२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

[विश्लेषण] सन्तुलित फ्रान्सको शक्ति

विश्वकप विश्लेषण
नवीन न्यौपाने

काठमाडौँ — यसपालिको विश्वकपमा बल पोसेसन राख्ने टोलीले खेल जितेकोभन्दा हारेको बढी देखियो । फाइनलमा पनि क्रोएसियाले बल पोसेसन राखे पनि फ्रान्सले मौकाको सदुपयोगमा गोल गरेर जित दर्ता गर्न सक्यो । खेलको सुरुआती १५ मिनेट फ्रान्सले रक्षात्मक रणनीतिमा खेल्यो ।

[विश्लेषण] सन्तुलित फ्रान्सको शक्ति

क्रोएसियाले बल पोसेसनमा ध्यान दिँदा फ्रान्सले आक्रमणमा जाने कुनै जोखिम उठाएन । खेल अगाडि बढेसँगै फ्रान्सले विस्तारै आक्रमणमा पनि जोड दिन थाल्यो ।

प्रतियोगितामा सेट पिसमा भएका गोलको क्रमलाई निरन्तरता दिँदै फ्रान्सले फ्रिकिकमा अग्रता लियो । एन्टोइन ग्रिजमनले विश्वकपमा गरेको राम्रो प्रदर्शनलाई जारी राख्दै उत्कृष्ट फ्रिकिक प्रहार गरे । भाग्यमानी भन्नुपर्छ मारियो मान्जुकिचको आत्मघाती गोलसँगै फ्रान्स अगाडि बढ्यो । फ्रान्सले अग्रता बचाउन भने असफल रह्यो । यद्यपि फ्रान्स पहिलो हाफमै अर्को सेटपिसको सहाराले खेलमा फर्कियो । कर्नरमा ह्यान्डबल भएपछि प्राप्त पेनाल्टीलाई एन्टोइन ग्रिजमनले गोलमा परिणत गरे ।

अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा आक्रमणलाई थप प्राथमिकता दियो । केलियन एमबाप्पे र ग्रिजमनलाई लक्षित गरेर तीव्र गतिमा आक्रमण गर्ने फ्रान्सको रणनीति देखियो । क्रोएसियाली डिफेन्सले आक्रमण रोक्न नसक्दा लगतार दबाबसँगै गोल पनि निस्कियो । पाउल पोग्बा र एमबाप्पे आफैंले गोल गर्दै फ्रान्सलाई दोस्रो विश्वकप उपाधि नजिक पुर्‍याए । फ्रान्सले उपलब्ध खेलाडीको बलियो पक्षलाई प्रयोग गर्दै डिफेन्सबाट आक्रमणको ट्रान्जिसन पिरियडको भरपूर सदुपयोग गर्‍यो ।

क्रोएसियाले पहिलो हाफमा बल पोसेसन राखेर राम्रो फुटबल खेल्यो । मिडफिल्डको बलियो पक्षले अलि कमजोर देखिएको फरवार्डलाई सहयोग गर्दै आएको थियो । फाइनलमा भने अग्रपंक्ति कमजोर हुँदा गोल गर्न सकेन । फ्रान्सले रक्षात्मक रणनीति अपनाउँदा क्रोएसियाले डिफेन्स चिर्न सकेन । एक पटक खेलमा बराबरी गर्दै पुनरागमन गरे पनि त्यसपछि फर्कन कठिन भयो । आक्रमणबाट डिफेन्समा आउँदा क्रोएसियाले सम्हालिन सकेन ।

फाइनलमा दुवै तर्फका गोलरक्षकबाट अपेक्षित प्रदर्शन भएन । सम्भव भएका गोलमा गोलरक्षकले अझै राम्रो निर्णय लिनसक्थे । समग्रमा भन्नुपर्दा सन्तुलित फ्रान्सले युवा जोशको भरपूर उपयोग गर्दै पूरै समय खेलमा आफूलाई कायम राख्यो । क्रोएसियाले अघिल्ला चरणमा लगातार १ सय २० मिनेट खेलेका कारण पनि केही थकान हुने सम्भावना थियो । क्रोएसियाले थकानको कुनै सम्भावना नदेखाए पनि स्तरमा भने फ्रान्सले आफूलाई अब्बल पार्न सक्यो ।

युवा टोली हुनाका बाबजुद फ्रान्सलाई सुरुआतदेखि नै दाबेदारमा हेरिएको थियो । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले सन् १९९८ मा कप्तानका रूपमा उपाधि जितेपछि अहिले प्रशिक्षकको भूमिका पनि राम्रोसँग निभाए ।

ठूला टोलीलाई कुशलतापूर्वक प्रदर्शन गर्दै हराएको फ्रान्सले विश्व फुटबलमा एमबाप्पेका रूपमा नयाँ स्टार पाएको छ । उनले क्लब स्तरमा कलिलो उमेरमै उच्च स्तरमा खेल्दै आएका छन् र विश्वकपले उनको स्तर पुष्टि गरेको छ । यसै गतिमा अगाडि बढ्ने हो भने उनी मैदानभित्र नयाँ आशाको केन्द्रमा रहनेछन् ।

प्रकाशित : श्रावण १, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?