१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सन्दीप गृहनगरमा

रमेशकुमार पौडेल

चितवन — युवा क्रिकेटर खेलाडी सन्दीप लामिछानेले चितवन क्रिकेट एकेडेमीको प्रशिक्षणले नै आफूलाई यति ठूलो सफलता मिलेको बताएका छन् ।

सन्दीप गृहनगरमा

आईपीएलमा दिल्ली डेयरडेभिल्सका अन्तिमका तीन खेल खेलेर सनसनी मच्चाएका सन्दीप शुक्रबार दिउँसो गृहजिल्ला चितवन आइपुगेका हुन् ।

आईपीएलपछि उनको पहिलो चितवन यात्रा हो । चितवन आउने खबर गुपचुप राखेका सन्दीपले भरतपुर एयरपोर्टमा पत्रकारलाई देखेपछि ‘थोरै बोल्छु’ भन्दै केही कुरा राखे । उनले परिवारसँग समय बिताउन छोटो समयका लागि चितवन आएको सुनाए । उनका आमाबुवा रत्ननगर चित्रसारीमा बस्छन् । सन्दीपको मूल घर स्याङ्जा हो । एयरपोर्टमा सन्दीपलाई देखेपछि फोटो खिच्न र उनीसँग सेल्फी लिनेको भिड लागेको थियो । केही समयपछि फुर्सद लिएर आउने र आफ्ना शुभचिन्तकसँग भेटघाट गर्ने योजना रहेको सन्दीपले बताए ।

चितवन जिल्ला क्रिकेट संघले क्याम्पाचौरमा सञ्चालन गरेको प्रशिक्षणमा सन्दीपले सुरुआती प्रशिक्षण लिएका थिए । प्रशिक्षणका क्रममा तत्कालीन राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको नजरमा परेका सन्दीपले राष्ट्रिय टोलीमा स्थान पाएसँगै एकपछि अर्को सफलता हात पार्दै आएका छन् । ‘आईपीएल खेल्दा पनि मैले चितवनको त्यही एकेडेमीको प्रशिक्षण सम्झें । मेरो सुरुआती कदम नै त्यही थियो । त्यसैबाट म यो तहसम्म पुगें,’ भरतपुर विमानस्थलमा पत्रकारसँग सन्दीपले भने ।

आईपीएलसँगै क्यारेबियन लिग र बेलायतको लर्ड्स मैदानमा विश्व ११ को तर्फबाट मैत्रीपूर्ण क्रिकेट खेल्ने अवसर पाएका सन्दीपले बढीभन्दा बढी देशका लागि खेल्ने बताए । ‘आईपीएल एउटा महत्त्वपूर्ण अवसर हो । यस्ता अवसर कमै पाइन्छ । पाएका बेलामा सदुपयोग गर्नुपर्छ । मैले त्यही गरें । अब सबै अनुभव देशका लागि खर्च गर्ने हो, किनकि देश पहिलो हो,’ उनले भने ।

आईपीएलमा आफूले देखाएको खेलकौशलले नेपाली क्रिकेटको सम्भावना विश्वस्तरमा देखिएको उनले बताए । ‘खेलको स्तर उकास्न जो जहाँ छौं सबैले आ–आफ्नो तहबाट सकेको मिहेनत गर्ने हो । नेपाली क्रिकेट सम्भावना नै सम्भावनाले भरिएको अवस्थामा पुगेको छ । यसलाई उकास्न र यसको सम्भावना फैलाउन सबैले काम गर्नुपर्छ,’ उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?