पीपीपीको पर्खाइमा ‘फाप्ला’ मैदान

मोहन बुढाऐर

धनगढी — प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण प्राइभेट–पब्लिक पार्टनरसिप (पीपीपी) को अवधारणामा लैजाने प्रस्ताव गरिएको छ । तर सरकार भने फाप्लालाई पीपीपीमा लैजान उदासीन देखिन्छ ।

पीपीपीको पर्खाइमा ‘फाप्ला’ मैदान

पीपीपीमा नलगे यो मैदानको निर्माण पनि काठमाडाैंको मुलपानीकै जस्तो सुस्त हुने खतरा देख्छन् यस क्षेत्रका क्रिकेटप्रेमी । दशक बितिसक्दा पनि मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न हुन सकेको छैन ।

धनगढीलाई क्रिकेटको सहर बनाउने अभियानअन्तर्गत यहाँका क्रिकेटप्रेमीबाट दुई वर्षअघिबाट ‘ड्रिम फाप्ला’ अभियान सुरु भएको हो । फाप्ला क्रिकेट मैदान धनगढी बजार क्षेत्रबाट ३ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ । नेपालको सर्वाधिक राशिको धनगढी क्रिकेट लिग (डीपीएल) लाई ‘ड्रिम फाप्ला’ साकार गर्ने माध्यम बनाउँदै आएको डीपीएलका संयोजक एवं धनगढी किकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

‘डीपीएलको टिकट बिक्रीको केही अंश ड्रिम फाप्ला अभियानमा खर्चेका छाैं,’ उनले भने, ‘देशकै सर्वाधिक राशिको डीपीएल आयोजनाको अर्काे अर्थ फाप्ला क्रिकेट मैदानको आवश्यकताप्रति दबाब सिर्जना गर्नु पनि हो ।’ शाहीले क्रिकेटको विकासका लागि मैदान अपरिहार्य रहेको बताए । फाप्ला रंगशाला तयार गरिएको डिजाइनअनुसार निर्माण गरिने हो भने यसको लागत २ अर्ब रुपैयाँ लाग्नेछ ।


‘क्रिकेट मैदान सरकारले निर्माण गर्न सक्दैन भने फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन निजी क्षेत्र तयार छ,’ उनले भने, ‘सरकारले पीपीपीको नीतिगत बाटो खोल्दिनुपर्‍यो । लगानीकर्ता पर्खेर बसेका छन् ।’ पीपीपीका प्रस्तावक शाहीले सरकारका लागि प्राइभेट पब्लिक पार्टनरसिपको एउटा पाइलट प्रोजेक्ट बन्नुपर्ने समेत बताए ।

उनका अनुसार हाइड्रोपावरलगायत अन्य क्षेत्रमा जस्तो सरकार र निजी क्षेत्रको यो साझेदारी नभएर नयाँ मोडेलको फाप्लाको पब्लिक पार्टनरसिपको प्रस्ताव हो । ‘सरकारले यसलाई पाइलट प्रोजेक्ट बनाउन सक्छ,’ उनले भने, ‘यो पाइलट प्रोजेक्ट सफल भए सरकारले शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रको विकासमा पनि यो मोडेल लागू गर्न सजिलो हुन्छ ।’

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न स्थानीय र निजी क्षेत्र तयार भएका बेला सरकारले फाप्लालाई पब्लिक पार्टनरसिपमा निर्माण गर्न नीतिगत बाटो खोल्नुपर्ने धारणा नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य धीरेन्द्र साउदको पनि छ । ‘आँट्ने र सबै जुट्ने हो भने विकटता र जटिलताबीच धेरै ठूलो काम सम्पन्न गर्न सकिन्छ,’ साउदले भने, ‘धनगढीवासीले एक पैसा अभियानबाट गेटा विमानस्थल र सेती अञ्चल अस्पतालको आईसीयू कक्ष जनताको दबाबमा निर्माण भएको उदाहरण हामीसँग छ ।’

दृढ आत्मविश्वाससाथ सुरु भएको डीपीएललाई देशको सर्वाधिक धनराशिको निजी क्षेत्रबाट आयोजित घरेलु प्रतियोगिता बनाउन सफल भएको साउदको दाबी छ । उनले डीपीएल धनगढीवासीको एउटा सान बनिसकेको बताए । डीपीएल प्रतियोगिताको टिममा विदेशी खेलाडीसमेत सहभागी हुन थालेका छन् । प्रतियोगिताको समयावधिमा धनगढीको आर्थिक कारोबार करोडौंले वृद्धि भएको उनले बताए ।

