अर्को गोल थप्ने प्रयास

फुटबलको एसियाड तयारी
सुबास हुमागाईं

काठमाडौँ — नेपालले सन् १९८२ को एसियाली खेलकुदमार्फत फुटबलमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा यामबहादुर घलेले अन्तर्राष्ट्रियस्तरमा गोलको खाता खोलेका थिए । त्यसयता नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो र नेपाली खेलाडीले थोरै नै भए पनि गोलको संख्या बढाउँदै आएका छन् । तर एसियाली खेलकुदमा भने आजसम्म पनि नेपालले अर्को गोल थप्न सकेको छैन ।

अर्को गोल थप्ने प्रयास

नेपालले अहिलेसम्म पाँचपटक एसियाली खेलकुद खेलेको छ । यसक्रममा १५ खेल खेल्दा ६५ गोल खाएको नेपालले विपक्षीविरुद्ध तिनै घलेले गरेको गोलबाहेक अर्को थप्न सकेको छैन । पछिल्लोपटक सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा नेपाल इराक र कुवेतसँग समान ४–० तथा जापानसँग ५–० ले पराजित हुँदै घर फर्केको थियो । यसपटक नेपाली टोली साफ च्याम्पियनसिपको तयारीलाई लक्षित गरेर इन्डोनेसिया प्रस्थान गर्दैछ ।

बंगलादेशले सेप्टेम्बर पहिलो साता साफ च्याम्पियनसिप आयोजना गर्दैछ । नेपाली टोली हाल एसियाली खेलकुद र साफ च्याम्पियनसिपका लागि एन्फा कम्प्लेक्समा दैनिक प्रशिक्षणमा व्यस्त छ । प्रारम्भिक ५० जनाको टोलीबाट छानेर प्रशिक्षक ग्योतोकु कोजीले साफ र एसियाली खेलकुदको तयारीका लागि हाल ३३ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । उनले एसियाली खेलकुदका लागि अन्तिम २० खेलाडीको नाम पनि तयार पारिसके । ओलम्पिक नियमअनुसार एसियाड खेल्ने टोलीमा ३ सिनियर खेलाडी पनि राख्न पाउने प्रावधान रहेको छ ।

डेढ महिनादेखि नियमित तयारीमा जुटेको टोलीमा यसपटक कोजीले खेलाडीको फिटनेसमा विशेष ध्यान दिएका छन् । फिटनेसकै लागि भनेर टोलीमा पहिलोपटक ’एथलेटिक ट्रेनर’ पनि नियुक्त गरिएको छ । विगतमा बलसहितको प्रशिक्षणलाई प्राथमिकता दिँदै आएका कोजी यसपटक समय पर्याप्त भएका कारण खेलाडीको फिटनेसमा ध्यान दिएको बताउँछन् ।

‘यसपटक टोलीले प्रशिक्षणका लागि पर्याप्त समय पायो । त्यसैले प्रारम्भिक छनोटपछि हामीले फिटनेसमै ध्यान दिएका छौं । लिग नभएका कारण मोफसलको नकआउट प्रतियोगिताको भरमा खेलाडीको फिटनेस औसत मात्र थियो । हामी दुई ठूला प्रतियोगिता खेल्न जाँदैछौं त्यसैले खेलाडीको फिटनेसमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ,’ कोजीले भने ।


फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सुजल श्रेष्ठ प्रतिस्पर्धा गर्दै (इन्सेटमा) ।

मिडफिल्डर विशाल राई राष्ट्रिय टोलीका नियमित सदस्यका रूपमा स्थापित भइसकेका छन् । मिडफिल्डमा डटेर खेल्ने उनी यसपटक एसियाली खेलकुदमा खेल्ने तीन सिनियर खेलाडीमध्ये एक हुन् । उनलाई चोटग्रस्त भरत खवासको स्थानमा ल्याइएको छ । उनीसँगै रोहित चन्द र किरण चेम्जोङ पनि सिनियर खेलाडीका रूपमा टोलीमा समावेश छन् । पछिल्लोपटक सोलिडारिटी कपमा चोटका कारण मैदान उत्रन नसकेका विशालले एसियन कप छनोटमा सबै ६ खेल खेले ।

राई आफैं पनि विगतको तुलनामा नेपाली टोली फिटनेसमा सुधार ल्याएको बताउँछन् ।’ यसपटक हाम्रो प्रशिक्षण रणनीतिक र बलसँग भन्दा पनि फिटनेस केन्द्रित रहेको छ । ठूला टोलीविरुद्ध खेल्नुपर्दा फिटनेस महत्त्वपूर्ण भएका कारण हामी मिहिनेत गरिरहेका छौं । एसियाली खेलकुदअघि मैत्रीपूर्ण खेलमा सहभागी हुन पाए सम्पूर्ण पक्षमा राम्रो तयारी हुने थियो,’ सेन्टर मिडफिल्डमा खेल्ने राईले भने ।

