उत्कृष्ट विश्वकप

बीबीसी

मस्को — विश्वकप २०१८ साँच्चै के अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट विश्वकप फुटबल रह्यो त ? यसको उत्तर सकारात्मक हो भने यसलाई समर्थन गर्ने तथ्यांकहरू छन् । सायद यसपालिको विश्वकप धेरैभन्दा धेरैले अपेक्षा गरिएको फुटबलको सर्वोच्च प्रतियोगिता थिएन । यसका धेरै कारण होलान् ।

उत्कृष्ट विश्वकप

यो नै यसपालिको विश्वकपका लागि राम्रो रह्यो उत्तिकै धेरै कारणले । उद्घाटन खेलमा रुसले साउदी अरेबियाविरुद्ध ५ गोल गरेयता पूरा प्रतियोगितामा कुनै पनि दिन नाटकीय घटनाको अभाव भएन । प्रत्येक दिन उत्तिकै रोमाञ्चकता छायो । समूह चरण हुँदै नकआउट चरण अनि फाइनल सबैमा त्यो तत्त्व थियो । जुन अपेक्षा गरिन्छ माथिल्लो दर्जाको फुटबलमा । विश्वकप प्रत्येक ४–४ वर्षमा आयोजना हुन्छ । प्रत्येक अवसरमा केही न केही नयाँ हुनुपर्छ ।

यो अर्थमा यसपल्टको विश्वकपले निराश पनि पारेन । जस्तो, दोस्रो दिनको खेलमा स्पेन र पोर्चुगलले ३–३ को बराबरी खेले । त्यसमा क्रिस्टियानो रोनाल्डोले अन्तिम समयतिर गोल गरेका थिए । उनले यस्तो गोल के गरे पूरा प्रतियोगितामा यो प्रवृत्ति देखियो । यसपल्ट ९ गोल यस्तो रहे, जुन अन्तिम मिनेट वा इन्ज्युरी समयमा भयो । र, यसले खेलको भाग्य पनि परिवर्तन गरायो । यस्तो गोल गर्ने टिम विजयी रहे । चार यस्ता अन्तिम समयका गोल रहे, जसले बराबरीका नतिजा सम्भव पारेको थियो । फुटबलमा अन्तिम समयमा हुने गोल वास्तवमै नाटकीय हुन्छ । यो कसैका लागि खुसी हुनसक्छ भने कसैका लागि असीम पीडादायी । सन् २०१४ को विश्वकपमा यस्तो गोल चारमात्र भएको थियो ।

विश्वकपका अरू संस्करणमा यस्ता गोल निकै बिरलै मात्र पाइन्छ । ठूला र बलिया भनिएका टिम प्रतियोगिताबाट चाँडै फर्कियो भने यसले पनि दुईखाले भावना उत्पन्न गराउन सक्छ । पहिलो त रोमाञ्च, दोस्रो प्रतियोगिता निरस हुने डर । डिफेन्डिङ च्याम्पियन जर्मनी लिग चरणबाटै बाहिरियो । नकआउट चरण पुगेयता स्पेन, अर्जेन्टिना र ब्राजिल बाहिरिए ।

यसपल्टको विश्वकपमा सेमिफाइनलमा दुई पूर्व विजेता थिए । दुई टिम यस्ता थिए, जसले यसअघि विश्वकप जितेको थिएन । फाइनलमा पनि यस्तै भयो । एक टिम पूर्व विजेता अर्को नयाँ । यसले पनि रोमाञ्च प्रदान गर्छ । नयाँ पुस्ताका स्टार खेलाडीको उदयका रूपमा यसपल्टको विश्वकपलाई लिन सकिन्छ । प्रतियोगिता सुरु हुनुअगाडि धेरैलाई लागेको थियो, यसपल्ट चम्कने खेलाडी भनेका रोनाल्डो र लियोनल मेसी हुनसक्छन् । तर समग्रमा दुवै फिक्का रहे । नेयमरले केही हदसम्म आफ्नो प्रतिष्ठा जोगाए । भलै उनले चोटको नाटक पनि धेरै गरे । खासमा यसपल्टको विश्वकपका सबैभन्दा ठूला नायक रहे फ्रान्सेली किशोर केलियन एमबाप्पे ।

अब त उनको तुलना पेलेसँग हुन सुरु भइसकेको छ । माथि नै भनेजस्तो प्रत्येक विश्वकपमा केही न केही नयाँ चाहिन्छ । यसअघिको विश्वकपमा पहिलोपल्ट गोललाइन प्रविधि प्रयोग भयो । यसपल्टको नयाँ रह्यो भार (भिडियो असिस्टेन्ट रेफ्री) । यसले प्रतियोगिता ठूलो र निर्णायक प्रभाव छोड्न सफल रह्यो । सुरुमा खेलाडीसँग यसलाई लिएर धेरै गुनासा थिए ।

पछि केही हदसम्म यी गुनासा सेलाए पनि । ‘भार’ कै कारण यसपल्ट १९ पेनाल्टीको निर्णय भयो । यति धेरै पेनाल्टी यसअघिको विश्वकपमा कहिल्यै भएको थिएन । फाइनलमै पनि ‘भार’ को प्रयोग भयो पेनाल्टी निर्णयका लागि । यसपल्ट सेट–पिसमा पनि धेरै गोल भए । यसपल्ट जति गोल भए, त्यसको ४३ प्रतिशत गोल सेट–पिसमा भएका थिए ।

– डन्कन एलेक्जेन्डर

बीबीसी

प्रकाशित : श्रावण ३, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?