कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लर्डसमा नेपाली टिमलाई स्वागत गर्न आतुर छ डायस्पोरा

नविन पाेखरेल

लन्डन — करिब दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिमलाई फेरि स्वागत गर्न आतुर छ यहांको नेपाली डायस्पोरा । २९ जुलाईमा नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा हुने टी टवान्टी त्रिकोणात्मक श्रृंखला हेर्न खेलप्रेमी युवा उत्साहित भएका हुन् । 

लर्डसमा नेपाली टिमलाई स्वागत गर्न आतुर छ डायस्पोरा

लन्डन निवासी प्रिति खड्का क्रिकेट खेल त्यति नबुझे पनि साथीहरुसंग खेलाडीलाई हौसला र प्रोत्साहन दिन लर्डस् जाने तयारीमा रहेको बताउँछिन् । मिसेस यूके नेपाल टिमका गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई र अमृता गिरी गजुरेलले पनि खेल हेर्न टिकट लिइसके । ‘घर नजिकै आउने नेपाली टिमलाई स्वागत गर्न हामी उत्सुक छौं’, गिताले भनिन्, ‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय जगतमै नाम उँचो राख्दा उनीहरुलाई हौसला दिनु हाम्रो कर्तव्य पनि हो ।’


उक्त इभेन्टमा दर्शक उपस्थिति उल्लेख्य बनाउन यतिखेर लन्डनस्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ बेलायत, तमुधिं यूके, बुद्ध फाउण्डेशन यूके, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत जस्ता नेपाली संघसंस्था प्रत्यक्ष जुटेका छन् ।


३० हजार दर्शक क्षमताको उक्त क्रिकेट मैदानमा कम्तीमा १० हजार दर्शक उतार्न नेपाली समुदाय क्रियाशिल छ ।


राजदूत डा. दुर्गाबहादुर सुवेदीले हालै लन्डनस्थित नेपाली दूतावासमा प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल राखेर उल्लेख्य दर्शक सहभागिताका लागि आग्रह गरेका थिए ।


‘लर्डस जस्तो विश्व प्रसिद्ध क्रिकेट मैदानमा नेपाली टोली खेल्न आउँदा नेपालकै पहिचान, परिचय र प्रतिष्ठा बढ्छ’, राजदूत डा. सुवेदीले कान्तिपुरसंग भने, ‘यस खेलले नेपाली समुदायलाई एकतावद्ध गराउन, नेपालको पर्यटन प्रवर्धन एवं दुई देशबीच सरकार र जनस्तरमा सम्वन्ध अभिवृद्धि गर्न मद्दत गर्छ भन्ने मेरो विश्वास छ ।’


राजदूत डा. सुवेदीले लर्डसमा आएर नेपाली जनसमुदायलाई प्रोत्साहन र हौसला प्रदान गर्न विशेष अपिल गरेका छन् । ‘हामीले समस्त जनसमुदाय, ब्रिगेड अफ गोर्खाज र भूतपूर्व गोर्खाहरुलाई समेत परिचालित गरेका छौं’, राजदूतले भने, ‘यसका साथै ब्रिटिश सांसदहरु, नेपालका लागि पूर्व ब्रिटिश राजदूतहरु, ब्रिटेन नेपाल सोसाइटी जस्ता बेलायतीले नेतृत्व गरेका संघसंस्थालाई पनि दूतावासले परिचालन गरेको छ ।’


बेलायतको ठूलो जातीय संस्था तमुधिं यूकेले क्या. पिताम्बर गुरुङलाई संयोजक तोकी टिकेट र अन्य व्यवस्थापन गर्न जिम्मा दिएको छ । लन्डन साउथ इष्टका युवाहरु पनि क्रिकेट खेल सफल बनाउन प्रचार प्रसार तथा टिकेट बिक्रीलाई प्राथमिकता दिइरहेका छन् ।


नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगीमगरले इभेन्ट ऐतिहासिक बनाउन मिडियाले पूर्ण साथ दिएको बताउंदै सहभागिताका लागि सबैमा आव्हान गरे ।


त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ भने त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुने तालिका छ । त्यस्तै नेपाली टोलीले बेलायतमा चार अभ्यास खेलसमेत खेल्नेछ ।


खेल खेल्न नेपाली टोलीका कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहितकुमार पौडेल बिहीबार साँझ लन्डन उत्रँदैछन् ।


म्याच आयोजनामा समन्वयकारी भूमिका निर्वाह गरेका लन्डनका एकजना स्वयंसेवक युवा प्रशान्त कुंवर नेपालले अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेको हेर्न पाउनु ठूलो अवसर भएको बताउँछन् । खेलमार्फत ब्रिटिश समुदायसंग समायोजन हुन र दुई देशबीच आपसी सम्वन्ध बढाउन समेत सहयोग पुग्ने विश्वास कुंवरलाई छ ।


एमसीसी र नेपाली क्रिकेट टिमबीचको सम्वन्धसन् २०१३ देखि प्रगाढ बन्दै गएको हो । त्यसयता एमसीसीले नेपाली खेलाडीलाई प्रशिक्षण र लर्डसमा खेल्ने अवसर दिइरहेको छ भने भविष्यमा नेपालको क्रिकेट विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।


सन् २०१५ मार्चमा पारस खड्काले एमसीसीमा आवद्ध भएर दुबइमा खेलेका थिए । पछि एमसीसी नेपाल गएर समेत खेलेको थियो । केही साताअघिमात्र कप्तान पारसले एमसीसीका उच्च पदाधिकारीसंग लर्डसमा भेट गरि नेपालको क्रिकेट विकासको सम्भाव्यताबारे छलफल गरेका थिए ।


प्रकाशित : श्रावण ३, २०७५ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?