जापानलाई ठूलो सफलता

एएफपी

सारान्स्क — युया ओसाकोले खेलको अन्तिम समयमा गोल गरेपछि जापानले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई समूह ‘एच’ को खेलमा मंगलबार २–१ ले पराजित गरेको छ । यो जितसँगै जापान कुनै पनि दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली राष्ट्र बन्यो ।

जापानलाई ठूलो सफलता

ओसाकोले ७३ औं मिनेटमा गरेको विजयी गोलसँगै पछिल्लो विश्वकपमा भोगेको ४–१ को पराजयको बदला पनि जापानले लियो । कोलम्बियाले खेलको ८६ मिनेट दस खेलाडीमा सीमित भएर खेलेको थियो । कोलम्बियाका डिफेन्डर कार्लोस सान्चेजले चौथो मिनेटमा पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि रेफ्रीले जारी विश्वकपको पहिलो रातो कार्ड दिएका थिए । ब्राजिलमा भएको विश्वकपमा जितविहीन भएर फर्किएको जापानले यसपालि भने उत्कृष्ट नतिजा हात पार्‍यो । केही महिना अघिमात्र आएका प्रशिक्षक अकिरा निसिनो टोलीलाई विजयी सुरुआत दिलाउन सफल रहे ।


जापानले खेलको छैटौं मिनेटमै अग्रता लिन सफल भयो । सान्चेजको ह्यान्डबलपछि प्राप्त पेनाल्टीमा सिन्जी कागावाले कुनै गल्ती गरेनन् । जुआन क्विन्टेरोले पहिलो हाफको अन्त्य नजिकिँदा फ्रिकिकमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । सन् २०१४ का गोल्डेन बुट विजेता हामेस रोड्रिग्वेज चोटका कारण दोस्रो हाफमात्र मैदान छिरेका थिए ।


कोलम्बियाको समर्थनमा धेरै समर्थक भए पनि जापानी टोलीले गोल गरेपछि रंगशाला शान्त भएको थियो । खेलमा जापानले गरेको पहिलो आक्रमणमै सान्चेजले रातो कार्ड खाएपछि कोलोम्बिया दबाबमा परेको हो । सन् १९८६ को विश्वकपमा उरुग्वेका जोसे बाटिस्टाले ५२ सेकेन्डमा पाएको रातो कार्डपछि यो नै विश्वकपको छिटो दिइएको रातो कार्ड थियो ।


दस खेलाडीमा समेटिएको भए पनि कोलम्बियाले आक्रमण जारी राख्यो । कप्तान राडामेल फाल्काओले दुईपल्ट अवसर गुमाउँदा टोली खेलमा फर्कन सकेन । लगातार दबाबबीच कोलोम्बियाले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्यायो । क्विन्टेरोले वालको मुनिबाट प्रहार गरेको फ्रिकिक गोलरक्षकले गोललाइनबाट बचाएको भए पनि भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहायताले गोल मान्य भएको थियो ।


दोस्रो हाफमा जापान आक्रमणमा उत्रिएपछि गोलरक्षक डेविड ओस्पिना केही राम्रो बचाउ गर्न बाध्य भए । खेलको १७ मिनेट बाँकी हुँदा केइसुके होन्डाले हानेको कर्नरमा ओसाकोले हेडर गोल गर्दै जिततर्फ अग्रसर गराए । खेलको अन्त्यतिर रोड्रिग्वेजले बराबरी गर्ने मौका पाए पनि गोल गर्न नसक्दा पहिलो खेलमै हार बेहोर्नुपर्‍यो ।


प्रकाशित : असार ५, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?