२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सपनासँगै शक्तिकाे संन्यास

संन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन भन्छन्– ‘वान–डे अन्तर्राष्ट्रिय खेल्ने सानैदेखिको सपना हो । पहिलो ओडीआई खेलेर खेलजीवनबाट विश्राम लिन पाउँदा निकै भाग्यमानी ठान्नेछु ।’
सुबास हुमागाईं

काठमाडौँ — ‘शक्ति दाइ नेपाली क्रिकेटको पर्याय नै हुनुहुन्छ ।’ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पहिलो वान–डे खेल्न युरोप भ्रमण जानुअघि बुधबार आयोजित बिदाइ कार्यक्रममा क्रिकेटर शक्ति गौचनबारे यसो भने ।

सपनासँगै शक्तिकाे संन्यास

पारसले भनेजस्तै शक्ति वास्तवमै नेपाली क्रिकेटको पर्याय हुन् । दुई दशक लामो क्रिकेट करिअरमा शक्तिले ब्याट र बल दुवैमा आफूलाई सिद्ध पारेका छन् । नेपाली क्रिकेटको वान–डे अन्तर्राष्ट्रिय मान्यतासम्म आइपुग्दा शक्ति सधैं टोलीका सहयात्री रहे । यिनै शक्तिले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले युरोप भ्रमणबाट फर्केर नेपालमा हुने खेलपछि संन्यास लिने घोषणा गरेका हुन् । उनले नेदरल्यान्ड्सविरुद्ध दुई सातापछि हुने नेपालको पहिलो वाने–डे शृंखलामा सहभागिता जनाउने छन् ।

‘नेपाली समर्थकसामु अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाखेल्दै करिअर बिट मार्ने मेरो चाहना हो । कुनै पनि खेलाडीको लागि त्यो क्षण अविस्मरणीय हुन्छ । हामीले खेल्ने पहिलो ओडीआई नेपालमा भएको भए सायद त्यो मेरो अन्तिम खेल हुन्थ्यो,’ शक्तिले भने, ‘मैले प्रशिक्षक, कप्तान, व्यवस्थापनसँग छलफल गरेर यो निर्णय लिएँ र उहाँहरूले पनि मलाई साथ दिनुभयो । यो मेरा लागि निकै ठूलो अवसर हो ।’

कार्यक्रममा सधैंझैं हँसिलो मुद्रामा देखिएका शक्तिले आफ्नो क्रिकेट करिअर सफल भएको अनुभव सुनाए । ‘हामीले भुइँमा बसेर खाना खानेदेखि पाँचतारे होटलसम्मको यात्रा तय गरेका छौं । मैदानभित्रको कुरा गर्दा वर्तमान नेपाली क्रिकेट हालसम्मकै उत्कृष्ट स्थितिमा छ । हामीले अहिले विकल्पका रूपमा प्रचुर सम्भावना बोकेका युवा तथा केही अनुभवी खेलाडी पाएका छौं । धेरै पहिलादेखि मैले आफ्नो विकल्पमा खेलाडी आएको अवस्थामा कुनै पनि बेला ठाउँ छाड्ने बताएको थिएँ । यो नै उपयुक्त समय हो भन्ने लागेको छ,’ उनले भने ।

उनले वान–डे अन्तर्राष्ट्रिय खेल्ने सानैदेखिको सपना भएको पनि बताए । ‘कुनै पनि क्रिकेट खेलाडीले वान–डे अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सपना बोकेको हुन्छ । म पहिलो ओडीआई खेलेर खेलजीवनबाट विश्राम लिन पाउँदा निकै भाग्यमानी ठान्नेछु । जसरी मैले ओडीआई खेलेर करिअर बिट मार्दैछु, अहिलेको युवापुस्ताले नेपालको टेस्ट खेल्ने सपना पूरा गरोस् भन्ने चाहन्छु,’ ३४ वर्षे शक्तिले भने ।

सन् २००२ मा ओमानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका शक्तिले त्यसअघि नै उमेर समूहमा आफ्नो प्रभाव जमाइसकेका थिए । करिअरको सुरुआत शीर्ष श्रेणीका ब्याट्सम्यानबाट गरेका शक्तिले करिअरको अन्त्य एक सफल स्पिनर भएर गर्दैछन् । ब्याटिङ होस् या बलिङ दुवै पक्षमा उनले नेपाली क्रिकेटको इतिहासमा अमिट छाप छाडेका छन् । ब्याटिङमा नेपालका लागि पहिलो शतक बनाएका शक्ति बलिङतर्फ ह्याट्रिक विकेट लिने एकमात्र पुरुष खेलाडी हुन् । उनले सन् २००५ मा इटालीविरुद्ध शतक बनाएका थिए । सन् २०१२ मा डेनमार्कविरुद्ध ट्वान्टी–२० विश्वकप छनोटमा दुर्लभ ह्याट्रिक विकेट उनको नाम रह्यो ।

