कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पारस र सन्दीप साक्षात्कारमा

नवीन पोखरेल

लन्डन — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बुधबार साँझ बेलायतमा रहेका नेपालीसँग साक्षात्कार गर्नमा व्यस्त रहे ।

पारस र सन्दीप साक्षात्कारमा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ मा नेपालीका गौरव खड्का र लामिछानेले क्रिकेटको सम्भावना र उतारचढावका भोगाइ सुनाए ।


पारस केही दिनदेखि लन्डनमै थिए भने सन्दीप आइसीसी विश्व ११ बाट लर्ड्स मैदानमा वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय म्याच खेल्न मंगलबार बिहान लन्डन उत्रिएका थिए ।
खेलाडीद्वयले नेपाली क्रिकेट अब सही बाटोमा आइपुगेको जनाउँदै व्यवस्थापकीय सुधार भए देशले अझ प्रगति गर्नसक्ने बताए । ‘वान–डे मान्यता हाम्रा लागि ठूलो फड्को र अवसर पनि हो,’ कप्तान पारसले आत्मविश्वास देखाउँदै भने, ‘सन् २०२२ सम्म हामी टेस्ट प्लेइङ देशहरूसँग पक्कै खेल्नेछौं ।’ उनले क्यानको निलम्बन फुकुवापछि खेलाडीको मनोबल उच्च हुने खालका गतिविधिको अपेक्षासमेत गरे ।


खेलाडी संघका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले टोकन अफ लभ र खादाले सम्मानपछि उनीहरूले विदेशका नेपालीले आफूहरूप्रति देखाएको माया र सद्भावप्रति आभार व्यक्त गरेका थिए ।


कप्तान पारसले जुलाई २९ मा एमसीसी, नेपाल र नेदरल्यान्डसबीच लर्डसमा हुने त्रिकोणात्मक ट्वान्टी–२० खेलमा उत्साहजनक सहभागिताका लागि नेपाली समुदायलाई अनुरोध गरे ।


दुई वर्षअघि लर्डसमा नेपालीको उल्लेख्य सहभागिताले एमसीसीको नेपाल हेर्ने दृष्टिकोण ज्यादै सकारात्मक भएको जनाउँदै पारसले यसपालि थप साथ दिन आग्रह गरे ।


कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ पदाधिकारी, व्यवसायी र युवा खेलप्रेमीले नेपाल क्रिकेट र खेलाडीका लागि आर्थिक सहयोग गर्न तत्पर रहेको जनाएका थिए । प्रत्युत्तरमा पारसले आफूहरू व्यक्तिगत रूपमा कसैसँग आर्थिक सहयोग आशा नगर्ने बरु उचित संयन्त्रमार्फत क्रिकेट खेल विकासमा सहयोग गर्न सुझाए ।


सन्दीपले आईपीएलमा आफ्नो प्रदर्शनपछि कमाएको लोकप्रियता र नेपाली क्रिकेटरलाई हेरिने दृष्टिकोणको अनुभव सुनाए । जुन १० सम्म बेलायतमा रहने पारस यहाँ बेलायती क्रिकेटका उच्च पदाधिकारीसँग भेटघाटमा व्यस्त छन् । उनले मंगलबार इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) का प्रमुख अधिकारीसँग लर्डसमा भेट गरी नेपाली क्रिकेट विकासबारे छलफल गरेका थिए । उनको एमसीसी पदाधिकारीसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?