१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कप्तान पारस बेलायतमा भेटघाटमा व्यस्त

नबिन पोखरेल

लन्डन — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का यतिखेर लन्डनमा छन् । यसपटक उनी न खेल अभ्यासमा छन्, न उनलाई प्रतियोगितामा हारजितको दबाब वा चिन्ता छ ।

कप्तान पारस बेलायतमा भेटघाटमा व्यस्त

बरु, यो पटकको बेलायत भ्रमणलाई खड्काले सम्बन्ध विस्तार र अवसरको खोजीमा सदुपयोग गरिरहेका छन् ।


कप्तान खड्काले मंगलबार इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) का प्रमुख अधिकारीहरुसंग लर्डसमा भेट गरेका छन् ।


करिब एक घण्टा लामो भेटमा नेपाल क्रिकेटसँग मजबुत सम्बन्ध विस्तार तथा भविष्यमा हुन सक्ने अवसरबारे छलफल भएको खड्काले जानकारी दिए । ‘इसीबी पदाधिकारी नेपाली क्रिकेट विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न सकारात्मक भएको पाएँ,’ पारसले कान्तिपुरसँग भने, ‘उनीहरु नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय जगतमा कमाएको ख्यातिबाट खुशी र आशावादी रहेछन् ।’


इसीबी पदाधिकारीसँगको भेटमा जुलाई अन्तिम साता एमसीसीमा हुन लागेको खेलबारे समेत कुराकानी भएको थियो । आगामी २९ जुलाई आइतबार एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लर्डसमा त्रिकोणात्मक टि ट्वान्टी खेल हुँदैछ ।


सन् २०१४ मा मार्लेबोन क्रिकेट क्लब (एमसीसी) पदाधिकारीसंग भएको भेट वार्तापछि सन् २०१६ मा नेपाली टोलीले लर्डसमा पहिलो पटक राम्रो खेल अवसर पाएको र फेरि जुलाइमा खेल तयारी भएको स्मरण गर्दै खड्काले आफ्नो यसपटकको बेलायत भ्रमण अवसरको खोजीका लागि केन्द्रित भएको प्रष्टयाए ।


पारसले एमसीसी पदाधिकारीसँग पनि भेटघाट कार्यक्रम तय भएको जानकारी दिए ।


पारसले सर्वाधिक महंगो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शनका कारण ग्लोवल स्टारडम बनाउन सफल सन्दीप लामिछानेप्रति पनि गर्व गरे ।


‘सन्दीपको खेलले नेपालमा पनि वल्र्ड क्लास खेलाडी छन् भन्ने प्रमाणित गरेको छ, यो हामी सबैको लागि ठूलो उपलब्धि हो’, उनले भने ।


प्रकाशित : जेष्ठ १६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?