यसबाहेक नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने उनै पहिलो हुन् । सन् २००४ को यू–१९ विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई १ विकेटले पराजित गर्दा कप्तान शक्तिले तेस्रो नम्बरमा आएर नटआउट ५० रन जोडेका थिए । त्यतिबेला टोलीमा रहेका १७ वर्षे पारस हाल राष्ट्रिय टोलीका कप्तान छन् ।

पारसले शक्तिको खेलप्रतिको लगाव र मिहिनेतबारे खुलेर प्रशंसा गरे । ‘शक्ति दाइ नेपाली क्रिकेटकै सबैभन्दा मिहिनेत गर्ने खेलाडी हुनुहुन्छ । मलाई लाग्दैन म आफैं उहाँ जतिको उमेरमा खेलिरहेको हुन्छु भनेर । क्रिकेट खेल्ने मात्र हैन खेलको विकासका लागि उहाँ अनवरत लाग्नुभएको छ,’ कप्तान खड्काले थपे, ‘मैले क्रिकेट खेल्न सुरु गर्दा शक्ति दाइसँग खेल्न पाउँछु भन्ने सोचेको पनि थिइनँ । उहाँले नेपाली क्रिकेटलाई आफ्नो जीवन सुम्पनुभएको छ । राज्य र सम्बन्धित पक्षले यसको कदर गर्दै सम्मानजनक पुरस्कार घोषणा गर्ने आशा गरेको छु ।’

‘सफल क्रिकेट करिअरका लागि उहाँलाई बधाई दिन चाहन्छु,’ उनले भने, ‘मैदानभित्र उहाँको खेलकौशल मात्र नभएर एक असल व्यक्तित्वको कमी महसुस हुनेछ ।’

प्रशिक्षक जगत टमाटाले शक्तिजस्तो खेलाडी तयार गर्न नेपाली क्रिकेटले धेरै समय कुर्नुपर्ने बताए । ‘शक्तिको करिअरको सुरुआती दिनदेखि म उनकै नजिक छु । उनले खेलाडीको रूपमा नेपाली क्रिकेटलाई ठूलो योगदान दिएका छन् । शक्तिजस्तो अर्को खेलाडी नेपाली क्रिकेटले पाउला तर त्यसको लागि लामो समय लाग्नेछ । जुन शक्ति मैले चिनेको छु, उनले यसपछि पनि नेपाली क्रिकेटकै लागि आफ्नो समय दिनेछन्,’ प्रशिक्षक टमाटाले भने ।

शक्ति आफैंले भने अन्तर्राष्ट्रिय क्रिकेटबाट बिट मारे पनि घरेलु क्रिकेटमा भने अझै खेल्ने बताए । रूपन्देहीमा आफ्नै क्रिकेट एकेडेमी स्थापित गरिसकेका उनले आफ्नो क्रिकेटबाहिर जाने सोच नरहेको सुनाए । ‘म जे छु क्रिकेटकै कारणले छु । आउने दिनमा पनि क्रिकेटमा रहेर नै देशको सेवा गर्नेछु,’ उनले टुंग्याए ।

शक्ति गौचनका मुख्य उपलब्धि
-डेब्यु सन् २००२ एसीसी ट्रफीमा ओमानविरुद्ध
-राष्ट्रिय टोलीका लागि १ हजार रन पूरा गर्ने पहिलो खेलाडी
-१ सय विकेट लिने चौथो खेलाडी (महबुब आलम, वसन्त रेग्मी र विनोद दासपछि)
-यू–१७ एसिया कप बंगलादेश २००१ मा पहिलोपटक खेलेको (कप्तान)
-यू–१९ र राष्ट्रिय टोलीबाट शतक प्रहार गर्ने पहिलो खेलाडी
-विश्व क्रिकेट लिग संरचनामा शतक बनाउने पहिलो खेलाडी (२००५ मा इटालीविरुद्ध डिभिजन २ छनोट)
-यू–१९ मा माल्दिभ्सविरुद्ध पहिलो शतक
-कप्तानका रूपमा सन् २००३ मा एसीसी यू–१९ को उपाधि जित्दै यू–१९ विश्वकपमा छनोट
-२००४ को यू–१९ विश्वकपमा ५० ओभर खेल्दै अविजित अर्धशतक जोड्दै दक्षिण अफ्रिकालाई १ विकेटले हराएको
-सन् २००८ पछि बलरको भूमिकामा (डिभिजन ५ पछि)
-सन् २०१२ मा डेनमार्कविरुद्ध विश्व ट्वान्टी–२० छनोटमा ह्याट्रिक विकेट (पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा एकमात्र ह्याट्रिक विकेट)

प्रकाशित : श्रावण ३, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?