एपीएफ र न्यु डायमन्ड भिड्ने

काठमाडौँ — विभागीय टोली शिवम् न्यु डायमन्ड र नेपाल एपीएफ क्लब आरबीबी–एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।

एपीएफ र न्यु डायमन्ड भिड्ने

शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो । न्यु डायमन्डले भने लिग चरणमा पुलिसविरुद्ध बेहोरेको हारको बदला लिँदै फाइनलमा स्थान पक्का गर्‍यो ।


लिगको अन्तिम खेलमा न्यु डायमन्डसँग पराजित एपीएफले आर्मीविरुद्ध सुरुमा लय समाउन सकेन । अघिल्लो खेलमा पुलिसलाई पहिलोपल्ट पराजित गरेपछि उच्च लयमा देखिएको आर्मीले डिफेन्डिङ च्याम्पियन एपीएफलाई कडा चुनौती दियो । तर खेल चल्दै जाँदा लय गुमाएपछि एपीएफ २५–१२ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा आर्मीले कडा चुनौती दिँदै केही समय अग्रता पनि बनायो तर अन्तिममा लगातार गल्ती दोहोर्‍याउँदा २५–२२ ले सुम्पियो । तेस्रो सेटमा एपीएफले खेल सुधार्‍यो र २५–१५ को जितसँगै फाइनलमा स्थान पक्का गर्‍यो ।


राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भने न्यु डायमन्डले पुलिसलाई ३–१ सेटले पाखा लगायो । लिग चरणमा पुलिसले सोही अन्तरले पराजित गरेको न्यु डायमन्डले खेलमा सुरुदेखि दबाब कायम गर्‍यो । प्रतिभा मालीको उत्कृष्ट प्रदर्शन मदतले सुरुआती दुई सेटमा न्यु डायमन्ड २५–१७, २५–१८ ले अगाडि रहयो । पुलिसकी कप्तान कोपिला उप्रेतीले खराब प्रदर्शन गरेपछि पुलिसले खेलमा पकड जमाउन सकेन । तेस्रो सेटमा लगातार स्पाइकमा गल्ती गरेपछि न्यु डायमन्ड ११–२५ ले पछाडि पर्‍यो । उक्त सेटमा पुलिसले लगातार १३ अंक ल्याएको थियो । चौथो सेटमा प्रदर्शन सुधार गर्दै २५–१५ को सहज जितसँगै उपाधि भिडन्तमा स्थान पक्का गर्‍यो ।


फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । फाइनल पुगेका एपीएफ र न्यु डायमन्डबीच लिग चरणको खेलमा न्यु डायमन्ड विजयी रहेको थियो । एपीएफ उपाधि रक्षा गर्ने अभियानमा हुनेछ भने न्यु डायमन्ड लिग चरणको नतिजा दोहोर्‍याउने प्रयासमा जुट्नेछ । तेस्रो स्थानमा आर्मी र पुलिसले प्रतिस्पर्धा गर्नेछन् ।


विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो र चौथो प्राप्त गर्ने टिमले क्रमश: ५० र २५ हजार पाउनेछन् । उत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्टले जनही ५ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?