२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्वकपले तात्दैछ पोखरा

दीपक परियार

लेखनाथ (कास्की) — जेठको गर्मीसँगै विश्वकपको माहोलले यति बेला पोखरा तातेको छ । बिहीबार सुरुमा सुरु विश्वकपले पोखराको खेल गतिविधि र आर्थिक कारोबारमा वृद्धि गरेको छ । खेल सामग्रीका पसलमा मनपरेका देशको जर्सी र खेलाडीका पोस्टर किन्नेको भीड छ ।

विश्वकपले तात्दैछ पोखरा

नयाँ टीभी किन्ने होडबाजी नै चलेको छ । होटल रेस्टुरेन्टहरूले ठूला स्क्रीन राखेर फुटबल हेर्ने व्यवस्था गरेका छन् । घरमै ठूलो पर्दामा हेर्न रुचाउनेहरूले प्रोजेक्टर नै राख्न थालेका छन् ।


पोखरा बजारमा सबै पसलका प्रोजेक्टरहरू बिक्री भइसकेको व्यवसायीले बताएका छन् । पोखराको रानीपौवा स्पोटर््स सेन्टरले बिहीबार फुटबल फिभर फुटसल टुर्नामेन्ट नै गर्‍यो ।


ब्राजिल कि अर्जेन्टिना पोखरामा ब्राजिल र अर्जेन्टिनी फ्यान धेरै छन् । त्यसपछि इंग्ल्यान्ड, जर्मनी, स्पेन, फ्रान्स, इटालीलगायत युरोपियन मुलुकका समर्थक छन् । ब्राजिल र अर्जेन्टिनी समर्थकबीच सामाजिक सञ्जालमा जुहारी नै चल्ने गरेको छ ।


सहारा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य नेपालमा कुनै एक आदर्श खेलाडीलाई हेरेर टिमको प्रशंसक बन्ने परिपाटी रहेको बताउँछन् । पोखरेली पनि महान् फुटबलर पेलेलाई हेरेर ब्राजिल र म्याराडोनालाई हेरेर अर्जेन्टिनाको समर्थक रहेको उनको अनुभव छ । उनी स्वयं भने इंग्ल्यान्डका समर्थक हुन् । ‘मलाई डेभिड बेकह्याम मनपर्ने भएकाले इंग्ल्यान्ड मनपरेको हो,’ उनले भने । यद्यपि यसपालि विश्वकपमा ब्राजिल र अर्जेन्टिना फाइनल भिड्ने उनको अनुमान छ । ‘दुवैतर्फ उत्कृष्ट खेलाडी छन्,’ उनी भन्छन्, ‘दुवैलाई जित्नुपर्ने दबाब पनि छ ।’


कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्र गुरुङको रोजाइ पनि आचार्यसँग मिल्दो छ । उनी पनि बेकह्यामको खेल देखेर इंग्ल्यान्डका समर्थक रहे । यसपल्टको विश्वकपको विजेता अनुमान गर्नै नसकिने उनी बताउँछन् । ‘यसपल्ट केही भन्नै सकिन्न,’ उनले भने, ‘नसोचेको देशले जित्न पनि सक्छ ।’


पोखरामा जर्मनी र फ्रान्सका प्रशंसक पनि उत्तिकै छन् । ब्राजिल र अर्जेन्टिनी प्रशंसकअघि उनीहरूको स्वर भने मसिनो छ । पोखरा न्युरोडका फुटबलप्रेमी अमर गिरी कुनै एक खेलाडी हेरेरभन्दा पनि टिमको खेल हेरेर प्रशंसक हुनुपर्ने बताउँछन् । ‘मैले क्वालिफायर खेल हेरेपछि मात्रै आºनो धारणा बनाउँछु,’ उनी भन्छन्, ‘ब्राजिल र अर्जेन्टिना बलिया टिम हुन् तर पोर्चुगल र स्पेनको सम्भावना पनि नकार्न सकिन्न ।’


