कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

क्रिकेट टोली युरोप यात्रामा

काठमाडौँ — पहिलो वान–डे अन्तर्राष्ट्रिय शृंखला तथा लर्ड्समा हुने त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नका लागि नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने भएको छ । मार्चमा सम्पन्न विश्वकप छनोटबाट वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको नेपालले नेदरल्यान्ड्ससँग दुई वान–डे खेल खेल्दैछ ।

क्रिकेट टोली युरोप यात्रामा

त्यसअघि नेपाली टोलीले लर्ड्समा हुने त्रिकोणात्मक ट्वान्टी–२० पनि खेल्नेछ । साउन १३ मा हुने एकदिने शृंखलामा नेपालले आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको सामना गर्नेछ । नेपाल र नेदरल्यान्ड्सको खेललाई आईसीसीले ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएको छ । त्यसअघि नेपाली टोलीले बेलायतमै चार अभ्यास खेल खेल्नेछ । युरोप भ्रमणका लागि १५ खेलाडीको नाम मंगलबार घोषणा गरिएको छ ।

प्रशिक्षक जगत टमाटाले नेपालले खेल्ने पहिलो वान–डे अन्तर्राष्ट्रिय खेलका लागि प्रशिक्षकको भूमिका पाउँदा निकै उत्साहित रहेको बताए । ‘राष्ट्रिय खेलाडीका रूपमा क्रिकेटमा रहेर अहिले वान–डे खेल्दा प्रशिक्षकको भूमिकामा हुँदा निकै खुसी लागिरहेको छ । म मात्र हैन, टोली नै उत्साहित छ । हामीसँग चार वर्षका लागि वान–डे मान्यता छ । अब यसलाई लिएर कसरी अगाडि बढ्छौं भन्ने हाम्रो हातमा छ । सबै खेलाडीले यो भ्रमणलाई गम्भीरतापूर्वक लिएर मिहिनेत गरिरहेका छन्,’ टमाटाले भने ।

युवा र अनुभवी खेलाडीको समिश्रण रहेको टोली निकै सन्तुलित रहेको टमाटाको बुझाइ छ । ‘हामीले डिभिजन–२ देखि राम्रो क्रिकेट खेल्दै नतिजा ल्याइरहेका छौं । टोलीभित्र प्रतिस्पर्धा बढ्नुले मौका पाएको खण्डमा राम्रो प्रदर्शन गर्न सबै खेलाडी दृढ छन्,’ उनले भने । ओपनर सुवास खकुरेलको राष्ट्रिय टोलीमा पुनरागमनसँगै टोलीले उनीमाथि राखेको विश्वास र महत्त्व पूरा गर्नेमा टमाटा विश्वस्त देखिए ।

कप्तान पारस खड्काले पनि टोलीमा प्रतिस्पर्धा बढ्नुले समग्र क्रिकेटको विकासमै सहयोग पुग्ने बताए । ‘पछिल्लो प्रतियोगिताको तुलना गर्ने हो भने टोलीमा एक खेलाडीमात्र परिवर्तन भएका छन् । तर आन्तरिक रूपमा प्रतिस्पर्धा निकै बढेको छ जुन राम्रो संकेत हो । टोलीका हरेक खेलाडी आफ्नो स्थान बलियो बनाउन मैदानभित्र प्रदर्शन गर्नैपर्ने अवस्था छ । यसले टोलीलाई फाइदा पुर्‍याउँछ,’ कप्तान खड्काले भने ।

नेपालले पहिलो वान–डे अन्तर्राष्ट्रिय स्तरमा खेल्दा वर्तमान टोली अहिलेसम्मकै उत्कृष्ट रहेको पारसको बुझाइ छ । ‘हामी पहिलो अन्तर्राष्ट्रिय खेलको सुरुआत जितबाट गर्न चाहन्छौं । युवा र अनुभवी खेलाडीको समिश्रण बेजोड छ र सबै राम्रो लयमा छन् । सबै पक्षमा टोली सन्तुलित देखिएको छ,’ उनले थपे, ‘पहिला पनि राम्रो टोली हुने गथ्र्यो तर अहिले खेलाडीमा परिपक्वता आएको छ । युवा खेलाडीकै भरमा पनि हामीले केही खेल जितेका छौं । सम्पूर्ण टोली एकीकृत भएर अगाडि बढ्दा लक्ष्य प्राप्त गर्ने विश्वास छ ।’

भ्रमण टोलीमा १५ खेलाडी र ४ अफिसियल छन् । प्रशिक्षक जगत टमाटा, व्यवस्थापक रमन सिवाकोटी, ट्रेनर सुवास पात्रो र फिजियो दिनेश भट्ट पनि टोलीमा छन् । बुधबारै टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिदाइ गरेका थिए ।

मैत्रीपूर्ण खेल युरोप भ्रमण तालिका
साउन ५, शनिबार – नेपालविरुद्ध हग (५० ओभर)
साउन ७, सोमबार – नेपालविरुद्ध सेन्ट क्रस (टी–२०)
साउन ९, बुधबार – नेपालविरुद्ध इस्ट लन्डन ११ (५० ओभर)
साउन १०, शुक्रबार – नेपालविरुद्ध इस्ट लन्डन सार्क्स (टी–२०)

त्रिकोणात्मक सिरिज लर्ड्स मैदान, लन्डन
साउन १३, आइतबार – नेपालविरुद्ध मेरिलेबोन क्रिकेट क्लब (टी–२०)
साउन १३, आइतबार – नेपालविरुद्ध नेदरल्यान्ड्स (टी–२० अन्तर्राष्ट्रिय)

वान–डे अन्तर्राष्ट्रिय शृंखला नेपाल–नेदरल्यान्ड्स (एमस्टिलभिन मैदान)
पहिलो वान–डे – साउन १६, बुधबार
दोस्रो वान–डे – साउन १८, शुक्रबार

प्रकाशित : श्रावण ३, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?