स्थानीय अर्थविद् तथा समाजसेवी शिवहरि मुडभरीले प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणामा सरकार अघि बढा राम्रो हुने बताए । ‘अहिलेको अवस्थामा सरकारले सबै क्षेत्रको विकास एक्लै गर्न सम्भव हँुदैन,’ उनले भने, ‘सरकार, सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा विकास निर्माणमा अघि बढ्नु जरुरी छ ।’ विश्वका कयौं विकसित देशले पब्लिक पार्टनरसिपमा पूर्वाधार निर्माण गरेको उनी बताउँछन् ।

राष्ट्रिय योजना आयोगमा कार्यरत राममणि काफ्लेले फाप्ला क्रिकेट मैदानलाई पीपीपीमा लैजान सकिने विषयमा अध्ययन र छलफल भइरहेको बताए । उनले धनगढीबाट फाप्ला क्रिकेट मैदानलाई पब्लिक पार्टनरसिपबाट निर्माण गर्ने प्रस्ताव आउनु अत्यन्तै राम्रो भएको बताए । उनले भने, ‘राज्यले निर्माण गर्नुपर्ने विकास पूर्वाधारमा पब्लिक पार्टनरसिपको अवधारणा अत्यन्तै राम्रो हो ।’

ड्रिम फाप्ला अभियानका सदस्य सौरभ ओझाले सरकार/प्राइभेट साझेदारीको अवधारणामा गए ३ वर्षभित्र फाप्ला अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सम्पन्न हुने दाबी गर्छन् । ‘फाप्ला क्रिकेट मैदान कि सरकार आफैंले बनाऊ कि बनाउन देऊ ?’ उनले भने, ‘हामी सन् २०३० मा विश्वकप चुम्ने बाटोमा अघि बढेका छौं ।’

ड्रिम फाप्ला अभियानको कारण स्थानीय सामुदायिक वन, जिल्ला वनले क्रिकेट रंगशाला निर्माण गर्न जग्गा उपलब्ध गराउन स्वीकृत दिएको उनले बताए । ओझाका अनुसार आर्थिक वर्ष २०७२/०७३ बाट रंगशाला निर्माणका लागि थोरै भए पनि बजेटसमेत विनियोजन हुन थालेको छ ।

सरकारले आर्थिक वर्ष ०७२/०७३ मा विनियोजन गरेको ४० लाखको बजेटबाट मैदान सम्याउने, माटो फिलिङ गर्ने काम गरेको उनले बताए । ०७३/०७४ मा २० लाखको काम भएको छ । ओझाका अनुसार यो आर्थिक वर्षमा भने सरकारले बजेट छुटयाएको छैन । सरकारले रंगशाला निर्माणमा चासो नदेखाएकामा आशंका उब्जेको छ । ‘त्यही कारण हामीले प्राइभेट पब्लिक पार्टनरसिपबाट विषय उठाएका हौं,’ उनले भने, ‘फाप्ला खेलाडीको मात्रै रंगशाला हुने छैन । यो रंगशालाको निर्माणपछि प्रदेश ७ खेल पर्यटनबाट समृद्धिको बाटोमा अघि बढ्ने छ ।’ उनले प्रदेशका लागि राष्ट्रिय गौरवको योजना बन्ने दाबी गरे ।

फाप्ला क्रिकेट मैदानको दक्षिणी भेगमा पर्ने मोहना नदी कटान रोक्न त्यसभन्दा अघिल्लो वर्ष ३ करोडको लागतमा करिब ७ सय मिटर तटबन्धको काम समेत पूरा भइसकेको छ । तत्कालीन सिंचाइमन्त्री एनपी साउदले क्रिकेट मैदानको सुरक्षाका लागि उक्त बजेट पारेका थिए । धनगढी–अत्तरिया राजमार्गको बोराडाँडीबाट १ किलोमिटर दक्षिणतर्फ पर्ने यो मैदानसम्म पुग्न एडीबीको सघन सहरी कार्यक्रमअन्तर्गत ३ करोडको डबल लेन सडक निर्माणको योजनासमेत परेको छ । सघन निर्माणको तीनवर्षे योजनाभित्रका सडक निर्माण कार्य आउने आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यसरी फाप्ला अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न विभिन्न क्षेत्रमा लगानी र पहल भएको बेला सरकारले यसको भौतिक संरचना उठान पीपीपीको प्रस्ताव चाँडो पास गर्नुपर्ने यस क्षेत्रका क्रिकेटप्रेमीको माग छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?