चीन–नेपाल मैत्री दौड

चेतनाथ आचार्य

बेइजिङ — बेइजिङस्थित खेलकुद विश्वविद्यालय ‘स्पोर्ट्स युनिभर्सिटी’ को प्राङ्गणमा चीन–नेपाल दौड प्रतियोगिताको आयोजना भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दुक पड्काएर दौड प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

चीन–नेपाल मैत्री दौड

चीन र नेपालबीचको मैत्री भावना आदानप्रदान गर्दै आपसी सम्बन्धलाई जनस्तरमा फैलाउनका लागि सो प्रतियोगिताको आयोजना गरिएको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर हरिश्चन्द्र घिमिरेले कान्तिपुरलाई बताए ।


चीनका लागि नेपाली दूतावास र चीन सरकारको खेलकुद विभागको संयुक्त आयोजनामा भएको सो दौड प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धन हुने घिमिरेले दाबी गरे । उक्त दौड प्रतियोगितामा एक सयजना चिनियाँ र एक सयजना नेपाली युवा सहभागी भएका थिए ।


प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय तीनवटै पदमा चिनियाँ युवा विजयी भए । प्रतियोगिताका विजयीलाई क्रमश: दुई हजार, पन्ध्र सय र एक हजार चिनियाँ युआनसहित कप तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विजयीलाई नेपालका मुख्यसचिव लोकदर्शन रेग्मीले पुरस्कार वितरण गरे । दौड प्रतियोगितामा सहभागी चिनियाँ तथा नेपाली युवा निकै उत्साही थिए । दुई देशबीचको मैत्री सम्बन्धलाई अझ घनिष्ट बनाउन र जनस्तरमा सकारात्मक सन्देश दिनका लागि यस प्रकारका गतिविधिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागी युवाहरूले बताए ।


बेइजिङस्थित पाकिस्तानी कलेजमा कक्षा ९ मा अध्ययनरत प्रनुप अधिकारी दुई देशबीचको प्रतियोगितामा भाग लिन पाउँदा आफू उत्साहित भएको बताए ।


प्रधानमन्त्री ओली दौड प्रतियोगिताको उद्घाटन गर्न विश्वविद्यालय पुग्दा उनका साथमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए । उक्त समारोहमा चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री चाओ चितानसहित नेपालका लागि चिनियाँ राजदूत यु होङ पनि सहभागी थिए ।


दौड प्रतियोगिताको उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री चाओ चितानले भेटवार्ता गरेका थिए । सो अवसरमा उनले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने उल्लेख गर्दै त्यसका लागि दुई देशका सम्बन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताए ।

प्रकाशित : असार ८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?