उपाधि जितेका छन् ।

भुवनलाई प्रिमियर गल्फ

अन्तिम दिन बिहीबार ८ होलको खेल हुँदा ४ स्ट्रोकले पछाडि परेका भुवनले ब्याक नाइनमा उत्कृष्ट पुनरागमन गर्दै खेल प्लेअफसम्म पुर्‍याएका थिए ।

घरेलु कोर्स गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल गल्फ टुर २०१७/१८ अन्तर्गत सिजनको दसौं तथा अन्तिम प्रतियोगिता जितेका भुवनले २ लाख ३० हजार रुपैयाँ हात पारे । जारी सिजन चौथो उपाधि जितेका भुवनको यो लगातार तेस्रो उपाधि हो । उपविजेता शिवरामले १ लाख ४० हजार पाए ।

समान स्कोरमा दिनको सुरुआत गरेका भुवन र शिवरामले दुवैले बिहीबार १ अन्डर ७१ को स्कोर बनाए । दुवैको स्कोर समान १२ अन्डर २ सय ७६ भएपछि खेल प्लेअफतर्फ धकेलिएको हो । शिवरामले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै २ अन्डर ३४ स्कोर जोड्दा भुवनले भने १ ओभर ३७ बनाए । ब्याक नाइनमा भने शिवराम १ ओभर ३७ र भुवनले २ अन्डर ३४ खेलेपछि नतिजा निकाल्न प्लेअफको सहारा लिनुपरेको थियो ।

त्यसअघि भुवनले १८ औं होलमा उपाधि जित्ने सुनौलो अवसर गुमाए । शिवरामले अन्तिम होलमा इभन पार खेलेपछि भुवनले उपाधि जित्न बर्डी खेल्नुपथ्र्यो तर उनले होलको झन्डै ४ फिट परबाट पट गर्न नसक्दा खेल प्लेअफमा पुगेको थियो । प्लेअफको पहिलो होलमा दुवै खेलाडीले इभन पार खेले । दोस्रोमा भने शिवरामको बर्डी पट होलभन्दा पर पुगेपछि भुवनले बर्डी पट गर्दै उपाधि जित्ने अवसर पाए । झन्डै १० फिट टाढाबाट बर्डी पट गर्दै उनले उपाधि पक्का गरे ।

च्याम्पियन भुवनले सिजन अन्त्यमा लगातार तीन प्रतियोगिता जित्दा निकै खुसी लागेको बताए । उनले आउने सिजनमा पनि यस्तै प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यसहित वैदेशिक प्रतियोगितामा सहभागी हुने सोच बनाएको खुलाए । यता शिवरामले भने सिजनको अन्त्य नराम्रो भए पनि अर्को सिजन अझै राम्रो गर्ने आशा राखे । यस सिजनको प्रदर्शन सन्तोषजनक नभएकाले अर्को सिजनका लागि अहिलेबाट विशेष प्रशिक्षणमा जुट्ने उनले बताए ।

प्रतियोगितामा ४ अन्डर २ सय ८४ स्कोरसाथ तेस्रो स्थान प्राप्त गरेका तोरणविक्रम शाहीले ९५ हजार प्राप्त गरे । चौथो स्थानका धनबहादुर थापा (३ अन्डर २८५) ले ७७ हजार ५ सय तथा पाँचौं स्थानका सञ्जय लामा (१ अन्डर २८७) ले ६९ हजार पाए । छैटौं स्थानका बलभद्र राई (२ ओभर २९०) ले ६३ हजार प्राप्त गर्दा समान ३ ओभर २ सय ९१ स्कोर जोडेका जयराम श्रेष्ठ र दिनेश प्रजापतिले जनही ५५ हजार ५ सय रुपैयाँ थापे ।

एमेच्योरतर्फ सुनील केसीले काउन्ट ब्याकमा टंकबहादुर कार्कीलाई हराउँदै उपाधि जिते । दुवै खेलाडीले समान ४ ओभर २ सय ९२ अंक जोडे पनि सुनील काउन्ट ब्याकमा अगाडि रहे । तेस्रो स्थानमा ६ ओभर २ सय ९४ स्कोरसहित पृथ्वी मल्ल रहे ।

अर्को सिजनका लागि नम्बर एक वरीयता भने शिवरामले बचाए । उनले जारी सिजन पाँच उपाधि जित्दै ८ लाख ४ हजार २ सय ५० रुपैयाँ बटुले । भुवनले ४ उपाधिसहित ७ लाख ६० हजार ५ सय ५० रुपैयाँ जिते । वरीयतामा तेस्रो स्थान धनबहादुरले ओगटेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?