स्वतन्त्र समितिमा आईसीसीका तीन जना

विनोद पाण्डे

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि विगत दुई वर्षदेखि लागेको निलम्बन फुकुवा गर्ने प्रयासमा स्वतन्त्र समिति बनाउने कार्य सुरु गरेको छ । वैशाख ६ गते निर्वाचित क्यानको साधारणसभाले सल्लाहकार समितिमार्फत आएको विधानलाई हुबहु पारित गरेको थियो ।

स्वतन्त्र समितिमा आईसीसीका तीन जना

त्यसपछि क्यानको निर्वाचन प्रक्रिया अगाडि बढ्नका लागि स्वतन्त्र समिति बनाइनुपर्ने थियो, तर विशेष साधारणसभाले विधान पास गरेको ५० दिन बितिसक्दा पनि स्वतन्त्र समिति बनाइएको थिएन । आईसीसीका सहायक प्रमुख इमरान ख्वाजाले तीन दिनअघि निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याललाई पत्र लेख्दै स्वतन्त्र समिति र अन्यबारे अवगत गराएका छन् ।

स्वतन्त्र समितिमा आईसीसीबाट आन्तरिक लेखा प्रमुख मुहम्मद अली अस्लाम, स्ट्राजेटिक प्रोजेक्ट्स अमर शेख र फाइनान्स र अप्रेसन अफिसर–एसिया नितिशा कोथारी रहने छन् । त्यस्तै समितिमा निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषदका १–१ जना प्रतिनिधि हुनेछन् । कान्तिपुरलाई आईसीसीको पत्रमा आईसीसीले निर्वाचित क्यान र परिषद्लाई पनि १ हप्ताभित्र समितिमा आफ्नो प्रतिनिधि सिफारिस गर्न मिति तोकेको छ । आईसीसीले पत्रमा नौ बुँदा लेख्दै त्यसलाई कार्यान्वयन गर्न भनेको छ ।

जसअनुसार राखेपबाट पास गरेको विधान आईसीसीलाई लिखित रूपमा दिनुपर्ने, वैशाख ६ मा भएको विशेष साधारणसभाको माइन्युट कपी आईसीसीलाई दिनुपर्ने, जहाँ प्रस्तावित विधान पारित गरिएको थियो । नेपाली क्रिकेटसँग सरोकार राख्नेहरूले कानुनी प्रक्रिया सकाउनुपर्ने, चुनाव लगायत अन्य कार्यक्रमहरू आईसीसीका लागि रिभ्यु गर्न चाहिने छन् ।

त्यस्तै आईसीसीको सहयोगमा क्यानका पदाधिकारीहरूको पेस्की फछ्र्योट टुंगो लगाउने, स्वतन्त्र समितिले सदस्यताबारे निर्णय गरेपछि जिल्ला, प्रदेश र केन्द्रको चुनाव हुनेछन् । आईसीसीले यसलाई सकेसम्म जति चाँडो टुंगो लगाए क्यानको निलम्बन फुकुवा हुन सक्ने जनाएको छ । यसका लागि आईसीसीको प्रतिनिधिमण्डल यसै महिनाको अन्तसम्म नेपाल आउने छ ।

जुलाई १ मा हुने आईसीसीको वार्षिक साधारणसभामा यसबारे छलफल हुने त्यसमै क्यानको निलम्बनको फुकुवाको निर्णय हुन सक्ने आईसीसीको पत्रमा लेखिएको छ । क्यानको निर्वाचन निष्पक्ष नभएको र नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले २५ महिना अगाडि क्यानलाई निलम्बन गरेको थियो ।

त्यसयता आईसीसीले आफ्नै रेखदेखमा नेपाली क्रिकेटको गतिविधि चलाइरहेको छ । नेपाली क्रिकेटको निकासका लागि आईसीसीले स्वतन्त्र व्यक्तिहरूलाई समेट्दै सल्लाहकार समिति गठन गरेको थियो । त्यही सल्लाहकार समितिले विभिन्न चरणको बैठकपछि बनाएको प्रस्तावित विधानलाई निर्वाचित क्यानको विशेष साधारणसभामा दोस्रो प्रयासमा पारित गरिएको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?