टोलीका अनुभवी सदस्य रोहित हाल इन्डोनेसियाकै पर्सिजा जकार्तामा व्यावसायिक फुटबल खेलिरहेका छन् । पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेपछि यस सिजनका लागि नयाँ सम्झौता गरेका रोहित इन्डोनेसियामा राम्रो नतिजा ल्याउन त्यसअघि मैत्रीपूर्ण खेल आवश्यक रहेको बताउँछन् । ’युवा भए पनि टोलीमा स्तरको कमी छैन । यहाँको वातावरणमा भिज्न केही कठिन भए पनि हामीले यसलाई साफको तयारीका रूपमा लिनुपर्छ । एसियाडपछि केही मैत्रीपूर्ण खेल खेलेर साफको लक्ष्य लिएर अगाडि बढ्न जरुरी छ, ’ चन्दले कान्तिपुरसँग भने ।

प्रशिक्षक कोजी पनि मैत्रीपूर्ण खेल नहुँदा टोलीको तयारी नै अधुरो हुने धारणा राख्छन् । हामीले यहाँ रहेर सक्दो राम्रो तयारी गरेका छौं । खेलाडी शारीरिक रूपमा तयार छन् अब मानसिक रूपमा विपक्षीको सामना गर्न र रणनीति अवलम्बन गर्न मैत्रीपूर्ण खेल आवश्यक छ । हामी प्रतियोगिताअगाडि कुन स्तरमा छौं त्यो जाँच्नु आवश्यक छ,’ जापानी मूलका कोजीले भने । अघिल्लो वर्ष नेपालले एसियन कप छनोटका लागि जापानमा विशेष प्रशिक्षण क्याम्प राखेको थियो ।



एन्फाले एसियाली खेलकुदको तयारीका लागि थाइल्यान्ड फुटबल संघसँग समन्वय गरेर आवश्यक तयारी थालिसकेको छ । तर प्रतियोगिताको खेल तालिका परिवर्तन भएका कारण सम्पूर्ण कार्यक्रम दुविधामा परेको छ । ‘पूर्वनिर्धारित कार्यक्रमअनुसार टोली अगस्ट पहिलो साता थाइल्यान्ड जाने र त्यहाँको राष्ट्रिय टोली र केही क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम थियो । प्रतियोगिताको तालिका परिवर्तन भएपछि कहिले जाने भन्ने यकिन भएको छैन । हाम्रो समूहमा थाइल्यान्ड पर्‍यो भने राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न मिल्दैन । त्यसैले अब खेल तालिकाको प्रतीक्षामा छौं,’ एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

एसियाली खेलकुदअन्तर्गत फुटबलमा यसअघि जारी खेल तालिकामा संयुक्त अरब इमिरेट्स (यूएई) र प्यालेस्टाइनको नाम छुटेपछि पुन: नयाँ खेल तालिका निकाल्नुपरेको हो । केही दिनमा नै नयाँ तालिका निस्केपछि नेपालको भावी योजना पनि तय हुनेछ । साफ च्याम्पियनसिपको लक्ष्य लिएर एसियाड पुगेको नेपाली टोलीमा राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् ।

बंगलादेशमा हुने प्रतियोगिताका लागि भने टोलीमा केही हेरफेर पक्कै हुनेछ । बंगलादेश जानुअघि अन्तिम तयारीस्वरूप केही मैत्रीपूर्ण खेलको व्यवस्था हुने हो भने नेपाली टोलीले हालसम्म पार गर्न नसकेको सेमिफाइनल चरण पार गर्ने सम्भावना प्रचुर छ । दक्षिण एसियाबाट अफगानिस्तानको बहिर्गमन र भारतले मुख्य टोली नपठाउने निर्णयले नेपालको सम्भावना थप बलियो भएको छ ।

एसियाड टोली
गोलरक्षक – किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ
डिफेन्डर – अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापामगर, सुनील बल, तेज तामाङ
फरवार्ड – सुमन लामा, विमल घर्तीमगर, अञ्जन विष्ट, अभिषेक रिजाल
प्रशिक्षक – ग्योतोकु कोजी, सहायक प्रशिक्षक– बालगोपाल महर्जन, नवीन महर्जन ।

प्रकाशित : श्रावण ७, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?