लन्डनमा सन्दीप र पारससँग साक्षात्कार 

नवीन पोखरेल

लन्डन — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बुधबार साँझ बेलायतका नेपालीसँग साक्षात्कारमा व्यस्त रहे । 

लन्डनमा सन्दीप र पारससँग साक्षात्कार 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको ‘मिट एण्ड ग्रीट’ मा नेपालका पारस खड्का र सन्दिप लामिछानेले क्रिकेट खेलको सम्भावना र उतारचढावका भोगाइ सुनाए ।


पारस केही दिनदेखि लन्डनमै थिए भने सन्दीप बिहीबार (३१ मे) साँझ आईसीसी विश्व ११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न मंगलबार बिहानमात्र लन्डन उत्रिएका थिए ।


खेलाडीद्वयले नेपाली क्रिकेट अब सही बाटोमा आइपुगेको जनाउँदै व्यवस्थापकीय सुधार भए देशले अझ प्रगति गर्न सक्ने बताए । ‘ओडीआइ स्टाटस हाम्रा लागि ठूलो फड्को र अवसर पनि हो’, कप्तान पारसले आत्मविश्वास देखाउँदै भने, ‘सन् २०२२ सम्म हामी टेष्ट प्लेइंग देशहरुसँग पक्कै खेल्नेछौँ ।’


उनले क्यानको निलम्बन फुकुवापछि खेलाडीको मनोबल उच्च हुने खालका गतिविधिको अपेक्षा समेत गरे ।


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले ‘टोकन अफ लभ’ र खादाले सम्मान गरेपछि प्रसन्न खेलाडीद्वयले विदेशका नेपालीले आफूहरुप्रति देखाएको माया र सद्भावप्रति आभार व्यक्त गरेका थिए ।


कप्तान पारसले आगामी २९ जुलाई आइतबार एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लर्डसमा हुने त्रिकोणात्मक टि ट्वान्टी खेलमा उत्साहजनक सहभागिताका लागि नेपाली समुदायलाई पटक पटक अनुरोध गरे ।


दुई वर्षअघि लर्डसमा नेपालीको उल्लेख्य सहभागिताले एमसीसीको नेपाल हेर्ने दृष्टिकोण ज्यादै सकारात्मक भएको जनाउँदै खड्काले यसपटक अझ साथ दिन आग्रह गरे ।


कार्यक्रममा सहभागी गैर आवासीय नेपाली संघ पदाधिकारी, व्यवसायी र युवा खेलप्रेमीले नेपाल क्रिकेट र खेलाडीका लागि आर्थिक सहयोग गर्न तत्पर रहेको जनाएका थिए । प्रतिउत्तरमा पारसले आफूहरु व्यक्तिगत रुपमा कसैसँग आर्थिक सहयोगको आशा नगर्ने बरु उचित संयन्त्रमार्फत क्रिकेट खेल विकासमा सहयोग गर्न सुझाए ।


सन्दीपले सर्वाधिक महंगो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो खेल प्रदर्शनपछि कमाएको लोकप्रियता र नेपाली क्रिकेटरहरुलाई हेरिने दृष्टिकोणको अनुभव सुनाएका थिए ।


१० जुनसम्म बेलायतमा रहने पारसले यहाँ बेलायती क्रिकेटका उच्च पदाधिकारीसँग भेटघाटमा व्यस्त छन् ।


उनले मंगलबार इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) का प्रमुख अधिकारीहरुसँग लर्डसमा भेट गरी नेपाली क्रिकेटका लागि अवसरबारे छलफल गरेका थिए । उनको एमसीसी पदाधिकारीसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ १७, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?