आर्मीको लगातार फाइनल यात्रा

सागरले ६ वर्षअघि भैरहवाबाट खेल्दै विराटनगरविरुद्ध १ सय ४४ रन बनाएका थिए, जुन राष्ट्रिय क्रिकेटमा तेस्रो व्यक्तिगत उच्च स्कोर हो ।

काठमाडौँ —  सागर पुनले आफ्नो गृहप्रदेशविरूद्ध शतक बनाएपछि त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप अन्तरप्रदेश वान–डे क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । लगातार दोस्रोपल्ट फाइनलमा पुग्ने क्रममा आर्मीले शुक्रबार प्रदेश ५ लाई १ सय ५४ रनले हरायो ।

आर्मीको लगातार फाइनल यात्रा

जारी प्रतियोगितामा चौथो शतक बनाउनेक्रममा सागरले १ सय १८ रन बनाए । उनको प्रयासमा आर्मीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ८ विकेट गुमाई २ सय ८९ रन बनायो । प्रदेश ५ जवाफमा ३५.५ ओभरमा १ सय ३५ रनमा अलआउट भयो ।


सागरले अनिल मण्डलसँग ५२ रन जोडेर आर्मीलाई राम्रो सुरुआत दिलाए । विक्रम भुसालले एकै ओभरमा २ विकेट लिनेक्रममा अनिललाई १९ रनमा बोल्ड गरे भने नरेश बुढाऐरलाई खाता खोल्न दिएनन् । राजु रिजाल ३० बलमा ५ रन बनाई रन आउट भएपछि केही समय आर्मी दबाबमा परेको थियो ।


सागरले भीम सार्कीसँग चौथो विकेटमा १ सय १५ रन जोडेपछि आर्मी मजबुत बनेको थियो । भीम खुलेर खेलेपछि सागरले पनि त्यसमा लय मिलाए । सुरुआतमा केही जीवनदान पाएका सागरले ४० औं ओभरमा कट गर्दै १ रन प्रहार गरी आफ्नो शतक पूरा गरेका थिए । राष्ट्रिय क्रिकेटमा यो उनको दोस्रो शतक हो । उनले ६ वर्षअघि भैरहवा (क्षेत्र ४) बाट खेल्दै विराटनगर (क्षेत्र १) विरुद्ध १ सय ४४ रन बनाएका थिए, जुन राष्ट्रिय क्रिकेटमा तेस्रो व्यक्तिगत उच्च स्कोर हो ।


आत्मविश्वासी देखिएका सागरले १ सय ४२ बलको इनिङ्समा १० चौका र ४ छक्का प्रहार गरे । लालबहादुर अधिकारीको बल अगाडि बढेर हान्न खोज्दा उनी विकेटकिपर सुवेन्दु पाण्डेबाट स्टम्पआउट भए । भीमले ५३ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान विनोद भण्डारीले यसअघिका खेलमा जस्तै आक्रामक स्वभाव देखाए । उनले १५ बलमा ३७ रन बनाउनेक्रममा २ चौका र ४ छक्का प्रहार गरे । राजेश पुलामी २ र सोमपाल कामी ११ रनमा आउट भए । विक्रम सोब ८ रनमा नटआउट रहे ।


प्रदेश ५ का कृष्ण कार्कीले ३ विकेट लिए । उनले १० ओभरमा ५५ रन खर्चे । विक्रमले २ विकेट लिनेक्रममा १० ओभरमा ५३ रन दिए । लालबहादुर र कप्तान शक्ति गौचनले १–१ विकेट लिए ।


प्रदेश ५ ले कुनै पनि आर्मीलाई चुनौती दिने सम्भावना नै देखाएन । ओपनरद्वय सन्दीप सुनार ९ र सुवेन्दु पाण्डे ११ रनमा आउट भए । निश्चल चौधरी १ रनमै पेभेलियन फर्के । शंकर रानाले ३९ बल खेली ३ चौका र १ छक्का प्रहार गरी २३ रन बनाए । उनलाई सुसन भारीले बोल्ड गरे । प्रनित थापामगर ८, अन्तिम थापामगर र सौरभ खनाल समान १४ र शक्ति ९ रनमा आउट भए ।

कृष्णले २९ बलमा नटआउट ३१ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । आर्मीका विक्रम र सुशनले ३–३ विकेट लिए । विक्रमले ६.५ ओभरमा १ मेडन राख्दै २८ र सुसनले ५ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । सागरले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ र सोमपालले १ विकेट लिए ।


शनिबार दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?