१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णालीमा आर्मी च्याम्पियन

कर्णाली प्रिमियर लिग
कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनलमा शनिबार रूपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि जित्यो । आर्मीले ३ लाख र रूपन्देहीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।

कर्णालीमा आर्मी च्याम्पियन

उत्कृष्ट खेलाडी रूपन्देहीका सन्दीप सुनार घोषित भए । उनले २५ हजार पाए । उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुन र उत्कृष्ट बलर रूपन्देहीका कृष्ण कार्की घोषित भए । दुवैले समान १० हजार पुरस्कार हात पारे ।

फाइनलमा टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३२ रन बनाएको थियो । ओपनर सागर पुनले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रन बनाए । रूपन्देहीका विकास श्रेष्ठले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । त्यस्तै बसिर अहमद, विक्रम भुसाल र सन्दीप सुनारले १–१ विकेट लिए ।

दोस्रो इनिङमा १ सय ३३ रनको लक्ष्य पछयाउने क्रममा रूपन्देहीले १७.५ ओभरमा ९५ रनमै अलआउट भयो । आर्मीका विक्रम सोबले ३, हरिकृष्ण झा र सुशन भारीले २–२ विकेट लिएपछि रूपन्देहीबाट निश्चल चौधरीले सर्वाधिक २६ रन जोड्न सके । सन्दीप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रन बनाए । प्लेयर अफ द म्याच विक्रम सोब चुनिए ।

आर्मीका कप्तान विनोद भण्डारीले सुरुमा ब्याटिङ समस्या भए पनि पछिल्ला खेलमा गल्ती सुधार्दै गएकाले उपाधि जित्न सफल भएको बताए । उनले सबै खेलाडी अनुभवी भएकाले उपाधि जित्न सकिएको बताए । कमजोरी सुधार्दै आगामी खेललाई थप उत्कृष्ट बनाइने उनको भनाइ छ । उनले केपीएलले कर्णाली प्रदेशको क्रिकेटलाई थप उचाइमा पुर्‍याएको बताए । विनोदले प्रतियोगिता जित्न ‘टिमवर्क’ उत्कृष्ट हुनुपर्ने बताए ।

प्रतियोगितामा १० टिमको सहभागिता थियो । बन्धु विकास सहकारी संस्थाले रुस्लानको मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना गरेको हो । कर्णाली प्रदेशमा सर्वाधिक राशिको प्रतियोगिता सञ्चालन गरेर क्रिकेटप्रति आकर्षण बढाउन खोजेको आयोजक संस्थाका उपाध्यक्ष एवं प्रतियोगिताका कार्यक्रम संयोजक रेशम शाहीले बताए । उनले घरेलु टिमबीच मात्र प्रतियोगिता सञ्चालन हुने सुर्खेतमा केपीएल सञ्चालन हुनु खेलाडीका लागि ऊर्जा भएको उनको भनाइ छ । उनले प्रतियोगिताले कर्णालीमा क्रिकेट पूर्वाधारको विकास र खेलाडी उत्पादन गर्न सरोकारवालालाई प्रेरणा प्रदान गरेको बताए ।

‘शीर्ष खेलाडीसहित राष्ट्रिय टिमको सहभागिता भएकाले प्रतियोगिता उत्साहपूर्ण रह्यो,’ कार्यक्रम संयोजक शाहीले भने, ‘आगामी वर्षहरूमा प्रतियोगितालाई थप व्यवस्थित र परिमार्जित गर्दै लगिने छ ।’ उनका अनुसार सुर्खेतमा क्रिकेट एकेडेमी सञ्चालन गर्न पहल थालिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशमा क्रिकेट र खेल पूर्वाधारको विकासका लागि योजना निर्माणको काम भइरहेको बताए । ‘दुई वर्षभित्र प्रदेश राजधानी सुर्खेतमा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने लक्ष्यसहित योजना निर्माण गरिरहेका छौं,’ विजेतालाई पुरस्कृत गर्दै रावलले भने, ‘त्यसका लागि आगामी आर्थिक वर्षको पहिलो चरणमै पूर्वाधार विकासको काम सुरु गरिनेछ ।’


उत्कृष्ट खेलाडी बनेका रूपन्देहीका सन्दीप सुनार ट्रफीसाथ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?