सन्दीपको अर्को सानदार प्रदर्शन

काठमाडौँ — सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा अर्को सानदार प्रदर्शन गरेका छन् । उनको प्रदर्शनपछि मोन्ट्रियल टाइगर्सले चौथो खेलमा आएर पहिलो जित हात पारेको छ । मोन्ट्रियलले बुधबार इडमोन्टन रोयल्सलाई १५ रनले हराएको हो । 

सन्दीपको अर्को सानदार प्रदर्शन

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १६ रनमात्र खर्चेर १ विकेट लिए । टोरन्टोमा भइरहेको प्रतियोगितामा सन्दीपले भ्यानकोभर नाइटसँग ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर १ विकेट लिएका थिए । वेस्ट इन्डिज ‘बी’ सँग २ विकेटले पराजित खेलमा निकै महँगा साबित सन्दीपले ४ ओभरमा ५७ रन खर्चेर १ विकेट लिएका थिए ।


टस हारेर ब्याटिङ गर्न आएको मोन्ट्रियलले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सकेको थियो । टोलीका अस्ट्रेलियन खेलाडी हेनरिक मोइसेसले ५०, नाजिबुल्लाह जाद्रानले नटआउट २२ र सिकन्दर राजाले २० रन बनाएका थिए । इडमोन्टनका वायने पार्नेलले ३ विकेट लिए ।


तेस्रो ओभरमै मोट्रियलका कप्तान लासिथ मालिङ्गाले सन्दीपलाई बल थमाएका थिए । उनले पहिलो ओभरमै आफ्ना कप्तान र टोलीलाई निराश बनाएनन् । सन्दीपले पहिलो ओभर नै मेडन फाल्ने क्रममा वेस्ट इन्डिजका ब्याट्सम्यान एन्ड्रयु फ्लेचरलाई ९ रनमा बोल्ड गरेका थिए । सन्दीपले पछिल्लो खेलमा पनि आफ्नो पहिलो ओभर विकेट मेडन फालेका थिए । त्यसपछि ३ ओभरमा सन्दीपले १६ रनमात्र खर्चेका थिए । खेलभर सबैभन्दा किफायती बलिङका लागि सन्दीपलाई क्याप प्रदान गरिएको थियो ।


म्यान अफ द म्याच अस्ट्रेलियन पिटर सिडेलको ४ तथा मालिङ्गा र केभोन कुपरले २–२ विकेट लिएपछि सन्दीपको मोन्ट्रियलले इडमोन्टनलाई १९.१ ओभरमा १ सय १४ रनमा अलआउट गर्‍यो । यस जितले मोन्ट्रियलको प्ले–अफमा पुग्ने सम्भावना ब्युँत्याएको छ । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा मोन्ट्रियल चौथो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मोन्ट्रियलले पुछारको टोरन्टो नेसिनल्ससँग खेल्न बाँकी छ ।

प्रकाशित : असार २१, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?