बढ्यो जर्सीको व्यापार
पृथ्वीचोकको सहारा स्पोटर््स कर्नरमा विश्वकपको माहोल तात्नुअघि दैनिक २–३ वटा मात्रै जर्सी बिक्री हुन्थ्यो । कर्नरका सञ्चालक वीरभद्र आचार्य एक महिनायता दैनिक १५ देखि २० वटासम्म जर्सी बेचेको बताउँछन् । उनको पसलमा ब्राजिलको जर्सी बढी बिक्री भएको छ । त्यसपछि धेरै जर्सी बिक्री भएको अर्जेन्टिनाको हो । जर्मनी, पोर्चुगल र स्पेनका जर्सी दैनिकजसो बिक्री भइरहेको उनले सुनाए । ‘विश्वकप चार वर्षमा आउने चाड हो,’ उनले भने, ‘यतिबेला जर्सी मात्रै बेचेर पनि राम्रो आम्दानी हुन्छ ।’ सामान्य फेन्सी पसलले समेत जर्सी बेच्दा स्पोटर््स दोकान मारमा परेको उनले गुनासो गरे ।


कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्र गुरुङ महेन्द्रपुलमा डिलाइट स्पोटर््स पसल सञ्चालन गर्छन् । एक महिनायता उनको पसलमा पनि जर्सीको व्यापार बढेको छ । दैनिक औसत १५ वटा जर्सी बिक्री भइरहेको उनले बताए । उनले १ हजारदेखि ५ हजार रुपैयाँसम्मका जर्सी बेच्छन् । उनले अर्जेन्टिनाको बढी बिक्ने अनुमान गरेर धेरै जर्सी ल्याए पनि ब्राजिलको बढी बिक्री भइरहेको सुनाए । उनको पसलमा चर्चित खेलाडीको नाम भएको र आºनै नाम प्रिन्ट गर्न मिल्ने जर्सी खोज्दै आउने ग्राहक पनि टन्नै छन् । यतिखेर फुटबलको व्यापार पनि उत्तिकै बढेको छ । विश्वकपसम्बन्धी झन्डा, की–रिङ, स्टिकर, घडी, सोभिनियरको व्यापार पनि बढेको गुरुङले बताए ।


पोखरामा विशुद्ध खेलसामग्री बेच्ने पसल १५ को हाराहारीमा छन् । अधिकांश पसल भूतपूर्व फुटबल खेलाडीले चलाएका छन् । भूपू खेलाडी राजेन्द्र तामाङ, नरेश केसी, सुविन श्रेष्ठ, राजु गुरुङले स्पोटर््स पसल सञ्चालन गरेका छन् । महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, रामबजार, बगर, नयाँबजारलगायत क्षेत्रमा स्पोटर््स हाउस छन् ।


टीभी बेच्न भ्याइनभ्याइ
पोखरा गैह्रापाटनका राजकुमार श्रेष्ठ चिप्लेढुंगाको एक टीभी पसलमा भेटिए । उनले ३२ इन्चको एलईडी टीभी खरिद गरे । ‘घरको टीभी पुरानो पनि भएको थियो,’ उनले भने, ‘विश्व कपकै मेसोमा अलि ठूलो र नयाँ किने ।’


पस्र्याङका नवीन कोइरालाले ४३ इन्चको टीभीसँगै होम थिएटर खरिद गरे । ‘ठूलो स्कृन र साउन्डमा फुटबल हेर्नुको मज्जा छुट्टै हुन्छ,’ उनले भने । फाइनल भने हल हेर्ने योजना बनाएको उनले बताए । विश्वकपलाई मध्यनजर गर्दै नयाँ टीभी खरिद गर्नेको संख्या पनि बढेको छ । पोखराका विभिन्न टीभी पसलमा ग्राहकको घुइँचो लागेको छ ।


पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघका सचिव नारायण सुवेदी अरु बेलामा तुलनामा यतिखेर टीभीको व्यापार बढेको बताउँछन् । ‘पहिले दिनमा १–२ वटा मात्रै बिक्री हुन्थ्यो,’ उनले भने, ‘अहिले दैनिक ५ वटासम्म बेचेका छौं ।’ उनका अनुसार टीभी बेच्ने पसल पोखरामा २५ वटा छन् । तिनले औसत दैनिक पाँचवटा टीभी बेच्दा पोखरामा १ सय २५ टीभी बिक्री हुन्छन् । ‘विश्व कपमा व्यापार बढ्न एक महिना हो,’ उनी भन्छन्, ‘यो अवधिमा पोखरामा करिब ३ हजार ५ सय सेट टीभी बिक्री हुन्छन् ।’


अहिले ३२ इन्चदेखि ६४ इन्चसम्मका टीभी ग्राहकले बढी खोज्छन् । ति टीभीको बजार मूल्य २४ हजार देखि २ लाख ५० हजार रुपैयाँसम्मका छन् । स्मार्ट, एलईडी, एमोलेड प्रकारका टीभी ग्राहकको रोजाइँमा पर्छन् ।


रेस्टुरेन्टको आफ्नै तयारी
महेन्द्रपुलको स्माइल क्याफेका सञ्चालक सनम बानियाँ नयाँ टीभी खरिद गर्ने योजनामा छन् । उनले विश्वकपलक्षित गरेर रेस्टुरेन्टमा प्रोजेक्टर राख्दै छन् । ‘रेस्टुरेन्टमा आउने ग्राहकलाई सुविधा पुर्‍याउन र नयाँ ग्राहक आकर्षित गर्न पनि प्रोजेक्टर राख्नैपर्छ,’ उनले भने ।


लेकसाइडका रेस्टुरेन्टमा विश्वकपलाई भव्य तयारी छ । प्याराडिसो, डुंगा, ओपन हाउस, आइरिस पब, बिजी बी, दरबार, कोइला, मन्डला लगायत रेस्टुरेन्टले प्रोजेक्टरमार्फत विश्वकप देखाइरहेका छन् । विश्वकप, युरो कपजस्ता ठूला प्रतियोगितामा लेकसाइडका रेस्टुरेन्टले प्रोजेक्टरबाट फुटबल देखाउँदै आएका छन् ।


रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराका सचिव गणेश थापा सानादेखि ठूलासम्मका रेस्टुरेन्टले विश्वकपलक्षित तयारी गरेको बताउँछन् । ‘सानो टीभीलाई ठूलोले विस्थापित गर्दै छन्,’ उनले भने, ‘विभिन्न परिकारमा छुटको योजना पनि ल्याएका छौं ।’ लेकसाइडबाहेक महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजार, पृथ्वीचोक, रत्नचोकलगायत बजार क्षेत्रमा रहेका रेस्टुरेन्टले ठूलो टीभी र प्रोजेक्टरमा विश्वकप देखाउने तयारी गरेका छन् ।


प्रशासनको कडाइँ
वडा प्रहरी कार्यालय बैदामले लेकसाइडका रेस्टुरेन्ट व्यवसायीलाई पत्र पठाएको छ । रेवान पोखराका सदस्य रेस्टुरेन्टलाई काटिएको पत्रमा राति ११ बजे सांगीतिक प्रस्तुति बन्द गर्न, ११:३० बजे रेस्टुरेन्ट बन्द गर्न र १२ बजे स्टाफ निकालिसक्नुपर्ने बेहोरा उल्लेख थियो । विश्वकपका क्रममा प्रहरीले त्यस्तो पत्र पठाएपछि रेस्टुरेन्ट व्यवसायी निराश भएका छन् । रेवान सचिव थापाले २४ घण्टा रेस्टुरेन्ट खोल्न पाउनुपर्ने माग गरिरहँदा त्यस्तो निर्देशन आउनु खेदजनक भएको बताए ।

प्रकाशित : असार २, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?