जिदानको निर्णयले रियल स्तब्ध

एएफपी

म्याड्रिड — युरोपियन च्याम्पियन्स लिगको उपाधि लगातार तेस्रो वर्ष जितेको केही दिनमै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सबैलाई स्तब्ध पार्दै बिहीबार क्लब छाडेका छन् ।

जिदानको निर्णयले रियल स्तब्ध

जिदानले आफ्नो र क्लबका लागि परिवर्तन हुनुपर्ने समय भएकाले राजीनामा दिएको बताएका छन् । ४५ वर्षीय उनी रियलमा हात पारेको उपलब्धि कायमै राख्ने आफ्नो क्षमताप्रति निश्चिन्त नभएको पनि भनिएको छ । तर उनले रियलबाट अलग्गिने आफ्नो निर्णयमा कुनै अरु क्लबको संलग्नता नभएको पनि प्रस्टयाएका छन् । उनले अहिले कुनै पद नहेरेको उल्लेख गरे पनि विज्ञहरूले उनको सम्बन्ध फ्रान्सेली राष्ट्रिय टिमसँग हुने अनुमान गरेका छन् ।


‘मैले अर्को वर्ष पनि रियल म्याड्रिड प्रशिक्षकका रूपमा निरन्तरता नदिने निर्णय लिएको छु,’ फ्रान्सेली जिदानले पत्रकार सम्मेलनमा भने, ‘यो क्लब आवश्यक परिवर्तन गर्दै निरन्तर जितका लागि योग्य छ ।’ ‘तीन वर्षपछि क्लबलाई अर्को कुरा आवश्यक भएको छ । काम गर्ने अर्को तरिका चाहिएको छ,’ उनले थपे ।


जिदानले टिमलाई थप जित दिलाउन प्रेरित गर्ने आफ्नो क्षमताप्रति पनि ढुक्क नभएको बताए । ‘अर्को वर्ष पनि जितलाई निरन्तरता दिने म देख्दिनँ । म विजेता हुँ र म हार्न चाहन्न,’ सन् २०२० सम्म रियलको सम्झौतामा रहेका उनले भने, ‘यस निर्णयका लागि मैले धेरै विचार गरें र अब पछाडि फर्कन चाहन्न ।’


रियलले आइतबार किभमा भएको फाइनलमा लिभरपुललाई ३–१ ले हराएपछि जिदान लगातार तीनपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक भएका थिए । सान्टियागो बेर्नाबाउमा जनवरी २०१६ मा राफा बेनिटेजको स्थान लिएका जिदानले नौ ट्रफी जितेका छन् ।

रियलमा लगातार जितेका तीन फरक च्याम्पियन्स लिग ट्रफीसाथ उनी । तस्बिर : एएफपी


रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिदानको घोषणा ‘पूर्णत: अनपेक्षित’ भएको बताए । बेनिटेजलाई बर्खास्त गरेपछि बार्सिलोनाको दैनिक पत्रिका मुन्डो डेपोर्टिभोले जिदानलाई ‘टाँसिएको प्लास्टिक’ भएको लेखेको थियो, जसलाई तुरुन्तै स्थायी प्रशिक्षकले विस्थापित गर्नेछ । तर जिदानले खेलाडीको आत्मविश्वास जिते र इतिहास पनि बनाए ।
‘यो दुखको दिन हो,’ पेरेजले भने, ‘यो घर सँधैं उनको घर हो । उनले सबथोक यहाँ जितेको थाहै छ । प्रतिबद्धता र धैर्यका लागि उनलाई धन्यवाद दिन चाहन्छु । उनी फर्कनेमा मलाई कुनै शंका छैन ।’


जिदानले च्याम्पियन्स लिग जितेलगत्तै आइतबार क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने संकेत दिएसँग आफ्नो निर्णयको कुनै सम्बन्ध नभएको पनि बताए । उनको टिमको ला लिगामा भने मिश्रित नतिजा रह्यो । यसपालि निरासाजनक रूपमा तेस्रो भयो र च्याम्पियन बार्सिलोनासँगको प्रतिस्पर्धा मरेतुल्य नै थियो ।


‘हामी भन्छौं कि यो सिजन लिगमा कठिन रह्यो । यो एउटा क्षण हो, यसलाई भुल्ने छैन,’ जिदानले भने । उनले १२ वर्षअघि अन्तर्राष्ट्रिय फुटबल करिअर पनि यसैगरी टुंग्याएका थिए र अहिले पनि त्यस्तै स्तब्धपूर्ण रह्यो । इटालीका मार्को माटेराजीलाई टाउकोले प्रहार गरेपछि उनलाई सन् २००६ को विश्वकपको फाइनलमा रातो कार्ड दिइएको थियो । सम्भवत् त्यसमा फ्रान्सले उपाधि गुमाउनुपर्‍यो । रियलका पूर्व खेलाडीसमेत रहेका जिदानसँग अब के गर्ने भन्ने स्पष्ट छैन ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?