सुवासको पुनरागमन

काठमाडौँ — विकेटकिपर/ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । उनलाई समेट्दै नेपालले इंग्ल्यान्डको लर्डसमा मेरीलेबोन क्रिकेट क्लब (एमसीसीसी) र नेदरल्यान्ड्सविरुद्ध हुने त्रिकोणात्मक शृंखला र नेदरल्यान्ड्स भ्रमणका लागि मंगलबार १५ सदस्यीय टोली छनोट गरेको छ ।

सुवासको पुनरागमन

नेपालले जुलाई २९ मा लर्डसमा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्नेछ । खराब फर्म र चोटका कारण पछिल्लो दुई वर्षयता सुवास नेपाली टोलीमा थिएनन् । पछिल्लोपल्ट सुवासलाई ठीक दुई वर्षअगाडि नेपालले लर्डसमा खेल्दा टोलीबाट हटाइएको थियो । अहिले लर्डसमा खेल्नु अगाडि टोलीमा राखिएको छ । दुई वर्षअगाडि इंग्ल्यान्ड भ्रमणमा रहे पनि ऐतिहासिक लर्डस मैदानमा एमसीसीसँग खेल्दा उनी प्लेइङ ११ मा थिएनन् ।


‘२–३ वर्षपछि पुनरागमन गर्न पाउँदा निकै खुसी छु । मुख्य भनेको नेपालले लर्डस मैदान र पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल्दैछ, त्यसकै हिस्सा हुन पाएको छु,’ सुवासले कान्तिपुरसँग भने, ‘फेरि मैले शक्ति (गौचन) दाइसहित पारस खड्खा, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मीजस्ता खेलाडीसँग खेल्ने अवसर पाएको छु ।’ जेठमा राजधानीमा भएको प्रधानमन्त्री कप क्रिकेटमा २ सय ८ रन बनाएपछि उनलाई राष्ट्रिय टोलीमा फर्कन ढोका खुलेको थियो । उनले प्रदेश २ विरुद्ध शतक बनाएका थिए ।


सुवास नेपालबाट वान–डेमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले २०१२ मा मलेसियामा अमेरिकाविरुद्ध बनाएको १ सय १५ रन नेपाली खेलाडीको वान–डे क्रिकेटमा उच्च स्कोर हो । तर उनले २०१५ को नोभेम्बरमा पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियसिपमा खेलेयता नेपालबाट आधिकारिक खेल खेलेका छैनन् । यसै साता हुने युरोप भ्रमणमा नेपाली टोलीमा परिवर्तन गरिएका उनी एक्ला खेलाडी हुन् । उनलाई दिलीप नाथको स्थानमा ल्याइएको हो ।


नेपाल पछिल्लो पटक जिम्बावेमा गएर विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दै आठौं भई वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । त्यसमा रहेका अन्य १४ खेलाडी यथावत् छन् । इंग्ल्यान्ड र नेदरल्यान्ड्स जाने टोलीमा छनोट खेलाडीमा पारस खड्का (कप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी र सुवास खकुरेल छन् ।


आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस रहेको छनोट समितिले गरेको छनोटमा विनोद भण्डारी, सुनील धमला, सुशन भारी र प्रदीप ऐरी वैकल्पिकमा राखिएको छ । नेपालले जुलाई २९ मा लर्ड्समा एमसीसी र नेदरल्यान्ड्ससँग दुई ट्वान्टी–२० खेल्नेछ । नेदरल्यान्ड्सको खेललाई आधिकारिक ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता छ ।


अगस्ट १ र ३ मा नेपालले एमस्ट्राडममा नेदरल्यान्ड्ससँग दुई वान–डे अन्तर्राष्ट्रिय खेल्नेछ । नेपालले इतिहासमै पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

प्रकाशित : श्रावण २, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?