कर्णाली प्रदेशको साहस

विनोद पाण्डे

काठमाडौँ — एक्सेल्सिया प्रधानमन्त्री कप अन्तरप्रदेश वान–डे क्रिकेट प्रतियोगिताबाट राष्ट्रिय क्रिकेटमा आएको कर्णाली प्रदेशले पहिलो खेलमै क्रिकेटको राम्रो शिक्षा पाएको थियो, जब १ सय २६ रनको लक्ष्य पछयाउने क्रममा टोली ७७ रनमा अलआउट हुँदै प्रदेश ७ सँग ४८ रनले पराजित भयो ।

कर्णाली प्रदेशको साहस

प्रदेश ३ सँग मंगलबार उत्रिँदा पनि कर्णाली प्रदेशको हालत उस्तै थियो । ४५ रनमा ४ विकेट गुमाएको टोली ७५–५ को स्थितिमा पुगिसकेको थियो । लगातार दोस्रो खेलमा पनि प्रदेश ६ ले १ सय रन पनि नपुर्‍याउने सम्भावना उत्तिकै देखिएको थियो । रवीन्द्रजंग शाही र दिवान पुनको अर्धशतकपछि टस जितेर ब्याटिङ आएको टोली ४७.४ ओभरमा १ सय ७८ रन बनाएर अलआउट भयो ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लामो रनअपसाथ बलिङ गरिरहेका चन्द्र बीसीले अविस्मरणीय प्रदर्शन गर्दा कर्णाली प्रदेश पुन: जित नजिक पुग्यो । चन्द्रले प्रदेश ३ को झरेका ७ मध्ये ६ विकेट लिए । रुपेश श्रीवास्तव र किशोर महतोले आठौं विकेटमा अविजित ५६ रनको साझेदारी कर्णाली प्रदेशको विजयमा अवरोध बन्यो । चन्द्रको भनाइ मान्ने हो भने उनको टोलीले जुन प्रदर्शन देखायो, त्यही नै जितबराबर थियो ।


‘कर्णाली प्रदेशमा एकेडेमी पनि छैन, तर खेलाडीहरू सिकिरहेका छन् । अहिलेसम्म हामीले क्लब स्तर पनि खेलेको छैनौं, त्यसैले सिकिरहेका छौं र यति राम्रो प्रदर्शन पनि गर्‍यौं,’ चन्द्रले भने, ‘म र जितेन्द्र काठमाडौंमा आएर नेपाल क्रिकेट स्कुलमा केही समय सिकेका हौं । त्यतिकै भरमा यत्तिको प्रदर्शन दिन सक्यौं ।’ कर्णाली प्रदेशमा नेपाल क्रिकेट संघअन्तर्गत सुर्खेतमात्र सक्रिय जिल्ला रहेको छ ।


चन्द्रका भनाइमा उनी आफै पूर्ण ठिक थिएनन् । उनले भने, ‘मेरो बलिङ ठिकै भएजस्तो लाग्यो । धेरै ल्याक पनि भइरहेको थियो, लय पनि मिलिरहेको थिएन । पहिलो म्याचमा हातमा चोट लागेकाले खेल्दिनँ जस्तो लागेको थियो, तर सबैले खेल भनेर मात्र खेलेको हुँ ।’ १० ओभरमा १ मेडन राख्दै ४१ रनको प्रदर्शनले उनलाई म्यान अफ द म्याचको हकदार बनायो ।


चन्द्रले रविन जोशीलाई २, कप्तान जितेन्द्रसिंह ठकुरीलाई शून्य र सुमन उदयलाई ३ रनमा आउट गर्दा प्रदेश ३ को ३ ओभरमा १० रन थियो । आदिल खान र सञ्जय बस्नेतले चौथो विकेटमा ६४ रन जोडे । ४६ बल खेलेर ४ चौका प्रहार गरी ३१ रन बनाएका आदिललाई चन्द्रले एलबीडब्लु आउट गरे । सञ्जयले ३७ बलमा २ चौका र १ छक्कासाथ २० रन बनाए । सोनु तामाङ पनि १ रनमै आउट भए । इशान पाण्डेले २८ बल खेली ४ चौकासहित २३ रन बनाए । रुपेश र किशोरको साझेदारीमा प्रदेश ३ जोगियो । रुपेशले ६३ बल खेली ६ चौका प्रहार गरी ३९ र किशोरले २८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २५ रन बनाई अविजित रहे ।

यसअघि रवीन्द्र र दिवानले कर्णाली प्रदेशबाट समान ५२ रन बनाए । रवीन्द्रले ७९ बलमा ५ र दिवानले ६४ बल खेल्दा ३ चौका प्रहार गरे । टेक सलामीले २६ र विजय विष्टले १३ रन बनाए । प्रदेश ३ का किशोर र जितेन्द्रले २–२ तथा रुपेश श्रीवास्तव, सागर ढकाल र आदिलले १–१ विकेट लिए ।

विकेट लिएपछि खुसी साट्दै प्रदेश ३ का सागर ढकाल सहितका खेलाडी । तस्बिर : सुवास हुमागाईं


सन्जमको ५ विकेट
राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा प्रदेश २ ले पहिलो जित निकालेको छ । भेट्रान अफ स्पिनर सन्जम रेग्मीले ५ विकेट लिएपछि प्रदेश २ ले मुलपानी क्रिकेट मैदानमा प्रदेश ४ लाई ६७ रनले हरायो ।


प्रदेश २ ले टस जितेर ४४.३ ओभर खेल्दै १ सय ५८ रनमा अलआउट भयो । विशाल सुस्लिङले २६, रशिद खानले १८, राहुलप्रताप सिंह र कप्तान महबुब आलमले समान १७, हरिशंकर शाहले १२ र कुन्दन सिंहले १० रन बनाए । सुरज पटेल ५ र हासिम अन्सारी ६ रनमा आउट भए । प्रदेश ४ का विपिन खत्री र हरिबहादुर चौहानले ३–३ तथा अनिल गुरुङ, गोविन्द प्रधान र राजु गुरुङले १–१ विकेट लिए ।


अनिल गुरुङले ३६ र सुमा घिमिरेले ३२ रन बनाए पनि प्रदेश ४ लाई प्रदेश २ ले २८.५ ओभरमा ९१ रनमा अलआउट गर्‍यो । सन्जमले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चेर ५ विकेट लिई म्यान अफ द म्याच प्रदर्शन गरे । शम्साद शेखले ७.३ ओभरमा २० रन खर्चेर ४ र महबुबले १ विकेट लिए ।

प्रकाशित : जेष्ठ १६, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?