कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै खेलमा शतक र ह्याट्रिक

हरिको दुर्लभ प्रदर्शन
सुबास हुमागाईं

काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार नेपालको घरेलु क्रिकेट इतिहासकै दुर्लभ प्रदर्शन भयो । जारी एक्सेल्सिया दोस्रो प्रधानमन्त्री कपमा एकै खेलाडीले शतक बनाएसँगै ह्याट्रिक विकेट लिएर इतिहास रचे । अहिलेसम्म नेपाली घरेलु क्रिकेटमा कुनै पनि खेलाडीले यो उपलब्धि भेटेका थिएनन् ।

एकै खेलमा शतक र ह्याट्रिक

यो सफलता पाएका थिए प्रदेश ४ का खेलाडी हरिबहादुर चौहानले । उनले प्रदेश १ विरुद्धको खेलमा शतक बनाए भने दोस्रो इनिङसमा ह्याट्रिकसँगै ४ विकेट लिए । पहिलोपल्ट राष्ट्रिय प्रतियोगिता खेलिरहेका १७ वर्षे हरिले आफैंलाई विश्वास नलागेको प्रदर्शन भएको बताए । उनले भने, ‘मलाई विश्वास लागिरहेको छैन । यो पनि सम्भव हुन्छ भनेर सोचेको पनि थिइनँ ।’ ह्याट्रिक लिएपछिको उनको खुसीले पनि यसलाई प्रस्टयाउँथ्यो ।

उनकै उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पहिलो ब्याटिङ गरेको प्रदेश ४ ले प्रदेश १ लाई १ सय २९ रनको विशाल अन्तरले हराएको थियो । प्रदेश ४ ले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाई ३ सय १० रन जोडेको थियो । चौथो नम्बरमा ब्याटिङ गरेका हरिले १ सय १५ बलमा १ सय रन जोडे । ८३ बलमा अर्धशतक पूरा गरेका उनले आफ्नो इनिङ्समा ८ चौका र १ छक्का प्रहार गरे । हरिले एपीएफविरुद्ध पहिलो खेलमा सर्वाधिक ५७ रन बनाएका थिए । त्यसपछिको खेलमा भने उनी महबुब आलमको एलबीडब्लु धरापमा ‘गोल्डेनडक’ भएका थिए ।

बुधबार तेस्रो खेलमा टोलीलाई ठूलो लक्ष्यतर्फ अगाडि बढाउन हरिले छैटौं विकेटमा सुमन घिमिरेसँग ६७ बलमा १ सय ३६ रनको आक्रामक साझेदारी गरेका थिए । सुमनले आक्रामक ब्याटिङ गर्दै ६ चौका र ६ छक्कासहित ५३ बलमा ८३ रन जोडे ।

शीर्षक्रमका अनिल गुरुङ (१३), सन्तोष न्यौपाने (७), विधान श्रेष्ठ (४) चल्न नसक्दा मध्यक्रमको साझेदारीले इनिङस सम्हालिएको थियो । अन्त्यतिर विपिन खत्रीले ९ बलमा २ चौका र २ छक्कासहित २३ रन जोडै टोलीलाई ३ सय रनको योगफल पार गराए । त्यसबाहेक मन्जिल न्यौपानेले २८ र आकाश थापाले १९ रनको योगदान दिए । प्रदेश ४ ले अन्तिम १५ ओभरमा १ सय ६० रन बटुलेको थियो । प्रदेश १ का लागि कप्तान पुष्प थापा र सन्दीप ढुंगानाले २(२ विकेट हात पारे ।

विशाल लक्ष्य पछयाएको प्रदेश १ को सुरुआत राम्रो हुन सकेन । हरिले दोस्रो ओभरको दोस्रो बलमै ओपनर रवि रोयको लेग स्टम्प उडाइदिए । त्यसपछि नियमित विकेट झरेको प्रदेश १ को इनिङ्सलाई सन्दीपले सम्हाल्ने कोसिस गरे । उनले ५५ बलमा ९ चौका र ३ छक्कासहित ७१ रन जोडे पनि टोलीको योगफल धेरै अगाडि पुर्‍याउन सकेनन् । मध्यक्रमका ब्याट्सम्यानहरूले अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रदेश १ ले १ सय ४५ रनको स्थितिमा ७ विकेट गुमायो । कप्तान पुष्प ४ रनमा आउट भए भने सन्नी पुन (७) र अंकित सुवेदी (४) ले पनि छाप बसाल्न सकेनन् ।

फिर्दोस अन्सारी र सर्वन यादवले आठौं विकेटमा ३६ रनको साझेदारी गरेको अवस्थामा हरिले आफ्नो पाँचौं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिए । चौथो बलमा १३ रन जोडेका फिर्दोसलाई कट बिहाइन्ड गराएका हरिले त्यसपछि मनोज तामाङलाई एलबीडब्लु र अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै हयाट्रिक पूरा गरे । प्रदेश १ ले ३५ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमात्र जोड्न सक्यो ।

वर्षाले खेल रद्द
प्रधानमन्त्री कपअन्तर्गत मुलपानी क्रिकेट मैदानमा प्रदेश ५ र प्रदेश ७ बीचको खेल भने वर्षाको कारण रद्द भयो । मैदान भिजेका कारण ढिला सुरु भएको खेल ३८ ओभरमा झारिएको थियो । तर पहिलो इनिङ्सको ८ ओभर सकिएलगत्तै वर्षा भएपछि खेल अघि बढ्न सकेन । खेल रोकिँदा प्रदेश ७ ले २ विकेट गुमाई १९ रन जोडेको थियो । खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।


हरिको धोको
ब्याटिङ अलराउन्डर हरिबहादुर चौहान १७ वर्षका भए । चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक राजु खड्कासँग प्रशिक्षण गर्दै आएका हरि गत वर्ष भएको यू–१९ राष्ट्रिय क्रिकेट टोली छनोटको अन्तिम २२ सम्म परेका थिए । हाल नेपाली राष्ट्रिय टोलीमा रहेका स्पिनर सन्दीप लामिछाने पनि प्रशिक्षक खड्काकै एकेडेमीबाट आएका हुन् । विगत केही महिना नेपालगन्ज क्रिकेट लिग, खुकुरी कप, कास्की क्रिकेट लिगलगायतका प्रतियोगितामा व्यस्त हरिको यो पहिलो राष्ट्रिय प्रतियोगिता हो । राजधानीमा जारी प्रधानमन्त्री कपलाई उनले यू–१९ टोलीको खुड्किलोमा हेरेका छन् ।

प्रतियोगिताको सुरुआती तीन खेलमा बल र ब्याट दुवै पक्षमा चम्किरहेका हरिले अब यू–१९ टोलीमा स्थान बनाउने लक्ष्य राखेका छन् । ‘मैले यसअघि पनि यू–१९ टोलीमा अन्तिम समयमा स्थान बनाउन सकेको थिइनँ । प्रदर्शनमा नियमित सुधार ल्याएको छु । अब यू–१९ राष्ट्रिय टोलीमा नेपालको जर्सी लगाउने धोको छ,’ उनले भने । हरिले तीन खेलमा १ सय ५७ रन जोड्दै ८ विकेट लिएका छन् ।

आजको खेल
आर्मीविरुद्ध प्रदेश २

प्रकाशित : जेष्ठ १७, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?